कमोडिटी बजार संचालनको निर्देशिका लागु, यस अघि आवेदन दिएकाको हकमा के गरियो ब्यबस्था ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2021 | 01:00:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले कमोडिटी बजार सम्बन्धि निर्देशिका लागु गरेको छ । बोर्डले आज असार १५ गतेदेखि 'वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रकृयागत व्यवस्था सम्बन्धी निर्देशिका, २०७८' लागु गरेको हो  । 

निर्देशिका लागु भएसगै अब बोर्डले कमोडिटि बजार संचालनको लागि आवेदन खुलाउने भएको छ ।  बोर्डले तेस्रो पटक आवेदन खुलाउने तयारी गरेको हो । बोर्डका भीष्मराज ढुंगानाले कार्यविधि लागु भएपनि कति वटालाई लाईसेन्स दिने भन्ने बारे छलफल भईरहेको बताए । अर्थ मन्त्रालयसंग पनि छलफल भईरहेको र मन्त्रालयको स्वीकृतिमा कति वटालाई लाईसेन्स दिने भन्ने टुंगो लगाईने, र सोहि अनुसार आवेदन खुलाईने उनले बताए । यहि महिना भित्र लाईसेन्स खुलाउने गरि तयारी भईरहेको उनको भनाई छ । 

निर्देशिकामा वस्तु विनिमय (कमोडिटी) बजार सञ्चालन गर्न आवश्यक पर्ने चुक्ता पुंजी, शेयर संरचना, संचलाक र प्रमुख कार्यकारी अधिकृतको योग्यता, कारोबार गर्न पाउने वस्तुको सुची लगायतका विषय समावेश छन्  । 

जस अनुसार  वस्तु विनिमय बजार सञ्चालन गर्न न्युनतम डेढ अर्ब चुक्ता पुंजी आवश्यक पर्ने भएको छ । वस्तुविनिमय बजार सम्बन्धी नियमावली,२०७४ को अनुसूची–१३ को खण्ड (क), (ङ), र (च) मा तोकिएका वस्तुहरुको कारोबार गर्न डेढ अर्ब चुक्ता पुंजी र वस्तुविनिमय बजार सम्बन्धी नियमावली,२०७४ को अनुसूची–१३ को खण्ड (क), (ख), (ग), (घ), (ङ), र (च) मा तोकिएका वस्तुहरुको कारोबार गर्नको लागि २ अर्ब चुक्ता पुंजी आवश्यक पर्ने छ । विदेशी रणनीतिक साझेदार संस्थाको सहभागितामामा पनि संस्था स्थापना हुन सक्ने उल्लेख छ  ।  

वस्तु विनिमय बजार सञ्चालन गर्न बोर्डमा आवेदन दिनु पर्ने, बोर्डएल प्रक्रिया पुगेकालाई पूर्व स्वीकृति दिने , र पूर्व स्वीकृति पाएकाले २५ लाख तिरेर अनुमतिपत्र को आवेदन दिनु पर्ने निर्देशिकामा उल्लेख छ । यस अघि पूर्व स्वीकृतिका लागि बोर्डमा निवेदन दिईसकेकाहरुको हकमा निर्देशिका बमोजिमका व्यवस्थाहरु परिपालना हुनेगरी तोकिएको समयसीमा भित्र थप विवरण तथा कागजातहरु पेश गरी निवेदन अद्यावधिक गर्नु पर्ने ब्यबस्था बोर्डले गरेको छ । 


 के हो कमोडिटी  मार्केट, के के हुन्छ कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयरको कारोबार भए जस्तै कमोडिटी एक्सचेन्जमा वस्तुको कारोबार हुन्छ । वस्तु अर्थात् कमोडिटी  भन्नाले वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) मा वस्तु करार मार्फत कारोबार हुन सक्ने तोकिए बमोजिमको सामान हुन्। 

यो बजारमा ऐनले तोकेका वस्तुहरूको करारमा कारोबार हुने गर्छ। क्रेता र विक्रेताबीच भविष्यमा वस्तु किन्न वा बेच्नका लागि वस्तुको मूल्य, परिमाण, गुणस्तर तथा हस्तान्तरण मिति उल्लेख गरी तयार गरिएको करारलाई वस्तुको करार भनिन्छ। त्यस्ता कारारको भौतिक हस्तान्तरण तथा नगदमा समेत राफसाफ हुने व्यवस्था हुन्छ। यस्तो किसिमको करार कारोबारका लागि कमोडिटी एक्सचेन्ज अर्थात वस्तु विनिमय बजार सूचीकृत गरिएका हुन्छन्। वस्तु बजारमा कारोबारीले वस्तुको मूल्यमा हुने उतार चढावबाट सृजित जोखिम न्यूनीकरण गर्न तथा उक्त उतारचढावबाट फाइदा लिन वा दुई बजार (सोभन्दा बढी)बीच कहिलेकाहीँ हुन सक्ने मूल्य फरकबाट फाइदा लिने उद्देश्यले कारोबार गर्छन्। मूल्यको अन्तरबाट लगानीकर्ताले आम्दानी गर्ने गर्छन । 

कसरी हुन्छ कारोबार ?

