शेयर किनेर ब्रोकरलाई पैसा नतिरी बस्नु भएको छ ? भोग्नुपर्ला घाटाको ब्यापार !

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 21, 2021 | 01:10:31 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरुले शेयर खरिद गरेको रकम भुक्तानी गर्न ढिलासुस्ती गरेका छन् । करिब ३२ सयको बिन्दुमा रहेको बजार घटेर २७ सय हाराहारीमा आएपछि उच्च मूल्य तिरेर शेयर खरिद गरेका लगानीकर्ताहरुले आफुले खरिद गरेको शेयरको रकम भुक्तानी गर्न ढिलो गरेका हुन् । 

शेयर खातामा आईसक्दा धेरै घाटा हुने देखिएपछि लगानीकर्ताले रकम भुक्तानीमा चासो नदिएका हुन् । ब्रोकर संघका अध्यक्ष सन्तोष मैनालीका अनुसार लगानीकर्ताले तिर्न बाँकि रहको रकमको यकिन तथ्यांक नरहेपनि १० देखि १२ अर्ब रकम लगानीकर्ताले तिर्न बाँकि रहेको अनुमान गरिएको छ । लगानीकर्ताले समयमा भुक्तानी नगरिदिँदा ब्रोकरहरु भने समस्यामा परेका छन् । 

लगानीकर्तामा 'पैसा तिरेपछि मात्र शेयर खातामा आउँछ, पैसा नतिरेसम्म ब्रोकर कै खातामा रहन्छ, र जहिले पैसा तिर्यो त्यहि समयमा शेयर आउँछ, खरिद गर्दाको हकमा ब्रिकी गरेर शेयर ट्रान्सफर नगर्दामा जस्तो जरिवाना हुदैन' भन्ने बुझाई छ । जुन सत्य हो । तर  ब्रोकरलाई समस्या परेमा ब्रोकरले लगानीकर्ताले किनेको तर पैसा नदिएको शेयर बिक्रि गरिदिन सक्छ । यसो हुँदा लगानीकर्ताले पछि पैसा तिरे पनि अगाडी किनेको शेयर पाउदैनन् । 

अभौतिक धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट कार्यविधि, २०७४ मा यस्तो ब्यबस्था रहेको छ । जसमा राफसाफ सदस्यलाई लिखित तथा विद्युतीय माध्यमबाट आदेश दिई खरिद गरेको धितोपत्रको भुक्तानी नदिएमा सो कारोबारको राफसाफ तथा फछ्र्यौट गर्ने जिम्मेवारी सम्बन्धित राफसाफ सदस्य स्वयंको हुने उल्लेख छ ।

खरिदकर्ता ग्राहकले राफसाफ सदस्यलाई आफूले खरिद गरेका धितोपत्रहरुको भुक्तानी नदिएमा त्यस्ता धितोपत्रहरु जम्मा गर्ने प्रयोजनको लागि मात्र राफसाफ सदस्यले छुट्टै एउटा हितग्राही खाता खोल्न सक्ने ब्यबस्था कार्यविधिले गरेको छ ।ग्राहकले खरिद गरेको धितोपत्रको भुक्तानी T+2 भित्र नदिएमा सदस्य दलाल÷राफसाफ सदस्यले T+3 पश्चात सिडिएससिबाट स्वीकृति लिई उक्त धितोपत्र राफसाफ सदस्यको सो प्रयोजनको लागि खोलिएको हितग्राही खातामा सार्न सक्नेछ । यसरी सारिएको धितोपत्रहरु नेप्सेको स्वीकृतिमा बिक्री गर्न सकिने ब्यबस्था कार्यविधिले गरेको छ । अर्थात् ग्राहकले रकम भुक्तानी नगरेमा ब्रोकरले त्यस ग्राहकले खरिद गरेको शेयर नेप्सेको स्वीकृति लिएर बिक्रि गरिदिन सक्छ  ।

यसरी ब्रोकरले शेयर बिक्रि गर्दा  नाफा हुन गएमा नाफा बराबरको रकम राफसाफ प्रत्याभुती कोषमा राखिने छ । तर घाटा भएमा घाटा भए बराबरको रकम सदस्य दलालले सम्बन्धित ग्राहकबाट असुल गर्ने ब्यबस्था कार्यविधिले गरेको छ ।

ब्रोकर संघका अध्यक्ष मैनालीका अनुसार यो भनेको ब्रोकरको लागि रकम असुल गर्ने अन्तिम विकल्प हो, जुन कहिलेकाही मात्र प्रयोग हुन्छ । ब्रोकरले शेयर बेचिदिने कि नबेचिदिने भन्ने बारे ब्रोकरले नै बजारको अवस्था, शेयरको प्रकृति र रकम हेरेर निर्णय गर्ने उनी बताउछन् । यदि ग्राहकको मनस्थिति नै रकम नतिर्ने देखियो भने मात्र शेयर बेच्ने उनी बताउछन् । शेयर बेच्नु अगाडी यदि त्यो शेयरले भविष्यमा राम्रो रिटर्न दिने वाला छ, वा भाउ बढ्ने सम्भावना छ भने त्यसको विश्लेषण गरेर ब्रोकरले शेयर होल्ड गर्न ओअनी सक्ने उनी बताउछन् । तर ग्राहकले पैसा नतिर्ने मनस्थिति बनाई सकेको तथा धेरै नै घाटा भईसकेको अवस्थामा अझै होल्ड गर्दा घाटा बढ्ने हो भने ब्रोकरले अवस्था हेरेर उक्त शेयर बेच्ने उनको भनाई छ । 

हालसम्म यसको धेरै प्रयोग नभएको तर अब पनि बजारमा सुधार नदेखिएमा भुक्तानी समयमा नआउने समस्या बढ्ने भएकोले यसको प्रयोग बढ्न सक्ने उनी बताउछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved