
सानिमा बैंक Sanima Bank Limited ले आज कार्तिक १४ गते साधारणसभा गर्दै छ । बैंकले आज कार्तिक १४ गते आइतबार बिहान ११ बजे आम्रपाली ब्याक्वेटमा सभा आह्वान गरेको हो ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १७ प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश गरि कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
त्यस्तै सभामा आर्थिक वर्ष २०७४/७५ को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाब विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्ने , सहायक कम्पनी सानिमा क्यापिटलको वित्तीय विवरण सहित एकिकृत वित्तीय विवरण पारित गर्ने , आर्थिक वर्ष २०७४/७५ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने , संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।
त्यस्तै कुनै बैंक वा वित्तीय वनस्थलाई सानिमा बैंकमा प्राप्ति वा मर्जर गर्ने सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधनको लागि नियामक निकायबाट निर्देशन भई आएमा संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव सभामा पेश हुने छन् ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।