सामलिङ्ग पावर आईपिओ रिभ्यु: समय अगावै उत्पादन सुरु, अर्को वर्ष लाभांश प्रक्षेपण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2021 | 07:33:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सामलिङ्ग पावर कम्पनी लिमिटेडले कार्तिक ४ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्कासन गर्दै छ । कम्पनीले सर्बसाधारणलाई ७ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । 

जस मध्ये १४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ३६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकि रहेको ६ लाख ७८ हजार ९ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । यस आईपिओमा छिटोमा कार्तिक ८ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा कार्तिक १८ गतेसम्म आवेदन दिन सकिने छ । 

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि दिन सकिने छ ।  शेयर निष्कासनको लागि  नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड बिक्रि प्रबन्धक रहेको छ। 

कम्पनीले यस अघि नै आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरु तथा आयोजना प्रभावित ईलाम जिल्लाका स्थानीयबासीको लागि शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ । 

कम्पनीले इलाम जिल्ला स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी २०७८ आश्विन १ गते देखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ । कम्पनीले आयोजना सम्पन्न गरिसक्नु पर्ने समय २०७८ साल मङ्सिर २ गते रहेपनि २ महिना अगावै व्यापारिक उत्पादन गर्न सफल भएको हो । 

कम्पनी परिचय 

२०७०÷१२÷२३ मा नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा सामलिङ्ग पावर कम्पनी को नाममा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई कारोबार संचालन गर्दै आएको थियो । यस कम्पनीमा आयोजना प्रभावित क्षेत्र (उद्योग प्रभावित क्षेत्र)का बासिन्दा तथा सर्वसाधारणहरुको जनसहभागिता बिस्तार गर्ने हेतुले मिति २०७६÷२÷२४ मा पव्लिक लिमिटेड कम्पनीमा परिणत भई सामलिङ्ग पावर कम्पनी लिमिटडको नाममा कारोबार संचालन गर्दै आएको कम्पनी हो । 

पूजी संरचना सम्बन्धी जानकारी 

कम्पनीको अधिकृत पूँजी पचास करोड रहेको छ । कम्पनीको तत्काल जारी पूँजी पचास करोड रहेको छ ।  कम्पनीको संस्थापकहरुबाट तत्काल चुक्ता पूँजी सैतीस करोड सत्तरी लाख रहेको छ । सर्बसाधारणलाई आईपिओ निष्काशन गरी बाँडफाँट गरे पश्चात् कम्पनीको चुक्ता पूँजी पचास करोड हुनेछ । आईपिओ निष्काशनपछि कम्पनीमा संस्थापक शेयरधनीको ७५.४ प्रतिशत, आयोजना प्रभावित स्थानीयको १० प्रतिशत र सर्बसाधारणको १४.६ प्रतिशत स्वामित्व रहने छ ।

आधाभूत शेयरधनी,संस्थापक,सञ्चालकको विवरण 

कम्पनीको आधारभूत शेयरधनीहरुमा मोहन बिक्रम कार्की, श्याम मिलन श्रेष्ठ,  उर्जा डेभलपर्स प्रा.लि,सि.ई. कन्ष्ट्रक्सन प्रा.लि, गोपाल मानन्धर, शम्भु प्रसाद फयल, तिमिला धाख्वा,  निरज लाल श्रेष्ठ, विवेकमान प्रधान, शंकर प्रसाद शर्मा,  रञ्जना श्रेष्ठ सेढाई, दीपा दिक्षित,  राजेन कुमार शर्मा घिमिरे, राजन बाबु श्रेष्ठ, चन्द्र शेखर सिंह बिष्ठ,  बाल गोपाल वैद्य , ग्रान्डी होल्डिङस, करुणा राई, सुरेन्द्र सिलवाल, अनिल प्रसाद गोर्खाली, प्रद्युम्न प्रसाद गोर्खाली, भानुभक्त पोखरेल, मोहनदास मानन्धर, राजु तुलाधर, मंगला अमात्य, राजन तुलाधर,  र पूर्ण प्रसाद ढकाल, रहेका छन् ।

कम्पनीको संचालकहरुमा विजय बहादुर राजभण्डारी (आधिकारीक प्रतिनिधी–सि.ई.कन्ष्ट्रक्सन प्रा.लि.), श्याम मिलनश्रेष्ठ, गोपाल मानन्धर, मोहनदास मानन्धर (आधिकारीक प्रतिनिधी –उर्जा डेभलपर्स प्रा.लि), शम्भु प्रसाद फयल, मोहन बिक्रम कार्की, भानुभक्त पोखरेल,  मंगला अमात्य, दिनेश श्रेष्ठ (स्वतन्त्र संचालक), र राजु शाक्य (व्यवसायीक संचालक) रहेका छन् । 

कम्पनीका अध्यक्ष विजय बहादुर राजभण्डारी हुन् । उनले कन्ष्ट्रक्सन म्यानेजमेण्टमा स्नातकोत्तर गरेका छन् भने सिभिल इन्जिनियरिङ्गमा स्नातक गरेका छन् । उनी  विगत २८ वर्ष भन्दा बढि समय देखि आवास तथा व्यापारिक कम्प्लेक्स, अस्पताल जस्ता भौतिक संरचनाहरुको व्यवसायिक निर्माणमा निरन्तर रुपमा संलग्न रही निर्माण क्षेत्रमा विषेश दखल रहेको सि.ई कन्ष्ट्रक्सन प्रा.लि. लगायत अन्य कम्पनीहरुको अध्यक्ष तथा संचालकको रुपमा व्यवसायिक निर्माण तथा व्यवस्थापन व्यवसायको क्षेत्रमा ख्याती प्राप्त व्यक्तित्व,उद्यमी तथा ईन्जिनियरको रुपमा रहेका छन्। कम्पनीको सञ्चालकहरुको लागि सञ्चालक समितिको बैठक भत्ता, पारिश्रमिक, दैनिक भत्ता तथा अन्य कुनै सुविधा नरहेको कम्पनीले उल्लेख गरेको छ। 

ब्यबस्थापन विवरण 

कम्पनीको प्रमुख कार्यकारी अधिकृत (ग्रुप सिईओ) भानुभक्त पोखरेल रहेका छन् । उनी विगत ३१ वर्ष देखि जलविद्युत तथा उर्जा क्षेत्रमा आवद्ध छन्। उनी हाल उर्जा डेभलपर्स प्रा.लि लगायतका अन्य ग्रुप कम्पनीहरुमा प्रमुख कार्यकारी अधिकृत रहेका छन्। त्यस्तै कम्पनीको प्रमुख वित्तीय अधिकृत (ग्रुप सिएफओ) रहेका छन् ।  कम्पनीको प्रोजेक्ट म्यानेजर राजेन्द्रराज भारती हुन् । सामलिङ्ग पावर कम्पनी लिमिटेड उर्जा डेभलपर्स प्रा. लि. द्वारा प्रबद्र्घित कम्पनी रहेको हँुदा ग्रुप भन्नाले उर्जा डेभलपर्स प्रा. लि. र सोको सम्बन्धित संगठित संस्थाहरुको समूह जनाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उच्च व्यवस्थापकीय कर्मचारीको ओभरहेड खर्च कटौती गर्दै ग्रुपद्वारा सञ्चालित सम्पूर्ण परियोजनाहरुमा सो खर्च बाँडफाँड गर्न ग्रुप कर्मचारीको अवधारणा अपनाइएको हो। कम्पनीमा १३ स्थायी र ३ करार गरि कुल १६ कर्मचारी रहेका छन् ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा ग्रुप सीइओ पोखरेललाई १३ लाख, ग्रुप सीएफओ भट्टराईलाई ६ लकः ५० हजार र प्रोजेक्ट म्यानेजर भारतीलाई २५ लाख ९ हजार पारिश्रमिक प्रदान गरेको जनाएको छ । 

