
प्रभु क्यापिटल लिमिटेड Prabhu Capital ले बालदिवसको अवसर पारेर स–साना नानीबाबुहरुलाई लक्षित गरेर 'प्रभु लिटल च्याम्प पीएमएस' योजनाको शुरुवात गरेको छ । यो योजना अन्तरगत क्यापिटलले भर्खरै जन्मिएका बच्चादेखि १६ वर्षसम्मका छोरा÷छोरीहरुको सुरक्षित भविष्यको लागि लगानी गर्न चाहने सेवाग्राहीहरुलाई लगानी व्यवस्थापन सेवा प्रदान गर्नेछ ।
यो योजनामा नानीबाबुहरु पिएमएस सेवा लिनको लागि जोडिएपश्चात क्यापिटलले एउटा पिएमएस वापत १ जना गरीब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने जनाएको छ । प्रभु क्यापिटलले व्यवसायसँगै संस्थागतरुपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले शुरुवात गरेको यो योजनामा जोडिएर आफ्नो छोराछोरीको उज्वल भविष्यलाई लक्षित गर्दै यो लगानी व्यवस्थापन सेवामा जोडिएर सामाजिक कार्यमा सहयोगी बन्न सक्ने क्यापिटलएल उल्लेख गरेको छ।
‘हजुरको छोराछोरीको लागि लगानी सँगै शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग’ भन्ने मुल नारा सहित सञ्चालन गरिने यो योजनालाई क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रहेर ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
यस्ता छन् योजनाका विशेषता:
न्यूनतम लगानी अवधिः ५ वर्ष
हर्डल रेटः ८ प्रतिशत
वार्षिक व्यवस्थापन शुल्क (एएमसी)ः २ प्रतिशत
मुनाफामा लाग्ने शुल्कः २० प्रतिशत
लक इन अवधिः ५ वर्ष
लक इन अवधि अगावै योजना बन्द शुल्कः ३ प्रतिशत
नाफा वितरणः न्यूनतम लगानी अवधि पश्चात गरीब तथा पिछडिएका बालबालिकालाई १ वर्षको लागि सम्पूर्ण विद्यालय खर्च क्यापिटलले स्पोन्सर गर्नेछ ।