नेप्सेमा शेयर कारोबार गर्न ब्रोकर भएजस्तै कमोडिटी बजारमा पनि ब्रोकर हुन्छन् । ब्रोकर मार्फत लगानीकर्ताले कारोबार गर्न सक्छन् । लगानीकर्ताले ग्राहक दर्ता फारम भरेर ब्रोकरमा खाता खोल्नु पर्छ । ग्राहक दर्ता फारम क्लियरिङ हाउसले स्विकृत गरेपछि कारोबारीले ‘ग्राहक कोड’ प्राप्त गर्दछ र लागानी रकम जम्मा गरी कारोबार गर्न सकिन्छ। शेयर खरिद बिक्रि भएपछि राफसाफ भए जस्तै यसमा  पनि वस्तु खरिद बिक्रि पछि राफसाफ हुन्छ । शेयरको हकमा शेयर आफ्नै डिम्याट खातामा  आउँछ भने वस्तुको हकमा  आफुले किनेको वस्तु वेयर हाउस मै रहन्छ तर त्यसको स्वामित्व भने आफुसंग हुन्छ । वेयर हाउसले वस्तु विनिमय बजारमा हुने कारोबारसँग सम्बन्धित वस्तुको भण्डारण गर्ने वा तत् समबन्धि निस्सा जारी गर्छ। साथै भण्डारण भएका वस्तुको संरक्षण तथा त्यस्तो वस्तुको कारोबार पश्चात हस्तान्तरण पनि वेयर हाउसले गर्छ । 

अरु कुन कुन संस्था हुन्छ ?

कमोडिटी बजारमा वेयर हाउस, राफसाफ तथा फस्र्यौट व्यवसाय, बजार निर्माता, लगानी व्यवस्थापक, लगानी परामर्शदाता, संरक्षक (कस्टोडियन), वस्तु कारोबार व्यापारी, वस्तु कारोबार दलाल लगायतका संस्था हुन्छन् ।  

कसले गर्छ नियमन ?

शेयर बजारलाई नेपाल धितोपत्र बोर्डले नियमन गरेजस्तै कमोडिटी बजारलाई पनि बोर्डले नै नियम गर्छ । एक्सचेन्जलाई लाइसेन्स दिने कम पनि बोर्ड कै हो । नियमन, निरीक्षण तथा सुपरिवेक्षणको अधिकार पनि बोर्ड संगै हुन्छ । नियम बमोजिम कार्य नगरेको पाईए त्स्य्ता व्यक्ति तथा संस्थालाई बोर्डले कारवाही पनि गर्न सक्छ । 

के के हुन्छ कारोबार ?

वस्तु विनिमय बजार सम्बन्धी नियमावली, २०७४ ले कमोडिटी एक्सचेन्जमा कारोबार हुन सक्ने वस्तु स्पष्ट रुपमा तोकिएको छ । नियमावलीले कारोबार हुन सक्ने वस्तुलाई ६ समुहमा बर्गिकरण गरेको छ ।

हेर्नुस सुची :

(क) कृषिजन्य उत्पादन ः कपास, अलैंची, जीरा, खुर्सानी, मरीच, काजू, सुपारी, मुसुरो, दलहन, मकै, गहुँ, धान, आलु, मेथी, तोरी, भटमास, आलस, फापर, उखु, सूर्ति, जूट, अदुवा, बेसार, फलफुल तथा सोबाट निर्मित जुस ।

(ख) धातुजन्य वस्तु ः आल्मुनियम, तामा, शिशा, निकल, टिन, पित्तल, फलाम, स्टिल, जिङ्क ।

(ग) बहुमूल्य धातु ः सुन, चाँदी, प्लाटिनम ।

(घ) खनिज तैलजन्य वस्तु ः कच्चा तेल, पेट्रोलियन पदार्थ, प्राकृतिक ग्यास, हिटि· आयल ।

(ङ) तेल ः नरिवलको तेल, पाम तेल, तोरीको तेल, भटमासको तेल, सूर्य मुखी तेल, आलसको तेल ।

(च) अन्य ः चिनी, सख्खर, चिया, कफी, अण्डा, जडिबुटी । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved