माग पुरा गरि अनसनरत तिलक कोइरालाको जीवन रक्षा गर्न धितोपत्र बोर्ड कर्मचारी युनियनको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2022 | 01:19:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले  लगानीकर्ताका यथोचित मागहरु यथाशीघ्र सम्बोधन गर्न र आमरण अनसनमा बसेका लगानीकर्ताको जिउधनको सुरक्षा गर्न माग गरेको छ । युनियनले आज एक विज्ञप्ति जारी गर्दै बोर्ड आफैले पूरा गर्न सक्ने लगानीकर्ताका यथोचित मागहरु यथाशीघ्र सम्बोधन गर्न बोर्ड नेतृत्व समक्ष र अन्य मागहरु सम्बोधन गर्न नेपाल सरकार समक्ष अनुरोध गरेको हो।

साथै युनियनले आमरण अनसनमा बसेका लगानीकर्ता तिलक कोइरालाको जिउधनको सुरक्षा गर्न एवं बोर्डका कर्मचारीहरुलाई सुरक्षीत कार्यस्थलको प्रत्याभूत गराउन माग गरेको छ। लगानीकर्ताहरुले नीतिगत सुधारको माग राख्दै आमरण अनसनसम्म बस्न पर्ने अवस्था दुर्भाग्यपूर्ण रहेको समेत युनियनले उल्लेख गरेको छ । 

युनियनका अध्यक्ष राजु बहादुर जिसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ' गत बर्ष कोभिड महामारी पश्चात निरन्तर बढ्दै गई नेपालको पूँजी बजारको इतिहाँसमा नै उच्च अंक बनाएको धितोपत्रको दोस्रो बजार परिसूचक वर्तमान समयमा देखिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक तथा राजनैतिक कारणहरुबाट अछुतो रहन सकेन र छोटो समयमा नै बजारले खबौंको बजार पूँजीकरण गुमाउन पुग्यो । यस बिचमा लामो समयसम्म नेपाल धितोपत्र बोर्डको नेतृत्व नभएर बजार सम्बद्ध नियमित कार्यमा समेत अवरोध रहयो । हाल बोर्डले नयाँ नेतृत्व पाएको र तत्पश्चात देखिएका तदारुकताहरुले काला बादलको बिचमा रहेको चाँदीका घेराका रुपमा यस युनियनले लिएको छ । यसै बिचमा धितोपत्र बजार सुधारको माग राख्दै लगानीकर्ताहरुबाट निरन्तर खबरदारीका साथ भैरहेको आन्दोलन र लागानीकर्ता तिलक कोईरालाले बोर्ड कार्यालय परिसर बाहिर जारी राख्नु भएको आमरण अनसनलाई नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले अत्यन्तै गम्भिरता पूर्वक लिएको छ। लगानीकर्ताहरुले नीतिगत सुधारको माग राख्दै आमरण अनसनसम्म बस्न पर्ने अवस्था दुर्भाग्यपूर्ण हो । लगानीकर्ताहरुबाट राखिएका कैयन मागहरु बोर्डको कार्यक्षेत्र भन्दा बाहिर समेत रहेको हुँदा वित्तीय बजारका अन्य नियमनकारी निकाय र नेपाल सरकार अर्थ मन्त्रालय समेतको पहलकदमीमा मात्रै सम्बोधन हुन सक्ने देखिन्छ । बोर्ड आफैले पूरा गर्न सक्ने लगानीकर्ताका यथोचित मागहरु यथाशीघ्र सम्बोधन गर्न बोर्ड नेतृत्व समक्ष र अन्य मागहरु सम्बोधन गर्न नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दै आमरण अनसनमा बस्नु भएका लगानीकर्ताको जिउधनको सुरक्षा गर्न एवं बोर्डका कर्मचारीहरुलाई सुरक्षीत कार्यस्थलको प्रत्याभूत गराउन यस यूनियन निर्णयानुसार जोडदार माग गर्दछ।'

विभिन्न १९ बुँदे माग राखेर लगानीकर्ता तिलक कोइराला असार १ गतेदेखि बोर्डको कार्यालय अगाडी आमरण अनसनमा छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved