१ अर्ब भन्दा बढी शेयर कर्जा लिने २ जना मात्रै, ४ र १२ करोड लिने कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2021 | 08:47:14 PM मा प्रकाशित

laxmi  sunrise bank

मार्जिन प्रकृतिको कर्जाको सिमा तोकिएपछि सेयर धितो राखेर  कसले कति कर्जा लिए भन्ने बारे सबैको चाँसो बढेको छ। नेपाल राष्ट्र बैकले मार्जिन प्रकृतिको सेयर धितो कर्जा एउटा बैंक वित्तीय सँस्थाबाट बढीमा ४ करोड र बढीमा तीनवटा सँस्थाबाट १२ करोडसम्म लिने पाइने व्यवस्था गरेपछि यस्तो कर्जा लिनेको सङ्ख्याबारे चाँसो बढेको हो। 

सेयर धितो राखेर अर्ब बढी कर्जा लिनेको सङ्ख्या धेरै नै भएको अनुमान गरीएपनि नेपाल राष्ट्र बैंकको तथ्यांकले २ जनाले मात्रै १ अर्ब बढी सेयर धितो कर्जा लिएको देखाएको छ।

त्यस्तै नेपाल राष्ट्र बैंककाअनुसार १६२ जनाले सेयर धितो राखेर १२ करोड भन्दा बढी कर्जा लिएका छन्। त्यस्तै ६३६ जनाले ४ करोड भन्दा बढी सेयर धितो कर्जा लिएका छन्। ६३६ जना भित्र अर्थात ४ करोड भन्दा बढी कर्जा लिनेमा १६२ जना पनि समावेश छन्। 

गत आर्थिक बर्षको असार मसान्तसम्म सेयर धितो राखेर बैंकिङ प्रणालीबाट मार्जिन प्रकृतिको कर्जा उपयोग गर्नेको कुल सङ्ख्या ८ हजार ५६४ जना रहेका छन्। यी सबैजनाले लिएको सेयर धितो कर्जाको रकम जम्मा १ खर्ब ४ अर्ब रुपैयाँ रहेको छ।  

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तथा मौद्रिक नीति कार्यन्वयन गर्नलाई जारी गरेको परिमार्जित तथा संसोधित एकीकृत निर्देशन २०७७ मार्फत मार्जिन प्रकृतिको सेयर धितो कर्जामा सिमा तोकेको हो। 

एउटा बैंक वित्तीय सँस्थाबाट ४ करोड र तीनवटा सँस्थाबाट १२ करोड भन्दा बढी सेयर धितो कर्जा लिएकाले मौद्रिक नीति जारी भएको अर्थात २०७८ भदौ ८ गते पश्चात भुक्तानी अवधि वा एक बर्ष मध्ये जुन पहिला हुन्छ त्यो मितिसम्म तोकिएको सिमामा ल्याउनु पर्ने व्यवस्था गरेको छ। यहि नियम पश्चात पछिल्लो समय सेयरको बजारले ओरालो बाटो लिएको छ। 

राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमा तोकेकै कारण सेयर बजार ओरालो लागेको भन्दा आम लगानीकर्ता तथा लगानिकर्ताका संघ संगठन आन्दोलित भएका छन्। उनीहरुले अर्थ मन्त्रालय तथा राष्ट्र बैंकलाई सेयर धितो कर्जामा लगाईएको सीमा हटाउन आग्रह गरेका छन्। 

यद्दपी सेयर बजारमा बाहेक अन्य क्षेत्रमा लगानी गर्नका लागि सेयर धितो राखेर लीन पाउने कर्जामा कुनै सिमा नलाग्ने नेपाल राष्ट्र बैंकले स्पष्ट पारेको छ। सेयर धितो राखेर पुन सेयर बजारमै लगानी गर्ने प्रवृति बढेकाले मार्जिन प्रकृतिको सेयर कर्जामा सीमा तोकिएको राष्ट्र बैंकको दाबी छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved