
साउन ३ गते आइतबारदेखि संशोधित धितोपत्र कारोबार संचालन विनियमावलीको ब्यबस्था बमोजिम शेयर कारोबार हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड संचालक समितिकोबुधबार बसेको वैठकले साउन ३ देखि लागु हुने गरि धितोपत्र कारोबार संचालन (दोस्रो संशोधन) विनियमावली, २०७८ स्वीकृत गरेको हो ।
यस संगै अब प्रि ओपन सेसनमा शेयरको मूल्य २ प्रतिशत मात्र घट बढ हुन पाउने भएको छ । यस अघि प्रि ओपन सेसनमा शेयरको मूल्य ५ प्रतिशतसम्म घटबढ हुदै आएकोमा अब भने २ प्रतिशत मात्र घटबढ हुन पाउने भएको हो । यस्तो ब्यबस्थाले प्रि ओपन सेसनमा हुने अस्वभाविक उतारचढाव ब्यबस्थित हुने विश्वास गरिएको छ । हाल १०:३० देखि १०:४५ सम्म प्रि ओपन सेसनको कारोबार हुने गरेको छ ।
त्यस्तै साउन ३ देखि न्युनतम मुल्य परिवर्तन सीमा १ रुपैयाँबाट घटेर १० पैसा कायम हुने छ । लगानीकर्ताले १० पैसा वा १० ले भाग जाने मूल्यमा अर्डर हाल्न सक्ने छन् । यसबाट लगानीकर्ताले प्रतिस्पर्धी मूल्यमा शेयर खरिद बिक्रि गर्न सक्ने विश्वास गरिएको छ ।
यो ब्यबस्था लागु भएपछि लगानीकर्ताले पैसा समेत उल्लेख गरेर शेयर खरिद बिक्रि गर्न सक्ने छन् । जस्तै लगानीकर्ताले २०० रुपैयाँ १० पैसा, २०० रुपैयाँ २० पैसाको अर्डर हाल्न सक्ने छन् ।