बीमा विवरण 

कम्पनीले सगरमाथा इन्स्योरेन्समा २० लाख ३५ हजार बराबरको विभिन्न सामाग्रीहरुको अग्नी, भुकम्प जोखिम समुह, हुलदंगा,तथा हड्ताल, दोष पूर्ण कार्य तथा आतंकवाद, हुरी बतास, आँधीवेरी, बाढी तथा जलमग्न, पहिरो जोखिम विरुद्ध बीमा सुरक्षण, एनएलजी इन्स्योरेन्समा १करोद् ७४ लाख बराबरको कर्मचारीहरुको सामूहीक दुर्घटना बीमा, एनएलजी मै १ अर्ब ६६ करोड बराबरको विद्युत उत्पादन स्टेशनको सामान्य जोखिम सम्पत्ती बिमा र एनएलजी मै १ करोड बराबरको तेस्रो पक्षको दुर्घटना बिमा गराएको छ । 

आईपिओबाट प्राप्त हुने पुंजीको उपयोग 

कम्पनीले आईपिओबाट प्राप्त उने सम्पूर्ण रकम कर्जा चुक्ता गर्न प्रयोग गरिने उल्लेख गरेको छ ।  

कर्जा विवरण 

कम्पनीले आयोजना निर्माण गर्न नेपाल एसबिआई बैंक लि.(अगुवा बैंक) बाट ९० करोड ९१ लाख  ८७ हजार ५ सय र सिद्धार्थ बैंकबाट ४८ करोड ९५ लाख ६२ हजार ५ सय रुपैयाँ कर्जा लिएको छ । यो कर्जा कम्पनीले परियोजना निर्माण सम्पन्न पश्चात १२ वर्ष भित्र तिरी सक्नु पर्ने छ ।  कम्पनीले त्रमसिक रुपमा १ करोड ७४ लाख ९६ हजार किस्ता तिर्नु पर्ने छ ।   कर्जाको ब्याज सुरुमा ११.५ प्रतिशत रहेकोमा हाल ९.५ प्रतिशत रहेको छ ।   कम्पनीले हालसम्म कर्जाको किस्ता तिर्न सुरु गरेको छैन ।   आयोजनाले मिति २०७८÷०५÷१७ गतेबाट विद्युतको परिक्षण उत्पादन शुरु गरी मिति २०७८÷०६÷०१ गतेबाट विद्युतको व्यवसायीक उत्पादन शुरु गरिसकेको छ ।

वित्तीय विवरण 

आर्थिक वर्ष ७६/७७ सम्मको लेखापरिक्षण भएको विवरण अनुसार कम्पनीको कुल पूँजी तथा दायित्व र कुल सम्पति १ अर्ब ४४ करोड ७८ लाख रहेको छ  । यस अवधि कम्पनीको खुद नोक्सानी १० लाख ३५ हजार रहेको छ । 

आर्थिक वर्ष ७४/७५, ७५/७६ र ७६/७७ मा कम्पनीको खुद नोक्सानी क्रमश ८३ हजार, १५ लाख ८६ हजार र १० लाख ३५ हजार रहेको थियो ।

कम्पनीले आर्थिक वर्ष ७७/७८, ७८/७९ र ७९/८० मा खुद नाफा क्रमश २ करोड ४५ लाख ८६ हजार, ५ करोड ६७ लाख ६९ हजार र ७ करोड १६ लाख १२ हजार हुने प्रक्षेपण गरेको छ । 

प्रति शेयर आम्दानी र प्रति शेयर नेटवर्थको विवरण 

आर्थिक वर्ष ७४/७५, ७५/७६ र ७६/७७ मा कम्पनीको वास्तविक प्रति शेयर आम्दानी ०.०४ रुपैयाँ ऋणात्मक, ०.५० रुपैयाँ ऋणात्मक र ०.२७ रुपैयाँ ऋणात्मक रहेको थियो । आर्थिक वर्ष ७७/७८, ७८/७९ र ७९/८० मा कम्पनीको प्रति शेयर आम्दानी क्रमश ४.९२ रुपैयाँ, ११.३५ रुपैयाँ, र १४.३२ रुपैयाँ हुने प्रक्षेपण गरिएको छ । 

त्यस्तै आर्थिक वर्ष ७४/७५, ७५/७६ र ७६/७७ मा कम्पनीको वास्तविक प्रति शेयर नेटवर्थ ९९.०८ रुपैयाँ , ९८.८५ रुपैयाँ र ९८.७७ रुपैयाँ रहेको थियो । आर्थिक वर्ष ७७/७८, ७८/७९ र ७९/८० मा कम्पनीको प्रति शेयर नेटवर्थ क्रमश १०३.९९ रुपैयाँ, ११०.३४ रुपैयाँ, र ११४.६७ रुपैयाँ हुने प्रक्षेपण गरिएको छ । 

लाभांश प्रक्षेपण 

कम्पनीले आर्थिक वर्ष ७८/७९ मा २ करोड ५० लाख र आर्थिक वर्ष ८९/९० मा ५ करोड बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । यो क्रमश ५ प्रतिशत र १० प्रतिशत नगद लाभांश हो । 

प्रक्षेपित वित्तीय विवरण कम्पनी आफैले तयार पारेको र सो वित्तीय विवरणहरु पुनरावलोकन गरी ठिक छ भनी प्रधान एण्ड एसोसिएट्सका चार्टर्ड एकाउण्टेन्ट प्रतिश शाक्यबाट प्रमाणित गरिएको कम्पनीले जनाएको छ ।

सार्वजनिक निष्काशन खर्च 

कम्पनीले यस सार्वजनिक निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्टलाई बिक्रि प्रबन्धक चयन गरेको छ । यो सेवा वापत कम्पनीले नेपाल एसबिआईलाई १ लाख २५ हजार भुक्तानी दिने छ । त्यस्तै कम्पनीको आईपिओ पुरै बिक्रि नभएमा एनआईबिएलएस क्यापिटल लिमिटेडले बिक्रि नभएको शेयर खरिद गर्ने गरि  प्रत्याभुति सेवा प्रदान गर्ने सम्झौता गरेको छ । यस वापत कम्पनीले क्यापिटललाई ११ लाख ६८ हजार ५ सय कमिशनको रुपमा दिने छ । 

क्रेडिट रेटिंग विवरण 

 निष्काशन गरिने साधारण शेयरको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ (तेस्रो संशोधन सहित) मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूर रेटिङ्ग गराउनु पर्ने भएकोले क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपाल लिमिटेडबाट इस्यूर रेटिङ्ग गराई  [ICRANP-IR]BB- ” (Pronounced as ICRA NP issuer rating Double B Minus) रेटिङ्ग प्राप्त गरेको छ र सो रेटिङ्गले (Moderate risk of default regarding timely servicing of financial obligation)  जनाउँदछ । ईक्रा नेपाल लिमिटेडले [ICRANP -IR]AAA देखि  [ICRANP-IR]D सम्मको रेटिङ्ग प्रदान गर्दछ जसमा ग्रेड [ICRANP - IR]AAA ले बलियो आधार जनाउँछ र  [ICRANP-IR]D ले कमजोर आधार जनाउँदछ । यसको अर्थ ICRANP-IR] BB को स्थिति ICRANP-IR] BB को भन्दा एक चिन्ह तल रहन्छ । इस्यूर रेटिङ्ग ग्रेड प्रदान गरेको मितिः २०७७÷०९÷०९ र बहाल रहने अवधि २०७८÷०९÷०८ रहेको कम्पनीले जनाएको छ । 

थप विवरण 

यस कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका (साबिक इलाम न.पा र गोदक गा.वि.स) तथा माइजोगमाई गाउँपालिका (साविक सोयाङ र नामसालिङ गा.वि.स. हरु) स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत उत्पादन गर्ने उद्देश्य अनुरुप जलविद्युत आयोजनाको निर्माण, उत्पादन तथा संचालन गर्न नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयबाट मिति २०७५÷०१÷०६ मा विद्युत उत्पादनको अनुमति प्राप्त गरेको हो ।

कम्पनी र नेपाल विद्युत प्राधिकरण बीच मिति २०७३ कार्तिक २६ मा माईबेनी जलविद्युत आयोजना ९.००८ मे.वा. को विद्युत खरिद बिक्री सम्झौता   अनुसार व्यापारिक विद्युत उत्पादन सुरु गर्नुपर्ने मिति २०७८ मंसिर २ गते (तदनुसार नोभेम्वर १८, २०२१) रहेको छ । विद्युत खरिद बिक्री सम्झौता  को तेस्रो संशोधन मिति २०७५ आश्विन ११ गते सम्पन्न भई कुल ९.५१ मे.वा विद्युत खरिद बिक्रीको सम्झौता भएको ।

