आज शुक्रबार पनि शेयर कारोबार हुने भएको छ । नेप्से सञ्चालक समितिको २०७९/०१/२१ गतेको बैठकले नेपाल सरकारको निर्णयानुसार नै कार्यालय समय संचालन गर्ने र जेठ महिनादेखि सोमबारदेखि शुक्रबारसम्म शेयर कारोबार संचालन गर्ने निर्णय गरे अनुसार आज पहिलो पटक शुक्रबार पनि शेयरकारोबार हुन लागेको हो।
नेप्सेले यस अघि नै सम्पूर्ण ब्रोकरहरुलाई सोमबारदेखि शुक्रबारसम्म शेयर कारोबार संचालन गर्ने ब्यबस्था गर्न निर्देशन दिईसकेको छ ।
नेप्सेले ब्रोकरहरुलाई पठाएको पत्रमा भनिएको थियो 'उपरोक्त सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७९ बैशाख २३ मा बसेको बैठकले २०७९ जेठ १ गते देखि लागु हुने गरी बिहान ९:३० बजे देखि साँझ ५:३० बजे सम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हुदाँ सोहि अनुरुप सोमबार देखि शुक्रबार सम्म धितोपत्रको कारोबार गर्ने व्यवस्था मिलाउन नेप्से सञ्चालक समितिको मिति २०७९/०१/२१ गतेको निर्णयानुसार अनुरोध छ ।'
नेप्से शुक्रबार पनि शेयर कारोबार गर्ने निर्णय गरेको जानकारी लगानीकर्ता र सम्पूर्ण सरोकारवालालाई समेत सुचना मार्फत गराएको थियो ।