
नेपाल धितोपत्र बोर्डको कर्मचारी युनियनले सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा संलग्न बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र संचालक चन्द्र ढकाललाई निलम्बन गर्न माग गरेको छ । विभिन्न संचारमाध्याममा आएका समाचारका विषयले बोर्ड अध्यक्षको इमान्दारिता, कानूनी प्रावधान, आचार संहिता अनुसार गम्भिर नैतिक पतन (Utmost Moral Hazard) भएको देखिएको हुँदा उनलाई निलम्बन गर्न युनियनले माग गरेको छ ।
करिब ३८ लाख लगानीकर्ताको सम्पत्ति एवं झण्डै देशको कूल ग्राहस्थ उत्पादन बराबरको बजार पूँजीकरण भएको देशको धितोपत्र बजार संरक्षण गर्दै पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डको संस्थागत गरिमालाई आँच आउन नदिन, उक्त कार्यमा संलग्नहरुलाई तत्काल निलम्बन गरी ऐनको दफा ७(७), १२, ९१ र ९२ तथा अन्य विद्यमान कानूनका आधारमा सम्बन्धित तत् निकायले बजारको पारदर्शिता र स्वच्छता कायम राख्नका लागि अविलम्ब छानविन कार्य अगाडि बढाई दोषी देखिएकालाई हदैसम्मको कारवाही गर्न नेपाल धितोपत्र बोर्डको आधिकारिक कर्मचारी यूनियनले माग गरेको हो।
धितोपत्र ऐनको प्रारम्भिक खण्डको दफा २ परिभाषामा धितोपत्र र निष्काशन जस्ता शब्दको परिभाषाले संस्थापकलाई जारी गरिएको धितोपत्रलाई समेत जनाउने र बोर्डको कार्यक्षेत्र भित्रै पर्ने युनियनको भनाई छ ।
युनियनले भनेको छ 'धितोपत्र ऐन २०६३ को प्रस्तावना मै उल्लेख गरिए अनुसार पूँजी बजारको विकास र लगानीकर्ताको हित संरक्षणको मुल मर्म अनुसार बोर्डको नेतृत्व एवं संचालकहरुले कार्य गर्नुपर्नेमा सो नगरी संस्थाको गरिमामा आँच आउने कार्य गर्न छुट रहदैन। बुक विल्डिङ मार्फत धितोपत्र जारी गर्ने प्रक्रियामा गएको संस्थाको धितोपत्र र सो संग निहित सम्बेदनशिल जानकारीका आधारमा आफ्नो निकट पारिवारिक सदस्यका नाममा धितोपत्र खरिद गर्नु धितोपत्र बोर्डको लब्ध प्रतिष्ठत अध्यक्ष तथा संचालकका रुपमा गम्भिर विचलन हो।'
त्यस्तै अर्थ मन्त्रालयले पठाएको स्पष्टिकरण पत्रको विषयमा पनि युनियनले आपत्ति जनाएको छ ।अर्थ मन्त्रालयबाट बोर्डको नाममा स्पष्ट गरी पठाउने बारे भनेर मिति २०७८।०४।१३ मा लेखिएको पत्रका सम्बन्धमा सम्बन्धित व्यक्ति वा पदाधिकारीको व्यक्तिगत बिषयमा पुरै संस्थालाई मुछेर पत्र लेखिएकोमा यूनियनले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो।