
नेपाल धितोपत्र बोर्डले आगामी साउन वा भदौ देखि ब्रोकरको आफ्नै टिएमएस मार्फत कारोबार हुने अपेक्षा राखिएको जनाएको छ । बोर्डको २९ औ वार्षिकोत्सवको अवसरमा बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले सबै ब्रोकरलाई आफ्नै टिएमएस राख्न भनिएको र आगामी साउन वा भदौ देखि सो कार्यन्वयनमा अपेक्षा गरिएको बताएका हुन् ।
अध्यक्ष ढुंगानाले प्रविधिमा पनि ठुलो सुधारको जरुरि रहेको बताएका छन् । उनले नेप्सेको अनलाइनमा पनि सुधारको खाँचो रहेको र अहिलेसम्म बैंक खाता र डिम्याट खाता इन्टिग्रेसन नभएकोले रियल टाइम मै इन्टिग्रेसन हुने ब्यबस्था गर्नु पर्ने बताएका छन् । त्यस्तै उनले ब्रोकरको आफ्नै टिएमएस भई एपमा आधारित कारोबार प्रणाली भएमा र नेप्से तथा ब्रोकरबोचको सिस्टममा सुधार गरेमा बजार निर्वाध रुपमा अगाडी बढ्ने बताएका छन् । हालको सेटलमेन्ट सिस्टममा पनि ब्यापक सुधार रहेको उनको भनाई छ ।
उनले आगामी दिनमा कारोबार व्यवस्थापन प्रणाली प्रभावकारी बनाउने, ऋणपत्र बजारलाई गतिशील बनाउने, नयाँ धितोपत्र दलाल व्यवसायीलाई बजार प्रवेश गराउने, संस्थागत व्यवसायलाई प्रवद्र्धन गरि सेवालाई प्रतिस्पर्धी एवं सर्वसुलभ बनाउने कार्यलाई प्राथमिकता दिने बताएका छन्।
उनले पछिल्लो समय कारोबार प्रणालीमा प्राविधिक जोखिम उच्च हुँदै जानुका साथै बजारमा नयाँ लगानीकर्ताको ठूलो सङख्यामा प्रवेश तथा कारोबार परिमाणमा उच्च वृद्धि र प्राथमिक बजार मार्फत पुँजी परिचालन परिमाणमा समेत उच्च वृद्धि हुँदै गएको सन्दर्भमा बजारको बढ्दो माग तथा आपूर्ति प्रभावकारी रूपमा व्यवस्थापन गरि बजारको विश्वसनीयता अभिवृद्धि तथा जोखिम व्यवस्थापन गर्न स्टक एक्सचेन्जलाई प्रतिस्पर्धी बनाउन आवश्यक देखिएको बताएका छन्। त्यस्तै हालको दोस्रो बजार सञ्चालक नेप्से र केन्द्रीय निक्षेप सेवा तथा कारोबारको राफसाफ तथा फस्र्यौट सेवा प्रदायक सीडीएससीको संरचनात्मक सुधार गरि क्षमता अभिवृद्धि गर्दै राफसाफ कोष समेत शीघ्र सञ्चालनमा ल्याउने व्यवस्था गरिने अध्यक्ष ढुंगानाले बताएका छन् ।
बोर्डले वार्षिकोत्सवको अवसरमा आज विशेष कार्यक्रम समेत आयोजना गरेको छ । निषेधाज्ञाको कारण बोर्डले भर्चुअल माध्यमबाट औपचारिक कार्यक्रम गर्ने भएको छ । बोर्डले मंगलबार बिहान १०:३० बजेदेखि सुरु हुने गरि औपचारिक कार्यक्रम सुरु गर्ने जनाएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु प्रसाद पौडेल भर्चुअल कार्यक्रममा सहभागी हुने भएका छन् । कार्यक्रममा बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले बोर्डको प्रतिवेदन पेश गर्ने, पूँजी बजार तथा वस्तु बजार सम्बन्धी विषयका उत्कृष्ठ तीन शोधपत्रहरुको घोषणा गर्ने, र आर्थिक बर्ष २०७७।७८ को पत्रकारिता पुरस्कारको घोषणा गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीज्यूको शुभकामना सन्देश दिने कार्यक्रम तय भएको बोर्डले जनाएको छ । त्यस्तै उपप्रधान मन्त्री पौडेलले नेपाल धितोपत्र बोर्ड, आर्थिक लेख विषेशाङ्क २०७८ को विमोचन गर्ने छन् ।