कम्पनीले निर्माण गरेको माईबेनी जलविद्युत आयोजनाबाट उत्पादन गरिएको विद्युत एक मुष्ठ नेपाल विद्युत प्राधिकरणले खरीद गर्न मञ्जुर गरी कम्पनी र नेपाल विद्युत प्राधिकरण बीच मिति २०७३ कार्तिक २६ मा विद्युत खरीद बिक्री सम्झौता समेत सम्पन्न भैसकेको छ  । साथै उक्त सम्झौताको पहिलो, दोस्रो, तेस्रो,चौथो तथा पाँचौ संशोधन मिति २०७४ आषाढ २७ गते, २०७४ आषाढ २९ गते, २०७५ आश्विन ११ गते र २०७५ कार्तिक २७ गते र २०७५ फाल्गुण २१ गते भएको छ ।

 माईबेनी जलविद्युत आयोजना (९.५१ मे.वा.) को मिति २०७५÷०१÷०६ मा नेपाल सरकार, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयबाट विद्युत उत्पादनको अनुमतिपत्र (वि.वि.वि.०७४÷७५ वि.उ. २२८) प्राप्त भएको हो र उक्त अनुमतिपत्र मिति २११०÷०१÷०५ गते सम्म बहाल रहेको ले ३३ वर्ष वाँकी छ ।

यस माईबेनी जलविद्युत आयोजना निर्माण सम्पन्न भइसक्दा आयोजनाको कूल लागत ९(Interest During Construction (IDC) सहित रु.२,००,००,००,०००÷– हुने र प्रति मेगावाट औसत लागत  (Interest During Construction (IDC) सहित रु. २१,०३,०५,०००÷– हुने अनुमान रहेको छ । 

कम्पनीले पहिचान गरी विकास निर्माण प्रारम्भ गरेको ईलाम जिल्लाको ईलाम नगरपालिका–८ र १० (साविक ईलाम नगरपालिका र गोदक गा.वि.स) र माईजोगमाई गाउँपालिका–४ र ५ (साविक सोयाङ्ग नामसालिङ गा.वि.स. हरु) मा ९.५१ मेगावाट क्षमताको जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न भई मिति २०७८ असोज १ गते (तदनुसार  सेप्टेम्वर १७, २०२१) आयोजना संचालनमा आएकोछ ।

आयोजनाको संक्षिप्त प्राविधिक विवरण 

 आयोजना स्थलः ईलाम नगरपालिका र माईजोगमाई गाउँपालिका, इलाम जिल्ला

 श्रोत नदीः माई खोला

 आयोजनाको किसिमः रन अफ रिभर

 डिजाइन डिस्चार्जः ८.४ घन मिटर प्रति सेकेण्ड

 उत्पादन हुने इनर्जीः ५३.२८१ (Gwh)

 आयोजनाको उत्पादन क्षमताः ९.५१ मेगावाट

 ग्रस हेडः १४७.५० मिटर

 डाइभर्सन बाँधः लम्बाई ५८ मिटर, उचाई ५ मिटर, चौडाई २५ मिटर

 डिस्यान्डीङ्ग वेसिनः ४५ मिटर लम्बाई ५.२५ मिटर चौडाई ६.५ देखि ८.७ मिटर उचाई

 पेनस्टकः लम्बाई २७४ मिटर, व्यास १.५ भएको र १० एमएम देखि १६ एमएमसम्म का ४ वटा

 पावरहाउसः लम्बाई३४ मिटर, चौडाई ११ मिटर, उचाई १३.८ मिटर

 टर्वाइनः संख्या २, प्रति टर्वाइन आउटपुट ४९३० KW

 जेनेरेटरः ५५९७ KVA Per Unit (two unit) 

 आयोजनाको हालको अनुमानित लागतः २ अर्ब (IDC समेत)

नोट: यो रिभ्यु कम्पनीले उपलब्ध गराएको विवरणपत्रको आधारमा तयार पारिएको हो  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved