
साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से सूचक सामान्य अंकले घट्यो । आज नेप्से सूचक १.८० अंकले घटेर २९४४.७८ को बिन्दुमा पुग्यो। तर हाइड्रोपावर समुहको सूचक भने सबैभन्दा धेरै २.९९ प्रतिशत अर्थात ८८.६५ अंकले बढ्यो।
हाइड्रोपावर समुह केहि दिन अगाडी घट्न थालेको थियो । तर अचानक हाइड्रोपावर समुहमा लगानीकर्ताको आकर्षण बढेको छ। शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाल फूल्लेल सेयर बजारमा सेक्टर परिवर्तन भएर हाईड्रोतर्फ लगानीकर्ता आएका कारण हाईड्रो तथा फाईनान्सको सेयर मूल्य बढेको बताउँछन् । उनी भन्छन् ‘धेरै दिन देखि सेक्टर चेन्ज भएर कारोबार भईरहेको छ । त्यसैले सेक्टर चेन्ज गर्ने क्रममा लगानीकर्ताहरु आज हाईड्रो तर्फ आएका हुन् ।’
उता सेयर लगानी दबाब समूहका अध्यक्ष हरि ढकाल शेयर कर्नरिङ भएका कारण हाइड्रो र फाइनान्स समुह बढेको बताउछन् । सामाजिक सञ्जाल मार्फत विभिन्न ग्रुपहरु प्रयोग गरेर आफ्ना स्टकलाई भाईरल बनाउँने गरेकोले यस्तो यस्तो उछाल आएको उनी बताउँछन् ।
पछिल्लो समय बजारमा सेयर सम्बन्धि जानकारी नभएका लगानीकर्ताहरु बढेकोले उनीहरु यस्तै भाईरल स्टकमा फसेकाले सामाजिक सञ्जालमा अरुले जे भन्छ त्यसमै लगानी गर्ने प्रवृत्तिका कारण बजारमै समस्या आएको ढकाल बताउँछन् । बजारमा ३ महिना देखि पूर्ण रुपमा नन् फण्डामेन्टल स्टक चलेको उनको भनाई छ ।
उनी भन्छन् ‘जुन कम्पनीको नेटवर्थ नेगेटिभ छ, इपिएस माइनसमा छ, विगतमा कुनै लाभाशं नै दिएको छैन, आगामी दिनमा दिन सक्ने कुनै क्षमता छैन तर कर्नरिङ गरेर त्यस स्टकलाई सामाजीक सञ्जाल मार्फत बढ्छ कि बढ्छ भनेर भाईरल बनाईएको छ र बढाईएको छ ।' भाईरल स्टकमा अबुझ तथा ज्ञान नै नभएका लगानीकर्ताको प्रवेश भएको र त्यस्ता शेयर बढ्ने रहेछ भन्ने मनोविज्ञान बनेकोले त्यस्ता स्टक दैनिक ८/१० प्रतिशत बढिरहेको उनको भनाइ छ। यो वृद्धि पूर्ण रुपमा अस्वभाविक र अप्राकृतिक रहेको अध्यक्ष ढकाल बताउछन् ।
बजारमा राम्रो लाभांश दिने, नेटवर्थ राम्रो भएको, इपिएस उच्च रहेको, वित्तिय शुशासन अति धेरै राम्रो भएको कम्पनीहरुको मूल्य खासै नबढेको उनको भनाई छ । उनी भन्छन् ' विभिन्न आधारले राम्रा रहेका कम्पनीहरुको पुँजी ८ अर्ब बढी छ, यी ठुला कम्पनी हुन् । यीनलाई कर्नरिङ गर्न नसकीने भएकोले साना कम्पनी लाई सामाजिक सञ्जाल मार्फत भाइरल गराएर बजारमा उच्छाल ल्याईएको छ । '
यस्ता भाईरल गर्ने प्रवृत्ति नियन्त्रणमा तत्काल धितोपत्र बोर्डले कदम चालेन भने यो क्षेत्रका असिमित लगानीकर्ताहरुको सम्पत्ति ठूलो मात्रामा सिमित खेलाडि तथा कर्नरिङ गर्नेको हातमा पुग्ने अध्यक्ष ढकाल बताउछन् ।