
सिडीएस एण्ड क्लियारिङले साउन १ गतेदेखि लागु हुने पुंजीगत लाभकरको बारेमा जानकारी दिन भिडियो म्यानुअल सार्वजनिक गर्ने भएको छ । सिडीएसले सम्भव भएसम्म आज बिहिबार नै भिडियो म्यानुअल सार्वजनिक गर्ने तयारी गरेको हो ।
सिडीएसका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले सम्भव भएसम्म मेरोशेयरको वेबसाइट मै र त्यो सम्भव नभए सिडीएसको वेबसाइटमा भिडियो अपलोड गरिने बताए । लगानीकर्तालाई नयाँ लाभकर गणना विधिबाट बारे जानकारी दिन भिडियो म्यानुअल ल्याउन लागिएको उनले बताए । भिडियोको साथ साथ टेक्स्ट म्यानुअल पनि आउने उनको भनाई छ । सकेसम्म आज बिहिबार नै र आज बिहिबार सम्भव नभए शुक्रबार म्यानुअल आउने उनले बताए ।
सिडीएसको भेन्डर कम्पनी डिसीएस, इण्डियाले यो प्रणाली तयार पारेको हो । डिसीएस इण्डिया (डाटा कन्सल्टिङ सर्भिस, इण्डिया) सन् २०२५ सम्मको लागि सिडीएसको भेन्डर कम्पनी हो । सिडीएसको प्रणालीहरु यहि कम्पनीले नै तयार पार्दै आएको छ ।
सरकारले आर्थिक वर्ष ७८/७९ को बजेट बक्तब्य मार्फत शेयरबजारमा लगानीकर्ता र कारोबारी छुट्याउन फरक फरक लाभकरको दर प्रयोग हुने ब्यबस्था गरेको हो । सरकारले आर्थिक अध्यादेश २०७८ मा यस्तो ब्यबस्था गरेको हो । जस अनुसार आफुले शेयर खरिद गरेको ३६५ दिन भन्दा अगावै बिक्रि गरेमा ७.५ प्रतिशत पुंजीगत लाभकर लाग्ने छ । ३६५ दिनपछि शेयर बिक्रि गरेमा भने हाल कायम अनुसार कै ५ प्रतिशत पुंजीगत लाभकर लाग्ने छ । यद्यपि यो नाफामा मात्र लाग्ने कर हो । यदि शेयर बिक्रि गर्दा घाटा भएको छ भने लाभकर तिर्नु पर्दैन । यो आगामी साउन १ गतेदेखि लागु हुनु पर्छ । साउन १ गते शुक्रबार परेको र सो दिन शेयर कारोबार नहुने भएकोले साउन ३ देखि यो प्रयोगमा आउने छ ।
अध्यादेशमा ३६५ औ दिनमा के हुने भन्ने प्रष्ट नभएकोले ३६५ औ दिनलाई पनि सर्ट टर्म मानेर कारोबारी सरह कर लगाउन आन्तरिक राजश्व विभागले सिडीएसलाई भनेको छ । त्यस्तै हाल कायम रहेको भारित औसत लाभकर गणना विधिलाई यथावत राखिने र सामुहिक लगानी कोषलाई कर नलगाउने गरि प्रणाली तयार पारिएको छ।