
नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको आवश्यकता बारेको अध्ययन अन्तिम चरणमा रहेको जनाएको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नयाँ स्टक एक्सचेन्जको लागि के के विकल्प हुन सक्छ भन्नेबारे कमिटि बनाएर अध्ययन गरिएको र अध्ययन सकिएर रिपोर्ट लेख्ने चरणमा पुगेको बताएका हुन् । उनले भने 'यस अघि पटक पटक अध्ययन भएको थियो, अहिले पुरानो अध्ययनलाइ अपडेट गर्न लागिएको हो' ।
बोर्डका उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीको नेतृत्वमा रहेको ७ सदस्यीय कमिटिले यस बारेको अध्ययन गरेको हो । कमिटिले अन्य 'सब कमिटि' बनाएर पनि अध्ययन गरेको बताइएको छ। कमिटीले आफ्नी रिपोर्ट संचालक समितिलाई बुझाउने छ ।
धितोपत्र बोर्डको हालको नेतृत्व नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको निष्कर्षमा पुगिसकेको छ । हाल रहेको एक मात्र स्टक एक्स्चेन्ज नेपाल स्टक एक्सचेन्ज नेप्सेप्रति विश्वस्त हुन नसकेको बोर्ड नयाँ स्टक एक्सचेन्ज चाहिन्छ भन्ने निष्कर्षमा पुगेको हो । सोहि कारण ४ वर्षदेखि थन्केर बसेको अध्ययन प्रतिवेदनलाई निकालेर फेरी अध्ययन गरिएको हो ।
हालको नेप्सेले लगानीकर्ताको विश्वास जित्न नसकेको, नेप्सेले प्रयोग गरिरहेको प्रविधि भरोसायोग्य नभएको, नेप्सेको कारोबार प्रणालीमा अनेक समस्या रहेको, सरकारी भएको कारणले काम गर्नमा झन्झट रहेको, एउटा मात्र स्टक हुँदा प्रतिस्पर्धा नभएको लगायतका कारणले नयाँ स्टक एक्सचेन्जको आवश्यक महशुस गरिएको बोर्डले जनाएको छ । बोर्ड कै उच्च अधिकारीहरु 'नेप्सेले बजारलाई नै लथालिङ्ग अवस्थामा पुर्याएको र यही पाराले अगाडी जाने हो भने बजारलाई डुबाउने देखिएकोले' नयाँ स्टक चाहिने बताउन थालेका छन् ।
अर्थ मन्त्रालयले नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिन सक्ने गरि सम्पूर्ण जिम्मा जिम्मा धितोपत्र बोर्डलाई प्रदान गरिसकेको छ । ज्ञानेन्द्र कार्की अर्थमन्त्री हुँदा मन्त्रालयले ' नयाँ स्टक एक्सचेन्जलाई धितोपत्र बोर्डलै नै अनुमति दिन सक्ने गरि पूर्ण अधिकार' प्रदान गरेको थियो । त्यसबेला बोर्डका अध्यक्ष रहेका डा. रेवत बहादुर कार्कीले पनि पूर्ण अधिकार बोर्डलाई नै हुने गरि मन्त्रालयले पत्र दिएको पुष्टि गरेका छन् । उनका अनुसार त्यस पत्रमा हाल अर्थसचिव रहेका शिशिर ढुंगानाको हस्ताक्षर छ।
डा. कार्कीका अनुसार बोर्डले त्यहि बेलामा नै नयाँ स्टक ल्याउनको लागि तयारी गरेपनि त्यसपछि सरकार परिवर्तन भएको र त्यसपछि आएका अर्थमन्त्री डा. युवराज खतिवडाले प्रक्रिया अघि नबढाउन निर्देशन दिएका थिए ।
तर अहिले नेप्सेको प्रणालीमा पटक पटक समस्या आउँन थालेपछि लगानीकर्ता मात्र नभई नियामक धितोपत्र बोर्ड पनि आजित भएको छ । यस संगै धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लागि अध्ययन गरिएको बोर्ड स्रोतले जनाएको छ । स्रोतका अनुसार अहिले 'कर्पोरेट स्टक एक्सचेन्ज' अर्थात् कर्पोरेट हाउसहरुको लगानीको स्टक एक्सचेन्जको अवधारणामा प्रारम्भिक छलफल चलेको छ ।