धितोपत्र बोर्डको एउटा विज्ञप्तिको कारण लगानीकर्ताले एकै दिन गुमाए १ खर्ब ८१ अर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2021 | 04:20:04 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार एकै दिन शेयर लगानीकर्ताले १ खर्ब ८१ अर्ब गुमाएका छन् । आज बुधबार शेयर बजार पुंजीकरण १ खर्ब ८१ अर्ब ७६ करोड ९९ लाख ५० हजारले घटेको हो ।  मंगलबार शेयर बजार पुंजीकरण ४१ खर्ब ७२ अर्ब २५ करोड रहेको बुधबार पुँजीकरण घटेर ३९ खर्ब ९० अर्ब ४८ करोड पुगेको हो ।  

आज बुधबार नेप्से सूचक ५२.४१ अंकले घटेर २९६९.६९ को बिन्दुमा पुगेको छ । आज १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३ सय १९ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २१९ कम्पनीको २ करोड ८२ लाख ८९ हजार १ सय २८ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।   

आज कारोबारमा आएका १३३ कम्पनीको सेयर मूल्य घटेको छ भने ३३ कम्पनीको मात्र मूल्य बढेको छ ।  आज सीइडिबी हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १७ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।  त्यस्तै, आज माइक्रोफाइनान्स समुह बाहेक सबैको समूहगत सुचक घटेकोे छ । आज फाइनान्स समूहको सूचक सर्वाधिक बढी ६.८ प्रतिशत घटेको छ भने हाइड्रोपावर समूहको ४.७५ प्रतिशतले घटेको छ । आज नेपाल पूनर्बीमा कम्पनीको सर्वाधिक बढि ६० करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने हिमालय डिस्टिलरी को ५५ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

मंगलबार नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको सुची सार्वजनिक गर्दै ति कम्पनीमा गरिएको लगानी जोखिमयुक्त भएको बताएपछि बजारमा त्यसको प्रत्यक्ष असर परेको हो ।  धितोपत्र बोर्डले गरेको अध्ययनमा ५१ वटा कम्पनीमा गरिएको लगानी जोखिमयुक्त रहेको र ति संस्थाहरुको कारोवारमा भित्री कारोवार, सर्कुलर कारोवार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसूरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाईएको बोर्डले जनाएको थियो ।

विगतको एक वर्ष अवधिमा सूचिकृत संगठित संस्थाहरुको मूल्य बृद्धि ३०० प्रतिशत र सोभन्दा बढी प्रतिशतले बृद्धि भएका, मूल्य आम्दानी अनुपात PE Ratio १०० र सोभन्दा बढी भएका, प्रति शेयर आम्दानी ऋणात्मक भएका, प्रति शेयर अंकित मूल्यभन्दा प्रति शेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्याँकन समेतका आधारमा हाल जोखिमयुक्त देखिएका ५१ वटा सूचिकृत संगठित संस्थाहरु छनौट गरी बोर्डले प्रारम्भिक अध्ययन गरिएको जनाएको छ।

बोर्डबाट गरिएको उक्त प्रारम्भिक अध्ययनबाट सम्बन्धित संगठित संस्थाको सम्बन्धमा लगानीकर्ताले समेत आवश्यक जानकारी प्राप्त गरी लगानी सम्बन्धी निर्णय गर्न उचित हुने देखिएकोले हाललाई त्यस्ता जोखिमयुक्त कम्पनीहरुको परिसूचक÷विवरण लगानीकर्ताहरुको जानकारीका लागि सार्वजनिक गरिएको बोर्डले उल्लेख गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved