नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नाडेप लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज माघ ३ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।
कम्पनीको २० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ८६५.८३ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १०३९ रुपैयाँ रहेको थियो ।
कम्पनीले माघ १४ गते धादिङको नौबिसे एग्रो रिसोर्टमा सभा आह्वान गरेको छ । सभामा लाभांश प्रस्ताव, वित्तीय विवरण, लेखापरीक्षण विवरण, लेखापरीक्षक नियुक्ति लगागायतका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १.०५३ प्रतिशत नगद लाभांश गरि कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुंजी ४० करोड ४८ लाख रहेको छ ।
यद्यपि डिमर्जको कारवाही स्वरुप राष्ट्र बैंकले कम्पनीलाई लाभांश बितरणमा रोक लगाएको छ । साधारणसभाले लाभांश पारित गरेपछि कम्पनीले अर्को कुनै कम्पनीसँग मर्जर वा प्राप्तिमा नगएसम्म लाभांश बितरण गर्न पाउने छैन ।
नाडेपले डिप्रोक्स लघुवित्तसँग गाभिने गरि राष्ट्र बैंकसँग सैदान्तिक स्वीकृति लिएको थियो । तर शेयर संरचना र कर्मचारी समायोजनमा कुरा नमिल्दा मर्जर हुन सकेको थिएँन । अब कम्पनीले अन्य कुनै संस्थासँग मर्ज गर्नु पर्ने हुन्छ । कम्पनीले सभामा अन्य कुनै उपयुक्त स्नास्थासँग मर्जर तथा प्राप्ति गर्ने सम्बन्धमा निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव सभामा लैजादै छ ।
कम्पनी शेयर कारोबार २०७७ पुस १६ देखि नै रोक्का छ ।