हकप्रद निष्काशन गर्ने अपर तामाकोशीको निर्णय, चुक्ता पुँजी २१ अर्ब पुग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2022 | 08:18:05 PM मा प्रकाशित

laxmi  sunrise bank

अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीको आज बिहिबार बसेको संचालक समितिको बैठकले हाल कायाम चुक्ता पुँजीको १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । 

अब कम्पनीको उक्त प्रस्ताव आगामी साधारणसभामा पेश हुने छ । साधारणसभाले पारित गरेपछि विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।

हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रहेको छ । कम्पनीमा विद्युत प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत, तथा नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको समान २ प्रतिशत लगानी छ । त्यस्तै कम्पनीमा आयोजना प्रभावित स्थानीयको १० प्रतिशत र आम सर्बसाधारणको १५ प्रतिशत लगानी छ । बाँकि लगानी भने कर्मचारी संचय कोषका संचयकर्ता, आयोजनामा कर्जा लगानी गरेका संस्थाका कर्मचारी र विद्युत प्राधिकरणका कर्मचारीको छ । 

कम्पनीका अध्यक्ष कुलमान घिसिङले १ वर्ष अगाडी तामाकोशीले हकप्रद निष्काशन गरेर ऋण तिर्नु पर्ने र कम्पनीमा ऋण घटाउदै इक्विटी बढाउनु पर्ने बताएका थिए । उनले हकप्रद निष्काशन गरेर कम्पनीको ऋण तिर्न सकेको खण्डमा बिजुली बिक्रिबाट हुने आम्दानीले राम्रो प्रतिफल प्रदान गर्न सकिने उल्लेख गरेका थिए  कम्पनीले ७७/७८ को साधारणसभा आह्वान गरेको छैन 


हाल कम्पनीले ४५६ मेगावाटको अपार तामाकोशी आयोजना सम्पन्न गरि उत्पादन गरिरहेको छ।त्यस्तै कम्पनीले रोल्वालिङ खोलामा २२ मेगावाटको अर्को आयोजना निर्माणको तयारी गरिरहेको छ  । रोल्वालिङ छोरोल्पा हिमतालबाट निस्केको पानी बग्ने खोला हो ।  रोल्वालिङ खोलाको पानी माथिल्लो तामाकोशीको बाँधस्थलभन्दा माथि लगेर खसाइने र त्यसबाट २२ मेगावाट विजुली उत्पादन गर्ने कम्पनीको तयारी छ।

तामाकोशीको ऋण तिर्न र रोल्वालिङ खोला आयोजना निर्माण गर्न कम्पनीले हकप्रद निष्काशन गर्ने चर्चा बजारमा थियो । कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गरेमा कम्पनीको चुक्ता पुँजी २१ अर्ब नाघ्ने छ 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved