
आज आइतबार शेयर कारोबार नहुने भएको छ । सरकारले आज आइतबार सार्वजनिक बिदा दिएकोले आज नेपाल स्टक एक्सचेन्ज नेप्से पनि बन्द भई शेयर कारोबार नहुने भएको हो ।
इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको हो । मुस्लिम आयोगको अनुरोधमा असार २६ गते आइतबार बकर इदको अवसरमा बिदा दिईएको गृह मन्त्रालयले जनाएको छ ।
बकर इद मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो चाड मानिन्छ । यो पर्बलाई बकर इद अर्थात इद उल अज्हा पनि भनिन्छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने गरिन्छ ।
इस्लाम धर्मावलम्बीहरू बिहानै सफा भइ नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । त्यसपछि आपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ । ईदको अवसरमा काठमाडौंको दरबारमार्गमा रहेको नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बी भेला भएका छन् ।
तीन दिनसम्म मनाइने यो पर्वमा खसी भेडा राँगा लगायतको बली दिएर मासुलाई तीन भाग लगाई एक भाग आफूलाई, एकभाग आफन्तलाई र बाँकी रहेको एक भाग दिनदुखीलाई दिने गरिन्छ ।