

निषेधाज्ञामा पनि शेयर बजार खुला रहने भएको छ । नेपाल धितोपत्र बोर्डले यस विषयमा नेप्से, ब्रोकर र क्रेडिट रेटिंग संस्थाहरुलाई ७ बुँदे निर्देशन जारी गरेको छ ।
जस अनुसार बोर्डले विभिन्न स्वास्थ्य मापदण्ड अपनाएर सेवालाई सुचारु राख्न निर्देशन दिएको छ । बोर्डले सकेसम्म कम भन्दा कम कर्मचारी राखेर सेवा दिन र कर्मचारीलाई अनिवार्य रुपमा संस्थाको आधिकारिक व्यक्तिबाट जारी भएको सक्कल परिचयपत्र बोकेर मात्र कार्यालय आवत जावत गर्ने ब्यबस्था गर्न निर्देशन दिएको छ ।
त्यस्तै कार्यालयको कामको लागि बाहेक अन्य प्रयोगको लागि परिचयपत्रको दुरुपयोग नहुने ब्यबस्था गर्न सम्बन्धित संस्थालाई निर्देशन दिएको छ । साथै कोभिड संक्रमणलाई रोक्न आवश्यक अन्य प्रोटोकलहरुको तदारुकताका साथ अबलम्बन गर्न गराउन पनि बोर्डले निर्देशन दिएको छ ।
त्यस्तै बोर्डले यस अघि बोर्डबाट जारी भएका निर्देशनहरु तथा नेपाल सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड पालना गर्न र जिल्ला प्रशासन कार्यालयबाट बैशाख १३ मा जारी आदेशको पालना गर्न निर्देशन दिएको छ ।
बोर्डले यस निर्देशनको बोधार्थ जानकारी र सहजीकरण प्रयोजनको लागि अर्थ मन्त्रालय, उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालय, र ट्राफिक प्रहरी महाशाखालाई दिएको छ ।