वाईकोमा नयाँ लगानीकर्ताको प्रवेशपछि बढ्यो सेयर ब्रोकरको खर्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2021 | 12:39:57 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर कारोवारको लागि प्रयोग भईरहेको ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) निर्माण गरेको कम्पनी वाईकोमा नयाँ लगानीकर्ता प्रवेश भएपछि ब्रोकरहरुको खर्च बढेको छ । वाईको कम्पनीमा नयाँ लगानीकर्तको प्रवेश भएपछि अहिले वाईको सोलुसन नामको छुट्टै कम्पनी मार्फत टिएमएस संचालन भईरहेको छ 

हाल ब्रोकरहरुको आफ्नै टिमएमएस नभएकोले ब्रोकरहरुले वाईको कै टिएमएस भाडामा प्रयोग गरिरहेका छन् । यस वापत ब्रोकरहरुले वाईकोलाई मासिक रकम तिर्ने गरेका छन् । यस अघि वाईको कम्पनीको नामबाट ब्रोकरलाई बिल आउने गरेको थियो । अब भने वाईको सोलुसनबाट बिल आउने गरेको छ । बिना सूचना र छलफल नै अचानक वाईको सोलुसनबाट बिल आउँन थालेको र रकमपनि एकतर्फी रुपमा अत्याधिक बढाएको भन्दै ब्रोकरहरु अशन्तुष्ट भएका छन् । 

ब्रोकरहरुले सुरुमा टिएमएसको लागि मासिक ५० हजार तिर्ने गरेका थिए । त्यो रकम ७५ हजार हुदै बढेर १ लाख पुगेको थियो । १ लाख रहेको रकमलाई वाईको सोलुसनले बढाएर १ लाख ८० हजारको बिलिङ गर्न थालेको छ । 

वाईको सोलुसनले अत्याधिक रकम बढाएर बिल पठाउन सुरु गरेपछि विवाद समेत भएको थियो । तर कम्पनीले भने लगानीकर्ताको संख्या बढेकोले सर्भर, स्टोरेज लगायतका पूर्वाधार बढाईएकोले रकम बढाउनु परेको ब्रोकरहरुलाई भन्दै आएको छ । सुरुमा ब्रोकरहरुले पैसा नै नतिर्ने बताएपनि केहि ठूला र प्रभावशाली ब्रोकरहरुले कन्भिन्स गरेपछि ब्रोकरहरुले बढेको मूल्य नै तिर्न थालेका छन् । 

स्रोतका अनुसार नयाँ बनेको वाईको सोलुसनमा केहि ब्रोकरहरुको समेत लगानी छ । उनीहरुले नै बाँकि ब्रोकरलाई कन्भिन्स गरेपछि ब्रोकरहरु पैसा तिर्न राजि भएका हुन् । तर कम्पनीमा लगानी नभएका ब्रोकरहरु भने अझै पनि यसमा सन्तुष्ट हुन भने सकेका छैनन् । 

वाईको सोलुसनकोमा आइएमई समुहको मुख्य लगानी रहेको बताईएको छ  । आईएमई समुहका अध्यक्ष चन्द्र ढकालले आफु धितोपत्र बोर्डको संचालक हुँदा नै यसको चाजोपाजो मिलाएको स्रोत बताउछ । सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा विवादमा आएका उनले वाईको सोलुसनमा आफु प्रत्यक्ष नदेखिने गरि चलाखीपूर्ण रुपमा अर्को कम्पनी मार्फत वाईको सोलुसनमा  लगानी गरेका छन्। आइएमई समुह बाहेक कम्पनीमा सिडीएससीका पूर्व प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताको पनि लगानी रहेको छ । आफु सिडीएसमा रहँदा शेयर बजारको क्षेत्रमा प्रविधि मार्फत विभिन्न सुधार गरेका उनलाई आइटी र ब्यबस्थापनको जिम्मा दिईएको बताईन्छ  । आईएमई समुह र गुप्ता बाहेक कम्पनीमा केहि ब्रोकरहरुको समेत लगानी रहेको स्रोत बताउछ  । यद्यपि अन्य ब्रोकरहरुबाट विरोध नहोस् भनेर प्रभावशाली ब्रोकरहरुलाई थोरै मात्र  स्वामित्व दिईएको एक ब्रोकरले बताए ।  

ब्रोकरहरुले आफ्नै टिएमएस ल्याउनको लागि सबै प्रक्रिया पुरा गरिसकेको बताएका छन् ।  तर नियामक निकायले स्वीकृति नदिंदा आफ्नो टिएमएस चलाउन नसकिएको उनीहरुको भनाई छ ।  वाईको सोलुसनले नै टिएमएसमा आफ्नो एकाधिकार कायम राख्नको लागि नियामक निकायलाई प्रभावमा पारेर ब्रोकरलाई आफ्नै टिएमएस चलाउनबाट रोकेको ब्रोकरहरुको आरोप छ ।   

के के छन् ब्रोकरले ल्याउन खोजेको टिएमएसका विशेषता ?

ब्रोकरहरुको संगठन स्टक ब्रोकर एसोसियनले ब्रोकरहरुको संयुक्त पहलमा १० भन्दा बढी देशमा प्रयोग भईरहेको टिएमएस ल्याउन लागेको हो । संघका अनुसार चुस्त दुरुस्त सेवा प्रवाह गर्न, कारोबारमा निहित जोखिम ब्यबस्थापन गर्न , लगानीकर्ताले बेहोरिरहेका समस्या अन्त्य गर्न, १० भन्दा बढी राष्ट्रमा प्रयोग भईरहेको टिएमएस ल्याउन खोजिएको हो । सम्बन्धित पक्षको उचित सहयोग भए साउन १ देखि यो प्रयोगमा आउने संघले जनाएको थियो । तर हालसम्म पनि उनीहरुले यो प्रयोगमा ल्याउन सकेका छैनन् ।  

 उक्त प्रणालीमा multi assest, multi exchange trading paltform रहेकोले शेयर, डिबेन्चर, बोन्ड, डेरीभेटिभ, करेन्सी लगायत विभिन्न उपकरणहरुको कारोबार एक वा एकभन्दा बढी स्टक एक्सचेन्जमा वा डेरीभेटिभ एक्सचेन्जमा एक साथ गर्न सकिने संघले जनाएको छ । यसको मोबाइल एप पनि रहेकोले लगानीकर्तालाई थप सहज हुने संघले उल्लेख गरेको छ । संघका अनुसार प्रणालीमा stop loss, take profit, after market order, algorithmic वा high frequency trafing जस्ता आदेश ब्यबस्थापन विशेषता छन् । अर्थतन्त्र, बजार तथा सुचिकृत कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेषण गर्न सकिने गरि यस प्रणालीमा तथ्यांकहरु राखिने र लगानीकर्ताले आफ्नो कारोबारको सम्पूर्ण हरहिसाब तथा आफ्नो पोर्टफोलियो तथा नाफा घाटाको अवस्था पनि यसै प्रणाली मार्फत हेर्न पाउने ब्यबस्था रहेको संघले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved