
महालेखापरिक्षकको कार्यालयले हाल कायम रहेका ५० शेयर कारोबार माथि छानविन गर्न भनेको छ । उनन्साठीऔँ वार्षिक प्रतिवेदन पेश गर्दै महालेखाले ५० शेयर ब्रोकरले पुजीगत लाभकार असुल नगरेको देखिएकोले उनीहरुको ५ वर्षको कारोबार छानविन गरि कर असुल गर्न भनेको हो ।
महालेखाले भनेको छ 'पुँजीगत लाभकर - आयकर ऐन, २०५८ को दफा ४७क(४) मा उपदफा (१) बमोजिम गाभिई निःसर्ग भएको निकायमा कायम रहेका शेयरधनीहरूले गाभिएको दुई वर्षभित्र आफ्नो शेयर बिक्रीको माध्यमबाट निःसर्ग गर्दा त्यसरी निःसर्ग भएको शेयरमा भएको लाभमा पुँजीगत लाभकर नलाग्ने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार गाभिई निःसर्ग भएको निकायका साविकका शेयरधनीहरूले मात्र छुट सुविधा प्राप्त गर्नुपर्ने कानूनी व्यवस्था देखिन्छ। नेपाल धितोपत्र विनिमय बजार लिमिटेडअन्तर्गत रहेका ५० धितोपत्र दलाल व्यावसायीले गाभिई निःसर्ग भएको निकायको साविकका शेयरधनीको शेयर बिक्रीमा मात्र पुँजीगत लाभकर छुट दिनुपर्नेमा गाभिए पश्चात्को निकायको सबै शेयरधनीको कारोबारमा पुँजीगत लाभकर छुट दिएको देखियो। नेपाल धितोपत्र विनिमय बजार लिमिटेड र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले उक्त शेयर कारोबारमा हुने पुँजीगत लाभकर छुटको स्पष्ट अभिलेख राख्नु पर्ने र सो अभिलेख राख्ने प्रयोजनका लागि छुट्टै फारमको व्यवस्था भएकोमा उक्त अभिलेख माग गर्दा कुनै पनि धितोपत्र दलाल व्यवसायीबाट अभिलेख प्राप्त भएन। अतः ऐनको दफा ४७क(४) अनुसार पुँजीगत लाभकर असुल नगरेको सम्बन्धमा ५० धितोपत्र दलाल व्यवसायीको २०७३।७४ देखि २०७७।७८ सम्मको कारोबारको छानबिन गरी कर निर्धारण हुनुपर्दछ।'