अपि पावर कम्पनी Api Power Company ले साउन १३ गतेदेखि हकप्रदमा अवितरित हकप्रद शेयर लिलाम गर्ने भएको छ। कम्पनीले हकप्रदमा बिक्रि नभएको सर्वसाधारणतर्फको २ लाख १५ हजार ५ सय ९९ कित्ता शेयर लिलाम गर्न लागेको हो ।
यस लिलामीको शेयरमा साउन २० गतेसम्म आवेदन दिन सकिने छ । शेयर लिलाम प्रक्रियाको लागि मुक्तिनाथ क्यापिटल बिकी प्रबन्धक रहेको छ । लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । मुक्तिनाथ क्यापिटलको कमलादी स्थित कार्यालय र मुक्तिनाथ विकास बैंकक तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।
कम्पनीले जेठ २० गतेदेखि हकप्रद बिक्रि खुला गरेको हो । कम्पनीले १:०.२९३८ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २९.३८ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । कम्पनीले ५६ करोड ७० लाख बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । जस मध्ये रित पुर्वक आवेदन दिने ८८ हजार ९ सय २२ जना आवेदकलाई ५४ लाख ५४ हजार ४ सय १ कित्ता बाँडफांड गरिसकिएको क्यापिटलले जनाएको छ । यस हिसाबमा हकप्रदमा बिक्रि नभएको २ लाख १५ हजार ५ सय ९९ कित्ता शेयर लिलाममा आउने भएको हो ।
कम्पनीले अनुमति माग गर्दै फागुन ९ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बैशाख १९ मा बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले गत कार्तिक १४ गतेदेखि मङ्सिर ४ गतेसम्म १:०.४७६१९०४७६१९ को अनुपातमा अर्थात् ४७.६१९ प्रतिशतले हुन आउने ५६ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको थियो । विद्युत नियमन आयोगले कम्पनीलाई विभिन्न शर्त तोकेर चरण चरणमा हकप्रद निष्काशनको लागि अनुमति दिएको थियो । आयोगले पहिले निष्काशन गरेको हकप्रदबाट उठेको रकमबाट आयोजनामा गरिएको प्रगतीको प्रतिवेदन बुझाएपछि मात्र दोस्रो चरणको हकप्रद निष्काशनको लागि अनुमति दिने जनाएको थियो । त्यस्तै आयोगले सर्वसाधारणलाई शेयर निष्काशन गर्नु अगाडी संस्थापकले कबुल गरेको रकम बुझाई सक्नु पर्ने शर्त राखेको थियो । सबै शर्त पुरा गरेपछि कम्पनीले दोस्रो चरणको हकप्रदको लागि अनुमति पाएको हो ।
अपि पावरले ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत बनाउनको लागि रकम जुटाउन थप हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीका अनुसार आयोजनाको ३० प्रतिशत काम सकिएको छ । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट ९ प्रतिशत बोनस शेयर पनि वितरण गरेको थियो ।