अरुण भ्याली हाइड्रोपावर Arun Valley Hydropower Development Company को हकप्रद भर्ने म्याद थप भएको छ । हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै हकप्रदमा आवेदन दिने म्याद थप गरिएको कम्पनीले जनाएको छ ।
यस अघि आवेदन दिने मिति वैशाख २६ गतेसम्म तोकिएकोमा ७ दिन म्याद थप भएको हो । म्याद थप भएसंगै अब लगानीकर्ताले जेठ २ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले वैशाख ६ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । कम्पनीले १:०५ को अनुपातमा ५० प्रतिशतले हुन आउने ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँ बराबरको ५२ लाख ४१ हजार १ सय ९७ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । लगानीकर्ताले मेरो शेयर अनलाइन तथा सम्पूर्ण सीआश्वा बैंक तथा वित्तीय संस्था मार्फत आवेदन दिन सक्ने छन् ।
कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि चैत्र ९ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेकोले चैत्र ८ गते गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन्। नेपाल धितोपत्र बोर्डले फागुन २५ मा कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनीले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन प्रस्ताव गरेपनि विद्युत नियम आयोगले कम्पनीलाई २ चरणमा हकप्रद निष्काशन गर्ने अनुमति प्रदान गरेको थियो । हालको ५० प्रतिशत हकप्रद निष्काशनपछि कम्पनीले फेरी दोस्रो चरणको हकप्रद निष्काशन गर्ने छ ।
कम्पनीले आफुले निर्माण गर्न लागेको २ वटा आयोजनाको लागि रकम जुटाउन हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद शेयर मार्फत उपलब्ध भएको रकमलाई कम्पनीले काबेली बी १ जलविद्युत आयोजना र अपर काबेली २ जलविद्युत आयोजना गरी कुल २३.५ मेगावाट आयोजनाको निर्माण कार्यमा उपयोग गर्ने जनाएको छ ।