अपि पावर कम्पनी Api Power Company ले निष्काशन गरेको हकप्रदमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीको हकप्रदमा असार ९ गतेसम्म आवेदन दिन सकिने ब्यबस्था रहेकोमा म्याद थप गरि अब असार १३ गतेसम्म आवेदन दिन सकिने ब्यबस्था कम्पनीले गरेको हो ।
कम्पनीले जेठ २० गतेदेखि हकप्रद बिक्रि खुला गरेको हो । कम्पनीले १:०.२९३८ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २९.३८ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले अनुमति माग गर्दै फागुन ९ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बैशाख १९ मा बोर्डबाट अनुमति पाएको थियो ।
कम्पनीले ५६ करोड ७० लाख बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले हकप्रद शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि बैशाख २९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले बैशाख २८ गतेसम्म कायम शेयरधनीले मात्र मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । म्याद थप संगै लगानीकर्ताले असार १३ गतेसम्म आवेदन दिन सक्ने छन् ।
कम्पनीले गत कार्तिक १४ गतेदेखि मङ्सिर ४ गतेसम्म १:०.४७६१९०४७६१९ को अनुपातमा अर्थात् ४७.६१९ प्रतिशतले हुन आउने ५६ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको थियो । विद्युत नियमन आयोगले कम्पनीलाई विभिन्न शर्त तोकेर चरण चरणमा हकप्रद निष्काशनको लागि अनुमति दिएको थियो । आयोगले पहिले निष्काशन गरेको हकप्रदबाट उठेको रकमबाट आयोजनामा गरिएको प्रगतीको प्रतिवेदन बुझाएपछि मात्र दोस्रो चरणको हकप्रद निष्काशनको लागि अनुमति दिने जनाएको थियो । त्यस्तै आयोगले सर्वसाधारणलाई शेयर निष्काशन गर्नु अगाडी संस्थापकले कबुल गरेको रकम बुझाई सक्नु पर्ने शर्त राखेको थियो । सबै शर्त पुरा गरेपछि कम्पनीले दोस्रो चरणको हकप्रदको लागि अनुमति पाएको हो ।
अपि पावरले ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत बनाउनको लागि रकम जुटाउन थप हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीका अनुसार आयोजनाको ३० प्रतिशत काम सकिएको छ । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट ९ प्रतिशत बोनस शेयर पनि वितरण गरेको थियो ।