नेप्सेमा सुचिकृत कम्पनीको नयाँ वर्गीकरण सार्वजनिक, 'ए' वर्गमा २५ वाणिज्य बैंक (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2022 | 03:13:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सुचिकृत कम्पनीहरुको बर्गिकरण सार्बजनिक गरेको छ। नेप्सेले  धितोपत्र सूचीकरण विनियमावली २०७५ को ब्यबस्था बमोजिम कम्पनीहरुको बर्गिकरण सार्बजनिक गरेको हो  ।  

 साविकमा सूचिकृत संगठित संस्थालाई ए र वि गरी दुईवटामा सीमित गरिएको थियो । २०७५ देखि नेपाल धितोपत्र बोर्डले लागु गरेको नयाँ नियमावलीमा कम्पनीहरुलाई अन्तर्राष्ट्रिय अभ्यासलाई समेत दृष्तिगत गरी ए, वि, जि र जेड गरी चार वर्गमा वर्गिकरण गर्ने ब्यबस्था छ । सोहि अनुसार नेप्सेले  संस्थाको चुक्ता पूँजी, प्रतिफल, नियम परिपालना लगायतको स्थितिलाई हेरी नयाँ बर्गिकरण सार्बजनिक गरेको हो ।  

नेप्सेले गरेको बर्गिकरणमा राम्रो मानिने 'ए' वर्गमा मा २५ वटा बाणिज्य बैंक परेका छन्। एनआईसी एसिया बैंक बाहेक सबै वाणिज्य बैंक ए मा परेका हुन् । एनआईसी भने जेड वर्गमा परेको छ  ।  त्यस्तै ए वर्गमा ४ वटा विकास बैंक, २ वटा फाइनान्स, एउटा लघुवित्त, ३ वटा हाइड्रो र उत्पादन समुहबाट शिवम् सिमेन्ट परेको छ ।  चुक्ता पूँजी कम्तीमा एक अरब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा तीन बर्ष भएको, विगत तीन आर्थिक बर्ष लगातार नाफामा रही लाभांश वितरण गरेको, क्रेडिट रेटिङ्ग संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ्ग प्राप्त गरेको, नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण राखेको, आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरेको कम्पनी ए वर्गमा पर्छन्।

त्यस्तै 'बि' बर्गमा २ वटा फाइनान्स, ४ वटा लघुवित्त, २ वटा हाइड्रो र इन्भेष्टमेन्ट समुहबाट एचआईडिसीएल परेको छ । चुक्ता पूँजी कम्तीमा पचास करोड रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा तीन बर्ष भएको, विगत तीन बर्षमा कम्तीमा दुई आर्थिक बर्षमा नाफा गरेको, क्रेडिट रेटिङ्ग संस्थाबाट कम्तीमा औसत भन्दा एक तह मुनीको रेटिङ्ग प्राप्त गरेको, आर्थिक बर्ष समाप्त भएको छ महिना भित्र बार्षिक साधारण सभा सम्पन्न गरेको, र संचित नोक्सानी नरहेको कम्पनी वर्ग बि मा पर्छन् ।

वर्ग जीमा भने ८ वटा लघुवित्त, ५ वटा जीवन बीमा कम्पनी, ३ वटा निर्जीवन बीमा कम्पनी , १४ वटा हाइड्रो, होटेल समुह अन्तर्गतको चन्द्रागिरी हिल्स, अन्य समुह अन्तर्गत पुनर्बीमा कम्पनी र इन्भेष्ट समुह अन्तर्गतका ४ कम्पनी परेका छन् । सुचिकृत भएको २ वर्ष पुरा नगरेका कम्पनी जी वर्ग मा पर्ने गरेका छन् ।

सबै भन्दा धेरै कम्पनी भने जेड वर्गमा परेका छन् । यस वर्षमा वाणिज्य बैंक समुहबाट एनआईसी बैंक परेको छ । त्यस्तै यस समुहमा १२ वटा विकास बैंक, १६ वटा फाइनान्स, ४० वटा लघुवित्त, ७ वटा जीवन बीमा कम्पनी, १५ वटा निर्जीवन बीमा कम्पनी, २८ वटा हाइड्रो, इन्भेष्टमेन्ट समुहबाट नागरिक लगानी कोष, ट्रेडिङ समुहका ४ वटा कम्पनी, उत्पादन समुहका १८ वटा कम्पनी, होटेल समुहका ४ कम्पनी, र अन्य समुहका २ कम्पनी रहेका छन् ।

नेप्सेको बर्गिकरणले ठुलो अंकको नाफा कमाउदैमा, बढी लाभांश वितरण गर्दैमा कम्पनी उत्कृष्ट हुन्छ भन्ने मानसिकतालाई परिवर्तन गरि लगानीकर्ताप्रति जिम्मेवार बनाउने अपेक्षा गरिएको छ। नेप्सेको बर्गिकरणले सुशासनमा रहन नचाहने कम्पनीहरुलाई लगानीकर्ताको नजरमा गिराउने निश्चित छ। अहिलेको बर्गिकरणले पनि त्यहि बिषयलाई निरन्तरता दिएको सेयर बिज्ञहरुको बुझाई छ।      

कम्पनीको वित्तीय अवस्थाको साथसाथै सुशासनलाई पनि बर्गिकरणले महत्त्व दिएकाले सुचिकृत कम्पनीहरुलाई सेयरधनी बिशेषगरि सर्वसाधारण सेयरधनीप्रति उत्तरदायी बनाउने अपेक्षा गरिएको छ। राम्रा मानिने बाणिज्य बैंकहरु समेत खराब बर्गमा रहनुले वित्तीय अवस्था राम्रो हुँदाहुँदै पनि कुनै एउटा आधारमा कमजोर देखियो भने कम्पनीको बर्गीकरण खस्कन सक्ने संदेश दिएको छ।

वर्गीकरणको पुरा विवरण हेर्न यहाँ क्लिक गर्नु होला । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved