आज पनि नेप्से सूचकमा उच्च वृद्धि, २ दिन मै २ खर्ब ३३ अर्बले बढ्यो लगानीकर्ताको सम्पति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 26, 2021 | 03:57:31 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार शेयर बजार परिसूचक नेप्से ७८.८२ अंकले बढेको छ । आज नेप्से सूचक २.९६ प्रतिशतले बढेर २७५१.०७ को बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका २२७ कम्पनीका १ करोड १४ लाख ८६ हजार १ सय २३ कित्ता शेयर खरिद बिक्रिबाट ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९ सय ३२ रुपैयाँ बराबरको कारोबार भएको छ । जस मध्ये कामना सेवा विकास बैंकको ४४ करोड ७४ लाख बराबरको कारोबार भएको छ भने नबिल बैंकको ३४ करोड ७८ लाख बराबरको भएको छ ।

आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये होटेल तथा टुरिजम समुह ७.५१ प्रतिशत, फाइनान्स समुह ५.६१ प्रतिशत, लगानी समुह ४.५ प्रतिशत र हाइड्रो समुह ४.३३ प्रतिशतले बढेको छ । आज दर्जन बढी कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । आज साना किसान विकास लघुवित्तको शेयर मूल्य भने सर्बाधिक २ प्रतिशतले घटेको छ ।

सोमबार नेप्से सूचक  ८७.६३ अंकले बढेको थियो । आजको वृद्धि संगै नेप्से सूचक २ दिनको अवधिमा १६६.४५ अंकले बढेको छ । २ दिनको अवधिमा बजार पुँजीकरण समेत २ खर्ब ३३ अर्बले बढेको छ । अर्थात् २ दिन मै लगानीकर्ताको सम्पति २ खर्ब ३३ अर्बले बढेको छ । आजको वृद्धि सँगै नेप्सेको कुल बजार पुँजीकरण ३८ खर्ब ५१ अर्ब पुगेको छ । 

किन बढ्यो बजार ?

नेपाल इन्भेष्टर फोरममा निवर्तमान अध्यक्ष छोटेलाल रौनियार बजारमा आएका सबै नकारात्मक कुरा सकिएकोले अब बजारले फेरी नयाँ उचाई लिने बताउछन् । लाभांश खाने सिजन सुरु भएको र यो शेयर बजारको बालीनाली भित्र्याउने बेला भएकोले अब बजार बढ्दो ट्रेण्डमा जाने उनको भनाई छ ।

त्यस्तै राष्ट्र बैंकले ब्याजदरमा केहि कन्ट्रोल गरिदिएको, मौद्रिक नीतिको समिक्षा आउने तयारीमा रहेको, शेयर धितो कर्जाको ४/१२ को सीमा परिमार्जन हुने सम्भावना देखिएको, सरकारलाई पनि ब्याजदर बढ्न नदिन दबाब रहेको, लगायतको कारण बजार अब बिस्तारै सकारात्मक हुने उनी बताउछन् । बजारमा लागेर छोडेकाहरु पनि फेरी बजार प्रवेश गरेको तथा पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताले समेत शेयर खरिद गर्न थालेकोले अब बजारले फेरी नयाँ रेकर्ड बनाउने उनको अनुमान छ । त्यस्तै बिस्तारै भोल्युम बढ्दै गएर बजारमा २० अर्ब बढीको कारोबार देख्न सकिने उनको विश्वास छ ।

त्यस्तै अर्का एक शेयर विश्लेषक पनि अब बजारबाट नकारात्मक संचार सकिएको तथा सेलाएकोले अब बजार फेरी बढ्नुको विकल्प नभएको बताउछन् । अल टाइम हाइ पुगेको बजार निक्कै घटिसकेकोले अब बजार बढेर नयाँ उचाईमा पुग्ने उनको अनुमान छ । ब्रोकरहरुले र चतुर लगानीकर्ताहरुले शेयर खरिद गर्न लागिसकेकोले अब क्रमश बजार र भोल्युम पनि बढ्ने उनी बताउछन् । बजार भि (V) आकारमा रिकभर हुन सक्ने उनको अनुमान छ । यद्यपि आजको जस्तो वृद्धि नभई जसरी बजार बिस्तारै विस्तारै घटेको थियो , सोहि रफ्तारमा विस्तारै विस्तारै बढेमा , त्यस्तो वृद्धि बढी दिगो हुने उनको बुझाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved