शेयरबजार 'बियरिस ट्रेण्ड' मै गएको हो ? यसो भन्छन् विश्लेषक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2021 | 11:12:31 PM मा प्रकाशित

laxmi  sunrise bank

असार महिना लागेपछि शेयर बजार परिसूचक नेप्से झन्डै २०० अंकले घटेको छ । असार १ गते ३०२२.११  मा रहेको सूचक आज असार १५ गतेसम्म आईपुग्दा २८२८.०० को बिन्दुमा पुगेको छ

३ हजारको बिन्दुमा रहेको सूचक निरन्तर घटेपछि बजार बियरिस ट्रेण्डमा गएको हो कि भन्ने आशंका आम लगानीकर्तामा रहेको छ शेयर विश्लेषकहरु भने बजारमा अहिले करेक्सन मात्र भएको र बुलिस ट्रेण्ड अझै जारी रहेको बताउछन्

शेयर विश्लेषक अम्बिका पौडेल अहिलेको घटाईलाई स्वभाविक करेक्सन मान्नु पर्ने बताउछन् । अहिले बजार घट्ने बेला नभईसकेकोले अहिले बजारमा स्वभाविक करेक्सन भएको र बजार अघिल्लो उचाईभन्दा माथि जाने बताउछन् । यो बजारको नियमित प्रक्रिया नै भएको उनको भनाई छ ।

उनी भन्छन् ‘बजार किन घट्यो भन्ने बारे यहि नै कारण हो भन्ने गरी कुनै यकिन कारण छैन, बजार बेलाबखत अपेक्षा गरिएको भन्दा उल्टो हुन्छ, अहिले भएको त्यहि हो।'

बजारमा  कारोबार रकम पनि घटेको र सूचक पनि घटेकोले बजारमा एक प्रकारको त्रास जस्तो देखिएको उनको भनाई छ । तर यो छिट्टै अन्त्य हुने र बजार फेरी बढ्ने क्रममा गएर यस अघिको उचाईभन्दा माथि जाने उनको अनुमान छ ।

त्यस्तै नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार पनि अहिलेको बजारलाई बियरिस ट्रेण्ड भन्न नमिल्ने बताउछन् धितोपत्र  बोर्डको विज्ञप्तिले बजारमा केहि डिस्टर्ब भएको उनको भनाई छ । अहिले  बजार घट्नुको पछाडी मुख्यत ३ कारण रहेको रौनियार बताउछन्

उनी भन्छन् ‘पहिलो कारण, पैसा हुनेहरु अहिले पर्ख र हेरको अवस्थामा छन्, उनीहरुले कारोबार नगर्दा बजारमा कारोबार रकम घटेको छ, उनीहरु अवसर कुर्दै छन् ।‘

बजार निरन्तर घट्न लागेपछि आत्तिएर नयाँ लगानीकर्ता र साना लगानीकर्ताले घाटा मै भए पनि शेयर बिक्रि गरेर बाहिरिएको उनको भनाई छ । बोर्डले साना लगानीकर्ताको हितमा विज्ञप्ति जारी गरेको भनेपनि त्यसको मारमा भने साना लगानीकर्ता नै परेको उनको भनाई छ । तेस्रो कारण, केहि समुहले नाफा बुक गरेकोले बजारमा गिरावट आएको उनी बताउछन्

असार मसान्त लागेको र कर तिर्नु पर्ने, ब्याज तिर्नु पर्ने कारणले पनि रकमको जोहो गर्दा बजार केहि घटेको हुन सक्ने उनको भनाई छ तर अहिले बजार करेक्सन मात्र भएको र बजार केहि समय साइडवेज जादैमा बजार बियरिस ट्रेण्डमा गएको भन्न नमिल्ने उनी बताउछन् ।

यो ब्रेक  मात्र लागेकोले बजार फेरी बढ्ने उनको विश्वास छ । साथै चौथो त्रैमास सकिन लागेको र चौथो त्रैमासमा सुचिकृत कम्पनीहरुको रिपोर्ट राम्रो आउने आँकलन गरिएको साथै बैंकको ब्याजदर नबढ्ने देखिएकोले बजार बढ्ने उनको भनाई छ । अहिले धेरै शेयर मूल्य भएका केहि सिमित कम्पनीहरुको मूल्य बढेर सूचक बढेको र बैंकिङ लगायतका क्षेत्र बढ्न बाँकि नै रहेकोले बजार बियरिस भन्नै नमिल्ने उनी बताउछन् ।

प्राविधिक शेयर विश्लेषक विष्णु प्रसाद बस्याल पनि बजारलाई बियरिस भन्न नमिल्ने बताउछन्। बजार यस अघि करेक्सन नै नभई निरन्तर बढेकोले यसलाई स्वभाविक करेक्सन मान्नु पर्ने उनको भनाई छ । बजारमा एग्रेसिभ बाइङ नदेखिएको र बिक्रिकर्ता हावी हुँदा बजार घटेको उनी बताउछन् २८०० मा साइकोलोजिकल सपोर्ट रहेको र २७५० देखि २७८० मा बलियो सपोर्ट रहेको उनको भनाई छ । लगानीकर्ता खरिद गर्ने सिग्नल पर्खिरहेको र उक्त सपोर्टमा खरिद गर्ने राम्रो अवसर हुन सक्ने उनको भनाई छ ।

अर्का एक शेयर विश्लेषक भने पछिल्लो समय सरकार र नियामक निकाय बजार प्रति सकारात्मक नदेखिएकोले बजार निरन्तर घटेको बताउछन्

उनी भन्छन् ‘सरकारले बजेट मार्फत पुँजीगत लाभकर बढायो, नेपाल राष्ट्र बैंकले मार्जिन लोनको गणना विधिलाई १२० दिनबाट १८० दिन पुर्यायो, राष्ट्र बैंकले नै बैंक तथा वित्तीय संस्थालाई लगानी गर्न कडाई गर्यो, धितोपत्र बोर्डले विज्ञप्ति निकालेर लगानीकर्ता त्रसित बनायो, बीमा समितिले पनि बीमा कम्पनीलाई कडाई गर्यो, मौद्रिक नीति पनि बजारमैत्री नआउने चर्चा छ।' 

लकडाउनमा अन्य क्षेत्र बन्द हुँदा धेरै लगानीकर्ताले राम्रो नाफा बुक गरेको र अन्य क्षेत्र क्रमश खुल्दै जाँदा बजारबाट लगानीकर्ता पलायन हुँदा कारोबार रकम घटेको उनी बताउछन् तर बजारमा अहिले करेक्सन भएको र लगानीकर्ताको मनोबल र कन्फीडेन्स बढ्ने केहि आधार देखिए बजार बढ्ने उनी बताउछन्

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved