
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा किसान लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज जेठ २० गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज कम्पनीको मूल्य समायोजन भएको हो ।
कम्पनीको २० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १ हजार ८ रुपैयाँ ३३ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १२१० रुपैयाँ थियो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि आज जेठ २० गते बुक क्लोज गर्ने निर्णय गरेकोले जेठ १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीले जेठ २८ गते शनिवार धनगढीमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।
कम्पनीले २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सभामा लैजाने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजी ३९ करोड २८ लाख ८ हजार ७ सय ७५ रुपैयाँ २५ पैसा को २० प्रतिशतले हुन आउने ७ करोड ८५ लाख ६१ हजार ७ सय ५५ रुपैयाँ ५ पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
यो कम्पनी साविकको एनआरएन लघुवित्त हो ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:
क) साधारण प्रस्तावहरु
१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूको आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
२) लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ आषाढ मसान्तको वासलात र मिति २०७७/०४/०१ देखि २०७८/०३/३१ सम्मको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्ने ।
३) कम्पनी ऐन २०७३ को दफा १११ अनुसार आ.व. २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
४) मनोनित संचालकको अनुमोदन गर्ने सम्बन्धमा ।
विशेष प्रस्तावहरु:
१. सञ्चालक समितिको प्रस्तावबमोजिम आ.व. २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजी रु.३९,२८,०८,७७५/२५ को २० प्रतिशतले हुने रकम रु. ७८५६१७७५/०५ बोनस शेयर वितरणको प्रस्ताव पारित गर्ने ।
२. बोनश शेयर वितरण र थप सर्वसाधारणलाई शेयर निष्कासन गर्नुपर्ने भएकाले प्रबन्धपत्रको दफा ६ को उपदफा 'ख' र 'ग', दफा ८ को 'ङ' र नियमावलीको दफा २७ (२) संशोधन गर्ने र थप सर्वसाधारणको लागि शेयर निष्कासन गर्नेसम्बन्धी उपदफा 'झ' थप गर्ने ।
३. संस्थाले अन्य लघुवित्त संस्थाहरु गाभ्ने/गाभिने वा प्राप्ति (एक्विजिसन)सम्बन्धी प्रक्रिया अगाडि बढाउन र तत् सम्बन्धित सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।
४. वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सिलसिलामा सम्बन्धित निकायहरुबाट आवश्यक निर्देशन प्राप्त भएमा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी
प्रदान गर्ने ।
५. संस्थाको केन्द्रीय कार्यालय सार्ने सम्बन्धमा ।