नेप्सेका सीईओ साउदले पनि स्वार्थ बाझिने गरि सर्वोत्तम सिमेन्टको शेयर किनेको खुलासा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2021 | 10:35:57 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले पनि स्वार्थ बाझिने गरि सर्वोत्तम सिमेन्टको शेयर किनेको खुलासा भएको छ । साउदले आफ्नो श्रीमतीको नाममा कम्पनीको ११ हजार ९ सय १२ कित्ता शेयर खरिद गरेको खुलेको हो ।

हिमाल खबर पत्रिकाले यस बारे खुलासा गरेको हो । जस अनुसार साउदले आफ्नो श्रीमती सुशिला कुमारी बोहराको नाममा शेयर लिएको देखिएको छ । शेयर लगत विवरणमा उनको ठेगाना बैतडीको शिवलिङ्ग-१ उल्लेख छ । ११ लाख ९१ हजार २ सय रुपैयाँमा उक्त शेयर खरिद गरेको देखिएको हो ।

यस अघि नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले पनि स्वार्थ बाझिने गरि कम्पनीको शेयर आफ्नो छोरीको नाममा खरिद गरेको खुलासा हिमालले गरेको थियो । ढुंगानाको छोरीको नाममा पनि ११ हजार ९ सय १२ कित्ता शेयर खरिद गरिएको खुलासा भएको हो ।

कम्पनीले बुक विल्डिङ विधिबाट आईपिओ निष्काशनको तयारी गरिरहेको छ । आईपिओ निष्काशनको तयारी बह्येपछि बोर्ड अध्यक्ष र नेप्से सीईओले आफ्नो परिवारको नाममा शेयर खरिद गरेको खुलेको हो। 

यस सम्बन्धमा वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर गान्धी पण्डित धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९१, ९२ र ९३ ले यसलाई दण्डनीय मानेको बताउँछन ।

'यस्तो कार्यमा संलग्न हुनेलाई विगो जरिवाना वा एक वर्ष कैद वा दुवै हुनसक्छ,’ उनले भने । नियामक निकायको नेतृत्वमा बसेर प्राप्त सूचनाको आधारमा परिवारका सदस्यको नाममा शेयर खरिद बिक्री गर्नु ‘इन्साईडर ट्रेड्रिङ’ भएको उनको भनाई छ ।

कम्पनीले ४० करोड पूँँजी जुटाउनका लागि डेढ वर्ष पहिले १७ जना तथा पछि ५७ जनालाई संस्थापक शेयर बिक्री गरेको थियो ।२०७६ साउनमा प्राइभेटबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको सर्वोत्तमले चुक्ता पूँजीको १५ प्रतिशत अर्थात ६० लाख कित्ता शेयर निष्काशन गर्ने तयारीमा छ । सर्वोत्तम सिमेन्टको खानी पाल्पामा छ भने नवलपरासीमा उद्योग रहेको छ।

बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन प्रक्रिया अघि बढाउन धितोपत्र बोर्डले संस्थागत लगानीकर्ताको सूची समेत तयार पारिसकेको थियो । कम्पनीले प्रतिकित्ता शेयर मूल्य ७५० रुपैयाँ कायम गर्न बोर्डसमक्ष प्रस्ताव गरिसकेको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved