बलेफी हाईड्रोको आईपिओ बाँडफाँडमा चलखेलको आशंका, धितोपत्र बोर्डद्वारा उजुरी लिन समेत अस्विकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2022 | 06:47:03 PM मा प्रकाशित

laxmi  sunrise bank

बलेफी हाईड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओ नियम संगत बाँडफाँड नभएको गुनासो आएको छ। आयोजना प्रभावितले नै बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आईपिओ निष्काशन नियम अनुसार नगरेको गुनासो गरेका छन्।

कम्पनीले सिन्धुपाल्चोकका आयोजना प्रभावितलाई माघ २७ गतेदेखि आईपिओ निष्काशन गरेको थियो । कम्पनीले उद्योग प्रभावित क्षेत्रमा निष्काशन गर्दा कम्पनीको वाताबरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बमोजिमको सिन्धुपाल्चोक जिल्लाको आयोजनाबाट प्रभावित क्षेत्रहरु क्रमशः जुगल गाउँपालिका वडा नं. २, ३ र ४ (साविकको गोल्चे गा.वि.स., गुम्बा गा.वि.स. र पाङताङ गा.वि.स.) का लागि ६० प्रतिशत अर्थात १०,९६,७८२ कित्ता र आयोजनाको १३२ के.भि. प्रशारण लाइनबाट प्रभावित क्षेत्रहरु क्रमशः जुगल गाउँपालिकाको वडा नं. ५ र ७, बलेफी गाउँपालिकाको वडा नं १, ३, ६ र ७ र सुनकोशी गाउँपालिकाको वडा नं. ७ का लागि ४० प्रतिशत अर्थात ७,३१,१८८ कित्ता हुने गरी शेयर निष्कासन गरेको थियो ।

तर आईपिओ बाँडफाँड गर्दा भने ४० प्रतिशततर्फका स्थानीयलाई ६० प्रतिशततर्फको शेयर बाँडफाँड गरिएको भन्दै केहि स्थानीयले आवाज उठाएका हुन्  । बाँडफाँड मोडल अनुसार ४० प्रतिशत तर्फका स्थानीयले अधिकतम १८१ कित्तासम्म शेयर पाउनु पर्ने थियो । तर उनीहरुलाई ६० प्रतिशततर्फको वर्गमा राखेर १५०० कित्ता सम्म शेयर बाँडफाँड गरिएको पाईएकोले बाँडफाँडमा नै चलखेल भएको एक स्थानीयले बिजपाटीलाई बताए। 

उनले यस विषयमा छानविन गरि पाउँ भन्दै नेपाल धितोपत्र बोर्डमा उजुरी दिन जाँदा बोर्डले पनि उजुरी दर्ता गर्न नमानेको गुनासो गरेका छन् । गलत तरिकाले शेयर बाँडफाँड भएको प्रमाण खुल्ने गरि डिम्याट नम्बर सहित उल्लेख गरेर उजुरी दिंदा पनि बोर्डले उजुरी दर्ता गर्न नमानेको उनको  भनाई छ । उनले बिजपाटीसँग भने 'म आज बोर्डमा उजुरी लिएर गएको थिए, सबै प्रमाण सहित उजुरी पत्र तयार गरेको थिए, तर बोर्डले ग्लोबल आईएमई क्यापिटलमा उजुरी दिएर त्यसको लिखित जवाफ समावेश गरेर ल्याए मात्र उजुरी दर्ता गर्न सकिने भनेर फर्काईदियो ।' लगानीकर्ताले उजुरी गर्दा उजुरी नलिने बोर्डले उजुरी नै नलिएपछि बोर्ड समेत प्रभावित भईसकेको शंका उनको छ । जो कोहि लगानीकर्ताले जस्तो सुकै उजुरी लिएर गए पनि बिना शर्त दर्ता हुनु पर्न उनको माग छ । क्यापिटलले गलत काम गरेको र बोर्डले उजुरी लिन नमानेर गलत कामलाई प्रोत्साहन गरेको उनको आरोप छ। 

के भन्छ ग्लोबल आईएमई क्यापिटल ? 

क्यापिटलले प्राप्त भएका कतिपय आवेदनहरु आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु बाहेकका आवेदनकर्ताहरुबाट समेत प्राप्त भएको देखिएको स्वीकार गरेको छ । तर आवेदकहरुको स्थायी ठेगानाको सम्बन्धमा निजहरुले दरखास्त बुझाएको आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा पत्राचार गर्दा प्राप्त भएको विवरण, आवेदकहरु सम्बन्धित आयोजना प्रभावित क्षेत्र तथा १३२ के.भी. प्रसारण लाइनबाट प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु हुन् भनी स्थानिय पालिकाहरुले प्रमाणित गरी पठाएको पत्र, आवेदकहरुले उपलब्ध गराएको सम्पर्क नं. मा सम्पर्क गरी तथा सिडिएस एण्ड क्लिरियङ्ग लि. सँग समेत आवश्यक समन्वय गरी सम्भव भएसम्म तोकिएको आयोजना प्रभावित क्षेत्र तथा १३२ के.भी. प्रसारण लाइनबाट प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु भएको यकिन गरी शेयर बाँडफाँट गरेको जनाएको छ ।

क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकालले क्यापिटलले सहि लक्षितवर्गमा सोहि स्थानका लगानीकर्ताले नै शेयर पाउन् भनेर क्यापिटलले हरसम्भव प्रयास गरेको बताए । सिस्टमले सस्पेक्टमा राखेका आवेदकलाई पुन: भेरिफाई गरेको र प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु हुन् भनी स्थानिय पालिकाहरुले प्रमाणित गरी पठाएको पत्र, आवेदकहरुले उपलब्ध गराएको सम्पर्क नं. मा सम्पर्क गरी तथा सिडिएस एण्ड क्लिरियङ्ग लि. सँग समेत आवश्यक समन्वय गरी शेयर बाँडफाँड गरिएको उनले बताए । आश्वा सदस्य अर्थात् बैंकबाट आएका आवेदनको हकमा भने बैंक आफै जिम्मेवार हुनु पर्ने उनको भनाई छ । २ थरि लक्षित वर्ग भएकोले आवेदन फारम नै २ रंगको बनाईएकोले सहि आवेदकलाई सहि आवेदन फारम बैंकले नै दिनु पर्ने जिम्मेवारी रहेको उनले बताए। यसका साथै स्वयं आवेदकले नै आफ्नो क्षेत्रको मात्र शेयरमा आवेदन दिनु पर्ने विषय स्वअनुशासनको विषय भएको उनी बताउछन् । यद्यपि बैंकबाट आएका आवेदनलाई पनि क्यापिटलले पुन: भेरिफाई गरेको उनको भनाई छ । 

क्यापिटलका अनुसार उक्त शेयरको बाँडफाँट गर्ने क्रममा सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुलाई बिक्री गरिएको शेयरको हकमा माग भन्दा बढी १.३३ गुणा र १३२ के. भि. प्रसारण लाइनबाट प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुलाई बिक्री गरिएको शेयरको हकमा माग भन्दा बढी १.९१ गुणा दरखास्त प्राप्त भएको थियो  । जसअनुसार आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाका हकमा सिन्धुपाल्चोक जिल्लाको विभिन्न ९ वटा संकलन केन्द्रहरु तथा आस्वा प्रणाली मार्फत आवेदन दिने ४,५७४ जना आवेदकहरुबाट १४,५५,४१० कित्ता शेयरका लागि आवेदन प्राप्त भएकोमा ९ जना आवेदकहरुबाट प्राप्त ७६० कित्ता शेयरको लागि प्राप्त आवेदन रीतपूर्वक प्राप्त भएको नदेखिएकोले सो लाई रद्द गरिएको गरी ४,५६५ जना आवेदकहरुबाट प्राप्त १४,५४,६५० कित्ता शेयरलाई बाँडफाँटमा समावेश गरिएको हो ।

त्यसैगरी १३२ के.भि. प्रसारण लाइनबाट प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुको हकमा सिन्धुपाल्चोक जिल्लाको विभिन्न ९ वटा संकलन केन्द्रहरु तथा आस्वा प्रणाली मार्फत आवेदन दिने ७,३२८ जना आवेदकहरुबाट कूल १४,०५,१० कित्ता शेयरका लागि आवेदन प्राप्त भएकोमा ५० जना आवेदकहरुबाट प्राप्त ३,९५० कित्ता शेयरको लागि प्राप्त आवेदन रीतपूर्वक प्राप्त भएको नदेखिएकोले सो लाई रद्य गरी ७,२७८ जना आवेदकहरुबाट प्राप्त १४,०१,१५० कित्ता शेयरलाई बाँडफाँटमा समावेश गरिएको हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved