धितोपत्र बोर्डले ढिलाई गर्दा ब्रोकरले आफ्नै टिएमएस ल्याउन पाएनन्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2021 | 02:02:21 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी आर्थिक वर्ष अर्थात् २०७८ साउन १ गतेदेखि ब्रोकरहरुले आफ्नै कारोबार ब्यबस्थापन प्रणाली (टिएमएस) चलाउने तयारी गरेपनि नेपाल धितोपत्र बोर्डका कारण सो सम्भव नहुने भएको छ। ब्रोकरहरुले आफ्नै टिएमएस चलाउन सक्ने गरि बोर्डले समय मै कानुनी ब्यबस्था नगरिदिँदा साउन १ देखि आफ्नै टिमएमएस चलाउने ब्रोकरको योजना सफल नहुने भएको हो । 

हाल ब्रोकरहरुले नेप्सेकै टिएमएस प्रणाली चलाई रहेका छन् । ब्रोकरले आफ्नै टिएमएस जडान गर्न सक्ने गरि नेपाल स्टक एक्सचेन्ज नेप्सेले विनियमावली संशोधन प्रस्ताव गरेको थियो । नेप्सेले धितोपत्र कारोबार संचालन बिनियमावली संशोधन गरि स्वीकृतिको लागि नेपाल धितोपत्र  बोर्डमा पठाएको थियो । लामो समयदेखि बोर्डले उक्त विनियमावली स्वीकृत नगर्दा हाल भईरहेको टिएमएसको विकल्प तत्काल नआउने भएको हो ।  

 नेप्सेले यस अघि सूचना प्रविधि कार्यविधि बनाएर ब्रोकरहरुले आफ्नै टिएमएस संचालन गर्न सक्ने ब्यबस्था सहितको प्रस्ताव स्वीकृतिको लागि बोर्डमा पठाएको थियो । कार्यविधिमा टिएमएस प्रयोग गरे वापत नेप्सेलाई तिर्नु पर्ने शुल्क समेत उल्लेख गरिएको थियो । तर बोर्डले शुल्कको विषय कार्यविधिमा राख्न नमिल्ने भन्दै नियमावलीमा राख्नु पर्ने भन्दै उक्त प्रस्ताव फिर्ता पठाईदिएको थियो । बोर्डबाट प्रस्ताव फिर्ता आएपछि नेप्सेले विनियमावली संशोधन गरेर बोर्डमा पठाएको हो । 

तर अझै बोर्डले त्यसलाई स्वीकृत गरेको छैन । बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना त्यसमा केहि सुधार गर्न आवश्यक देखिएकोले विभिन्न चरणमा छलफल भईरहेको बताउछन् । शेयर कारोबारसंग प्रत्यक्ष जोडिएको विषय भएकोले गहन अध्ययन र विश्लेषण गरेर मात्र विनियमावली स्वीकृत गरिने उनी बताउछन् । नेप्सेसँग यसको लागि छलफल भईरहेको र सकेसम्म छिटो विनियमावली स्वीकृत गरिने उनको भनाई छ । 

के छ नेप्सेले पठाएको प्रस्तावमा  ?

बोर्डमा स्वीकृतिको लागि पठाईएको विनियमावलीमा कारोबार ब्यबस्थापन प्रणाली (टिएमएस) प्रयोग सम्बन्धि ब्यबस्था छ । त्यसमा मुख्यत: २ वटा विषय समेटिएको बताईएको छ । पहिलो, अहिले भईरहेको टिएमएस ब्रोकरले भाडामा चलाउंदा त्यसको प्रयोग समबन्धि ब्यबस्था र दोस्रो, ब्रोकर आफैले टिएमएस निर्माण गरे वा खरिद गरेर ल्याएर त्यसको प्रयोग समबन्धि ब्यबस्था समेटिएको छ ।

हाल सबै ब्रोकरले नेप्सेले नै तयार पारेको टिएमएस चलाउदै आएका छन् । नेप्से कै टिएमएस चलाउंदा टिएमएसमा केहि समस्या आए नेप्सेलाई दोष आउने गरेको छ । तर नेप्से भने आफ्नो कारणले नभई धेरै समस्या सर्भरको कारणले आउने गरेको दाबी गर्छ । टिएमएस नेप्सेको भएपनि सर्भर ब्रोकर कै भएकोले सर्भरको कारण ढिलो खुल्ने, नखुल्ने जस्ता समस्या आउने र ब्रोकरको सर्भरको कारण देखिएका समस्या आफुले समधान गर्न नसक्ने नेप्सेले बताउदै आएको छ । विनियमावली स्वीकृत भएर लागु भएपछि आफुलाई दोष नआउने नेप्सेको दाबी छ ।

विनियमावलीमा शुल्क लिने ब्यबस्था पनि उल्लेख गरिएको छ । ब्रोकरले नेप्सेको टिएमएस चलाउंदा त्यसवापत शुल्क लिने प्रस्ताव गरिएको छ । त्यस्तै यदि कोहि ब्रोकरले आफ्नै टिएमएस बनाउने चाहेमा वा टिएमएस खरिद गरेर ल्याएमा त्यसलाई नेप्सेको सिस्टममा जोड्नको लागि शुल्क लिने प्रस्ताव गरिएको छ। ब्रोकर आफैले टिमएस निर्माण गर्ने भए वा खरिद गरेर ल्याउने भए त्यसको मापदण्डको ब्यबस्था पनि उल्लेख गरिएको छ ।

जस अनुसार नेप्से कै टिएमएस चलाउने भए ब्रोकरले मर्मत सम्भार शुल्क मासिक ४० हजार र जडान प्राविधिक सेवा शुल्क मासिक १५ हजार गरि कुल ५५ हजार तिर्नु पर्ने प्रस्ताव गरिएको छ । ब्रोकरले आफ्नै टिएमएस बनाउने चाहेमा वा टिएमएस खरिद गरेर ल्याएमा त्यसलाई नेप्सेको सिस्टममा जोड्नको लागि वार्षिक रुपमा ७५ हजार शुल्क लिने प्रस्ताव गरिएको छ । 

ब्रोकर भन्छन् 'हानी तयारी अवस्थामा छौ, कानुन आउनु पर्यो' 

ब्रोकरहरु भने आफ्नै टिएमएस चलाउन तयारी अवस्थामा रहेको तर त्यसको लागि कानुन  अर्थात सोहि विनियमावली स्वीकृत भएर आउनु पर्ने बताउछन् । स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनाली आफुहरुले धेरै अगाडी देखि नै अन्तराष्ट्रिय स्तरको टिएमएस प्रयोगमा ल्याउनको लागि काम गरिरहेको बताउछन् । नेप्से र बोर्डले सहयोग गरे आगामी साउन देखि नै आफ्नै टिएमएस संचालनको तयारी गरिएकोमा अब भने साउनमा नै त्यो आउने अवस्था नरहेको उनको भनाई छ । 

विनियमावलीले कस्तो प्रावधान तोक्ने हो, त्यसको आधारमा अन्तिम कार्यहरु सुरु गर्नु पर्ने भएकोले विनियममावली आएपछि मात्र थप काम अगाडी बढ्ने उनको भनाई छ । 

उनी भन्छन् 'प्रक्रिया तोकिनु पर्यो, स्पेसिफिकेसन तोकिनु पर्यो, आवेदन दिनु पर्ने, स्वीकृति लिनु पर्ने, परिक्षण गरिनु पर्ने, लगायतका विभिन्न प्रक्रिया होलान् , त्यो सब काम विनियमावली नआई अगाडी बढ्न सक्दैन' । विनियमावली आएपछि मात्र कति समयमा आफ्नै टिमएस चलाउन सकिन्छ भन्ने अकं गर्न सकिने उनको भनाई छ । सबै प्रक्रिया १ महिना मै सकिने खालको प्रावधान आयो भने छिटो हुने र ढिलो हुने खालको प्रावधान आएमा ढिलो हुने उनको भनाई छ । आफ्नो तर्फबाट गरिनु पर्ने कार्य भने सबै सकिएको उनको भनाई छ । 

के के छन् ब्रोकरले ल्याउन खोजेको टिएमएसका विशेषता ?

ब्रोकरहरुको संगठन स्टक ब्रोकर एसोसियनले ब्रोकरहरुको संयुक्त पहलमा १० भन्दा बढी देशमा प्रयोग भईरहेको टिएमएस ल्याउन लागेको हो । संघका अनुसार चुस्त दुरुस्त सेवा प्रवाह गर्न, कारोबारमा निहित जोखिम ब्यबस्थापन गर्न , लगानीकर्ताले बेहोरिरहेका समस्या अन्त्य गर्न, १० भन्दा बढी राष्ट्रमा प्रयोग भईरहेको टिएमएस ल्याउन खोजिएको हो । सम्बन्धित पक्षको उचित सहयोग भए साउन १ देखि यो प्रयोगमा आउने संघले जनाएको छ 

संघका अनुसार हाल उक्त प्रणालीलाई localization र customization गर्ने काम भईरहेको छ । उक्त प्रणालीमा multi assest, multi exchange trading paltform रहेकोले शेयर, डिबेन्चर, बोन्ड, डेरीभेटिभ, करेन्सी लगायत विभिन्न उपकरणहरुको कारोबार एक वा एकभन्दा बढी स्टक एक्सचेन्जमा वा डेरीभेटिभ एक्सचेन्जमा एक साथ गर्न सकिने संघले जनाएको छ । यसको मोबाइल एप पनि रहेकोले लगानीकर्तालाई थप सहज हुने संघले उल्लेख गरेको छ । संघका अनुसार प्रणालीमा stop loss, take profit, after market order, algorithmic वा high frequency trafing जस्ता आदेश ब्यबस्थापन विशेषता छन् । अर्थतन्त्र, बजार तथा सुचिकृत कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेषण गर्न सकिने गरि यस प्रणालीमा तथ्यांकहरु राखिने र लगानीकर्ताले आफ्नो कारोबारको सम्पूर्ण हरहिसाब तथा आफ्नो पोर्टफोलियो तथा नाफा घाटाको अवस्था पनि यसै प्रणाली मार्फत हेर्न पाउने ब्यबस्था रहेको संघले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved