
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल एग्रो लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १४ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य ५ सय ४९ कायम भएको छ । समायोजनअघि कम्पनीको शेयर मूल्य ६२६ थियो । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।
इन्फीनिटी लघुवित्तमा गाभिनु अगाडी नेपाल एग्रो लघुवित्तले लाभांश वितरण गर्ने भएको हो । कम्पनीले लाभांश प्रस्ताव र इन्फीनिटी लघुवित्तमा गाभिने प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ । कम्पनीले असार २१ गते सोमबार पोखरामा साधारणसभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।
कम्पनीले हाल कायम चुक्ता पुंजी ५ करोड ७२ लाख ४४ हजार ४ सय ७० रुपैयाँको १४ प्रतिशतले हुन आउने ८० लाख १४ हजार २ सय २६ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ४ लाख २१ हजार ८ सय १ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभामा गाभ्ने गाभिने प्रक्रियापछि बन्ने कम्पनीको संचालक समितिमा कम्पनीकोतर्फबाट प्रतिनिधित्व गर्ने संचालक चयन गर्ने प्रस्ताव पनि पेश हुने छ ।
त्यस्तै इन्फिनिटी लघुवित्तमा गाभ्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्ष मार्फत प्रस्तुत हुने प्रतिवेदनलाई छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुने छ। त्यस्तै इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने प्रयोजनको लागि मूल्याँकनकर्ताबाट प्राप्त नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको चल÷अचल सम्पत्ति र दायित्व मूल्याँकन प्रतिवेदन (Due Deligensce Audit-DDA), प्राप्ति पछिका व्यवसायिक अवसरहरु, सम्पत्ति एवं दायित्वको बजार मूल्य, वर्तमान जोखिम अवस्था समेतको आधारमा आपसी सहमति बमोजिम निर्धारण गरिएको नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको १०० (एक सय) कित्ता शेयरलाई इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९८ (अन्ठानब्बे) कित्ता शेयर (१ः०.९८) दिने गरी शेयर मूल्य अनुपात स्वाप रेसियो कायम गर्ने र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्न स्वीकृत प्रदान गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव पेश हुने छ।
त्यस्तै हालसम्म भएका सम्झौता र कार्यहरु अनुमोदन गर्ने र कम्पनीको नियमावली र प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने प्रस्ताव पेश हुने छ। नियामक निकाय थप संशोधन गर्न निर्देशन दिए सोहि अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ ।
इन्फीनिटी लघुवित्तले नेपाल एग्रोलाई गाभेपछि इन्फीनिटी कै नामबाट एकिकृत कारोबार सुरु हुने छ। इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आ.व २०७६।०७७ को बोनस वितरण पश्चात कायम चुक्ता पुँजी रु.२६,०६,४९,९५०।– र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको २०७७ असार मसान्त सम्मको चुक्ता पुँजी रु.६,५२,५८,६९६।– गरि कुल चुक्ता पुँजी रु.३२,५९,०८,६४६।– कायम गरि एकिकृत कारोबार सुरु हुने छ।
राष्ट्र बैंकले जेठ ११ गते गाभ्न गाभिनको लागि सैदान्तिक स्वीकृति प्रदान गरेको थियो । इन्फीनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई गाभ्नको लागि गत माघ २ मा सम्झौता गरेको थियो । इन्फीनिटी लघुवित्तको केन्द्रिय कार्यालय गैडाकोट नवलपुरमा रहेको छ भने नेपाल एग्रोको केन्द्रिय कार्यालय पोखरामा रहेको छ ।