धितोपत्र बोर्डबाट हकप्रद निष्काशन अनुमतिको पर्खाईमा यी ६ कम्पनी, कुनको कति र कुन चरणमा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2021 | 10:17:37 AM मा प्रकाशित

laxmi  sunrise bank

विभिन्न ६ वटा कम्पनीले हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र  बोर्डमा आवेदन दिएर अनुमतिको पर्खाइमा रहेका छन् । ३ वटा विकास बैंक, एउटा फाइनान्स , एउटा इन्स्योरेन्स र एउटा हाइड्रोपावर कम्पनी बोर्डमा आवेदन दिएर अनुमतिको पर्खाईमा रहेका हुन् ।

यी ६ कम्पनीले १ अर्ब ५६ करोड ४४ लाख ३ सय ६७ रुपैयाँ ४२ पैसा बराबरको १ करोड ५६ लाख ४४ हजार ३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्काशनको लागि अनुमति माग गरेका हुन् । बोर्डले अनुमति दिएपछि यी कम्पनीको हकप्रद शेयर निष्काशन हुने छ ।

कसको कति ?

शिखर इन्स्योरेन्स  Shikhar Insurance Company Limited  ले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा  जेठ २५ गते आवेदन दिएको हो  ।  कम्पनीले १०:३ को अनुपातमा ३० प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति माग गरेको हो  ।  बोर्डबाट अनुमति पाएपछि कम्पनीले ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद शेयर निष्काशन गर्ने  छ । कम्पनीले हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  

नारायणी डेभलपमेन्ट बैंक Narayani Development Bank  ले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा असार ४ गते आवेदन दिएको हो । बैंकले १:१ को अनुपातमा अर्थात् शत प्रतिशत हकप्रद निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो । बोर्डबाट अनुमति पाएपछि बैंकले १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । गत माघ १६ गते सम्पन्न बार्षिक साधारणसभा मार्फत बैंकले १ बराबर २ कित्ता सेयरका दरले हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो । तर राष्ट्र बैंकले  १ बराबर १ कित्ताको दरले मात्रै हकप्रद निष्काशनको अनुमति दिएको हो । 

समृद्धि फाइनान्स Samriddhi Finance Company ले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा साउन १५ गते आवेदन दिएको हो । कम्पनीले २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति माग गरेको हो । कम्पनीले २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको  २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो । कम्पनीले गत असोज १६ गतेदेखि कार्तिक ६ गतेसम्म १:२ को अनुपातमा २ सय प्रतिशतको दरले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद निष्कासन गरेको थियो । त्यस समयमा बिक्रि नभएको शेयर लिलाम मार्फत पूर्ण बिक्रि भईसकेपछि कम्पनीले फेरी हकप्रद निष्काशनको लागि अनुमति माग गरेको हो  ।  वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो। 

यी ३ कम्पनीको हकप्रदको आवेदन बोर्डको प्रारम्भिक अध्ययनको क्रममा रहेको छ । 

कर्पोरेट डेभलपमेन्ट बैंक Corporate Development Bank Limited  ले हकप्रद निष्काशन अनुमति माग गर्दै पुस २६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले हाल कायम चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति माग गरेको हो । बैंकले १:१.५० को अनुपातमा ३० करोड बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।  नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको तीन वर्षपछि कर्पोरेट डेभलपमेन्ट बैंकलाई २०७४ माघ १८ गते समस्याग्रस्त संस्थाबाट मुक्त गरेको थियो। समस्याग्रस्तबाट फुकुवा भएपछि बैंकले राष्ट्र बैंकले तोके बमोजिम पुँजी पुर्याउन हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनको लागि सिभिल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कर्पोरेटको हकप्रदको आवेदनमा बोर्डले रिभ्यु गरि कम्पनीलाई कमेन्ट पठाई सकेको छ । कम्पनीले बोर्डले माग गरेअनुसार थप विवरण पठाउनु पर्ने छ । 

त्यस्तै छ्याङदी हाइड्रोपावर  Chhyangdi Hydropower Company  ले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा  बैशाख १५ गते अआवेदन दिएको हो  । कम्पनीले १०:३० को अनुपातमा ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो  । हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । 

एक्सेल डेभलपमेन्ट बैंक Excel Development Bank Limited  ले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा  जेठ २७ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ दशमलव ४२ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।  बैंकले हकप्रद निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको हो ।  

छ्याङदी हाइड्रो र एक्सेल डेभलपमेन्ट बैंकको हकप्रदको आवेदनमा बोर्डले रिभ्यु गरि कम्पनीलाई कमेन्ट पठाई सकेको भने कम्पनीले पनि त्यसको जवाफ बोर्डलाई पठाई सकेको छ । जवाफ रिभ्यु कै क्रममा रहेको बोर्डले जनाएको छ ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved