सुपर मादी हाईड्रोपावर कम्पनी लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौतामा २०७८ कार्तिक २८ गते आईतबार हस्ताक्षर भएको हो ।
सम्झौतामा सुपर मादी हाईड्रोपावर कम्पनी लिमिटेडलका तर्फबाट कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगाना तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् । कम्पनीले सर्वसाधारणलाई ३१ लाख ५० हजार कित्ता शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्न लागेको हो ।
कम्पनीले कास्की जिल्लाको मादी नदीमा ४४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ । हालसम्म कम्पनीको ८० प्रतिशत भौतिक कार्य सम्पन्न गरेको र कम्पनीले शेयर निष्काशनको अनुमतीको लागि विद्युत नियमन आयोगमा निवेदन पेश गरिसकेको र तँहाको स्वीकृति पश्चात तुरुन्तै नेपाल धितोपत्र बोर्डमा शेयर निष्काशनको अनुमतीको लागि निवेदन पेश गर्ने कम्पनीका कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगानाले जानकारी दिए।
यस आयोजनामा सानिमा बैंकको नेतृत्वमा विभिन्न आठ वाणिज्य बैंकहरुले रु पाँच अर्ब ७५ करोड लगानी गरेका छन् । कूल ४४ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको लागत रु सात अर्ब ६५ करोड रहेको छ । आयोजनामा सानिमा बैंकले रु एक अर्ब २५ लाख, एनआइसी एशिया बैंकले रु ८५ करोड, एनसिसी बैंकले रु ७५ करोड, सनराइज बैंकले रु ७५ करोड कुमारी बैंकले रु ७० करोड, कृषि विकास बैंकले रु ६० करोड, राष्ट्रिय वाणिज्य बैंकले रु ६० करोड र प्रभु बैंकले रु ५० करोड लगानी गर्नेछन् । बाँकी रकम भने लगानीकर्ताले नै लगानी गर्ने छन्।