'लगानीकर्ताको पेटमा बोर्डले छुरा हान्यो, बजार घट्नुको मुख्य कारण नै बोर्डको विज्ञप्ति'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2021 | 05:42:41 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो कारोबार दिन आज साेमबार नेप्से सूचक उच्च अंकले घटेको छ । आज नेप्से सूचक ७१.६ अंकले घटेर २८३४.४० को बिन्दुमा पुगेको हो । आज सबै समूहको समूहगत सूचक घटेको छ ।

यसरी बजार घट्नुको कारणबारे विभिन्न विश्लेषण भइरहेका छन् । यसबारे सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फूल्लेल बजार घट्नुको एउटै कारण धितोपत्र बोर्डले ५१ कम्पनीको नाम उल्लेख गरी निकालेको विज्ञप्ति भएको बताउछन् । बजार भारी अंकमा घट्दा पनि बोर्डबाट कुनै प्रतिक्रिया नआएको भन्दै लगानीकर्ताको अरबौँ रकम माटोमा मिलीसक्दा पनि बोर्डले कुनै चासो नदिएको उनको भनाइ छ । 

लकडाउन तथा असार मसान्तमा कर तिरिसक्नुपर्ने जस्ता कुनै पनि कारण नभई बोर्डकै गलत कदमले बजारमा भारी करेक्सन आएको उपाध्यक्ष फूल्लेलले बताए ।

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल पनि बोर्डको विज्ञप्ति नै बजार करेक्सनको प्रमुख कारण भएको बताउँछिन् । बजारमा लगानीकर्ताको अरबौँ खरबौँ पैसा आईसकेको र सूचक ३ हजार माथि लागेको बेला बोर्डले यसरी कम्पनीको नाम नै तोकेर विज्ञप्ति निकाल्नुले नै बजारमा भारी करेक्सन आएको पोखरेलको भनाइ छ । 

बजारको नियमन गर्ने निकाय बोर्डलाई आफूहरु अभिभावक मान्दै आएको भन्दै अध्यक्ष पोखरेलले यस्तो कदमले लगानीकर्ताको पेटमा छुरा रोपेको जिकिर गरिन् । 

‘बजार घटेको तथा नेप्से सूचक कम भएको अवस्थामा त्यस्ता गलत काम गर्ने, चलखेल गर्ने कम्पनीलाई कुनै कारवाही नगरी अहिले बजारको उत्साहजनक अवस्थामा आएर कम्पनीको नाम ताक्दै यस्तो कदम चाल्नु गलत हो। यसकै परिणाम अहिले देखिएको हो । भित्र भित्रै कारवाही गर्नुपर्ने ठाउँमा नाम नै ताकेर ६ महिनादेखि बलियो हुँदै आएका राम्रा कम्पनी पनि बोर्डको विज्ञप्तिमा परेका छन् । त्यसले गर्दा बोर्डको यो कदममा नै षड्यन्त्र देखिन्छ ।’ अध्यक्ष पोखरेलको भनाइ छ ।

यसका साथै आर्थिक वर्ष सकिदै गर्दा र असार २५ गते भित्र कर बुझाइ सक्नुपर्ने सरकारको निर्देशनका कारण पनि बजारमा करेक्सन आएको हुनसक्ने धारणा उनले व्यक्त गरिन् । यसका साथै उनले लकडाउन खुल्दै जान लागेकोले घरमै बसेर लगानी गर्ने लगानीकर्ताले अन्य क्षेत्रमा पनि लगानी गर्न सक्ने भएकोले करेक्सन आएको हुन सक्ने बताइन् । 

यसबारे नेपाल पुँजीबजार संघकी अध्यक्ष संरक्षणा चौधरीले बोर्डले चालेको कदम सकारात्मक भएपनि कम्पनीको नाम नै तोकेर विज्ञप्ति निकाल्नु गलत भएकोले सोही कारण बजारमा भारी गिरावट आएको बताउँछिन् । राम्रो र बलियो कम्पनी पनि ५१ भित्र परेको भन्दै उनले धेरैजसो लगानीकर्ता आत्तिएर डराएको बताइन् । 

यससँगै आर्थिक वर्ष सकिन लाग्दै गर्दा क्लोजिङ्को समयले बजार करेक्सन आउँने भएपनि यति भारी अंकले नघट्ने भन्दै षड्यन्त्रमुखी रुपमा घटाइएको र मिडियाले पनि उचाल्दिएकोले बजारमा भारी करेक्सन आएको चौधरीको भनाइ छ । ‘सर्वोच्च अदालतबाट नराम्रो तथा जोखिम भएको कम्पनीको नाम तोक्न पाइन्छ भनेर आदेश आइसकेको रहेछ त्यसले गर्दा लगानीकर्ता थप मारमा परेका छन् । विभिन्न शस्त्र अस्त्र प्रहार गर्दै बजार घटाइएको छ ।’ चौधरीको भनाइ छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved