नेपाल स्टक एक्सचेन्ज नेप्सेमा राधी विद्युत कम्पनी Radhi Bidyut Company को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ३६.५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य ८२१ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ११२० रुपैयाँ थियो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि आज असार १५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो । असार १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
कम्पनीले असार २९ गते भर्चुअल माध्यमबाट हुने गरि साधारणसभा आह्वान गरेको छ । सभामा लाभांश र हकप्रद सहितका विभिन्न प्रस्ताव पेश हुने छ । कम्पनीले ३६.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। त्यस्तै कम्पनीले बोनस वितरणपछि १४७.५२ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको छ। साधारणसभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्ड स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।
हाल कम्पनीको चुक्ता पुंजी ४७ करोड ३५ लाख ५६ हजार ५ सय रहेको छ । कम्पनीले बोनस वितरण पश्चात चुक्ता पुंजी ६४ करोड ६४ लाख ४ हजार ६ सय २२ पुग्ने छ ।
साधारणसभामा आर्थिक वर्ष ७६/७७ को प्रतिवेदन छलफल गरि पारित गर्ने, वासलात र अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, आर्थिक वर्ष ७७/७८ को लागि लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने सामान्य प्रस्ताव पेश हुने छन् । त्यस्तै प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, नियामक निकायबाट संशोधनको लागि थप निर्देशन आएमा सोहि अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव पेश हुने छन् ।