साना तथा मझौला कम्पनीको कारोबार छुट्टै गराउने तयारी, बोर्डले नेप्सेसँग माग्यो सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2021 | 09:26:47 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीहरुको लागि छुट्टै कारोबार हुने गरी एसएमई प्ल्याटफर्म र अन्य कम्पनीको लागि मेन बोर्डको ब्यबस्था गर्ने बारे नेप्सेसंग सुझाव मागेको छ  । बोर्डले असार८ गते यस विषयमा सुझाव माग्दै नेप्सेलाई पत्राचार गरेको हो ।

नेपाल धितोपत्र बोर्डले आ.व. २०७७।७८ को धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रमको बुँदा नं. १३ मा साना तथा मझौला कम्पनीहरुको लागि छुट्टै कारोबार हुने गरी एसएमइ प्ल्याटफर्म तथा अन्य कम्पनीको कारोबारका लागि में बोर्डको व्यवस्था गर्नको लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई सहजीकरण गर्ने कार्यक्रम राखेको थियो ।

हाल नेपालको धितोपत्र बजारमा साना तथा ठूला पूँजीकरण भएका कम्पनीहरुले एकै किसिमको व्यवस्था अन्तर्गत पूँजीको संकलन तथा परिचालन गर्ने गरिरहेका छन् । सो व्यवस्थाका कारण साना तथा ठूला कम्पनीहरुको आवश्यकता अनुरुप वित्तीय औजार विकासमा कठिनाइ भई नेपाल सरकारको नीति अनुरुप पूँजी बजार मार्फत् प्राथमिकताका क्षेत्रमा पूँजी परिचालन गर्ने कार्यक्रम निर्धारण तथा कार्यान्वयन गर्न समस्या देखिएको, बजारलाई व्यवस्थित गर्न नेपाल धितोपत्र बोर्डलाई आवश्यक नीतिगत लचकताको कमी हुन सक्ने देखिएको तथा सबै प्रकारका कम्पनीहरु एकै प्लेटफर्ममा सूचीकरण भई कारोबार हुँदा धितोपत्र सूचकांकहरुले बजारको यथार्थ प्रतिनिधित्व नगरेको कुराको मध्यनजर गर्दै  यस्तो ब्यबस्था गर्न लागेको बोर्डले जनाएको छ ।

बोर्डले यस विषयमा आवश्यक पूर्वाधार र कानूनी प्रावधान सम्बन्धमा छिमेकी देश लगायत विश्वका अन्य देशहरुको धितोपत्र बजारमा यस सम्बन्धमा अवलम्बन गरिएका असल अभ्यासहरुको समेत पुनरावलोकन तथा नेपालको साना तथा मझौला उद्योग लगायत औद्योगिक क्षेत्र तथा दोस्रो बजारको हालको अवस्था समेतको समिक्षा गरी प्रारम्भिक अध्ययन समेत गरेको जनाएको छ । सो अध्ययन प्रतिवेदनको सिफारिश अनुरुप कार्यान्वयनको लागि आवश्यक प्रकृया अगाडि बढाउन नेप्सेबाट गर्नुपर्ने तयारी तथा पूर्वाधारका सम्बन्धमा नेप्सेसंग राय सुझाव माग गरी अगाडि बढ्न उपयुक्त हुने देखिएकाले बोर्डले असार ८ गते नेप्सेसंग सुझाव माग गरेको हो ।

  कार्यक्रम कार्यान्वयन भएपछि नेप्सेमा सूचीकरण भएका तथा आगामी दिनमा सूचीकरण हुने साना तथा मझौला आकारका कम्पनीहरुको लागि उक्त कम्पनीहरुको चुक्ता पूँजी र बजार पूँजीकरणको आधारमा नेप्सेको छुट्टै कक्षमा सूचीकरण तथा कारोबार हुने छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved