
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दोर्दी खोला जलविद्युत कम्पनीको शेयर सुचिकृत भएको छ । आज कम्पनीको १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता शेयर सुचिकृत भएको हो ।
आज शेयर सुचिकृत भएसंगै भोली बिहिबारबाट नेप्सेमा कम्पनीको कारोबार सुचारु हुने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०२.३९ रुपैयाँदेखि ३०७.१७ रुपैयाँसम्मको रेन्ज तोकेको छ । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने छन् । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । बिहिबारको स्पेसल पी ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । कम्पनीको DORDI सिम्बलबाट कारोबार हुने छ ।
कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गते गतेसम्म सर्बसाधारणलाई २१ लाख ९५ हजार ५ सय ९ कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ३ प्रतिशत अर्थात् ६५ हजार ८ सय ६५ कित्ता शेयर कम्पनीका कर्मचारीलाई छुट्याईएको थियो भने ५ प्रतिशत अर्थात् १ लाख ९ हजार ७ सय ७५ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको २० लाख १९ हजार ८ सय ६९ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन् ।
कम्पनीले लमजुङको दोर्दी गाउँपालिकामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।