
नेपाल स्टक एक्सचेन्जमा अनलाइन शेयर कारोबार लागि युजर नेम र पासवर्ड लिनेको संख्या ६ लाख नाघेको छ । नेप्सेले २०७५ कार्तिक २० गतेबाट पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली (Fully Automated Online Trading System, NOTS) संचालन गरेपछि दोस्रो बजारका प्रमुख सूचकहरुमा क्रमिक सुधार भएको र ६ लाख भन्दा बढीले युजर नेम र पासवर्ड लिएको जनाएको हो ।
त्यस्तै नेप्सेले सेयरको मूल्यमा प्रभाव पार्न सक्ने धेरैभन्दा धेरै सूचनाहरु संकलन तथा विश्लेषण गरेर मात्र दोस्रो बजार कारोबारमा सहभागी हुन लगानीकर्ताहरुलाई आग्रह गरेको छ । खासगरी आफुले कारोबार गर्न खोजेको कम्पनीको व्यवसाय, सञ्चालन तथा व्यवस्थापकीय पक्ष, व्यवसायको आकार तथा वृद्धिको सम्भावना, नाफा नोक्सानको स्थिति लगायतका आधारभुत पक्षको विश्लेषण गर्ने तथा विगतमा उक्त कम्पनीको दोस्रो बजारमा कारोबार हुँदा कायम भएको मूल्य लगायतको प्राविधिक विश्लेषण गर्न नेप्सेले आग्रह गरेको हो ।
यस किसिमको आधारभुत तथा प्राविधिक विश्लेषणले लगानीकर्ताको लाभ बढाउन र नोक्सानी कम गर्न मद्दत गर्ने नेप्सेले स्मरण गराएको छ।