
 2mb (1).gif)
गरिमा विकास बैंकको संस्थापक सेयर लिलाम बढाबढ मार्फत बिक्रि हुने भएको छ। १५ औं साधारणसभाको निर्णय तथा नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार नै सेयर लिलाम बढाबढ मार्फत संस्थापक सेयर बिक्रि गर्न लागिएको बैंकले जनाएको छ।
बैंकको २०७८ साल चैत १८ गते सम्पन्न १५ औं बार्षिक साधारणको निर्णय तथा नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार नेपाल धितोपत्र बोर्डमा दर्ता भए पश्चात सँस्थापक समुहको एक लाख एक ९ हजार ८११ कित्ता सेयर लिलाम बढाबढको माध्यम बाट बिक्रि हुन लागेको हो।
लिलाम बढाबढमा राखिएको उक्त सँस्थापक सेयरमा गरिमा विकास बैंकका साविकका संस्थापक सेयरधनिहरुले मात्र आबेदन दिन पाउनेछन्। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ कायम गरिएकोले इच्छुक साबिकका संस्थापक सेयरधनीले सो मूल्य भन्दा बढी कबुल गरेर आवेदन दिनु पर्ने छ।
आवेदन दिंदा न्युनतम १०० कित्ता र १० ले भाग जाने गरि अधिकतम पुरै कित्ताको लागि समेत आवेदन दिनु पर्ने छ। ५ लाख भन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो स्थायी लेखा नं. आवेदन फाराममा उल्लेख गर्नु पर्नेछ ।
इच्छुक साविकका संस्थापक सेयरधनीले यहि साउन २६ गतेदेखि भदौ ३१ गते शुक्रबार अपरान्ह १ः३० बजेभित्र निष्काशनका लागि तोकिएको संकलन केन्द्रहरुमा दर्ता भई सक्नुपर्नेछ। एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौं, गरिमा विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौं तथा शाखा कार्यालयहरुः सभागृहचोक पोखरा, वालिङ्गस्याङ्जा, बेनीम्याग्दी, नारायणगढचितवन र मलंगवासर्लाहीलाई बोलपत्र आवेदन फाराम पाइने र बुझाउने स्थान (संकलन केन्द्र) तोकिएको छ।
सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ । बैंकले जारी गरेको सूचनाअनुसार एकै व्यक्ति वा कम्पनीले शेयर खरीदका लागि एउटा मात्र बोलपत्र मार्फत आवेदन दिनुपर्नेछ । साथै बोलपत्र फाराम लाहाछाप लगाई शिलबन्दी गरिएको हुनुपर्नेछ।
बोलपत्र आवेदन फाराममा आफुले लिन चाहेको शेयर संख्या तथा आफूले कबोल गरेको प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिईनेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ । धेरै केरमेट भई कबोल गरेको शेयर संख्या, प्रति कित्ता शेयर मूल्य वा जम्मा रकम नबुझिने भएमा त्यस्तो बोलपत्रलाई मान्यता दिईने छैन । कबोल गर्ने दर दशमलव पछिको दुई अंक मात्र मान्य हुनेछ ।
यो शेयर खरिद गर्ने शेयरधनिले खरिद गरेको शेयरमा समेत आर्थिक बर्ष २०७८/७९ को वित्तिय विवरण को आधारमा अब हुने १६ औ साधारण सभाबाट वितरण हुने लाभांश समेत पाउने बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्ले जनाएका छन्। उनकाअनुसार यो शेयर लिलाम बिक्री गरेर शेयर बाड्फाड गरिसकेपछि मात्र आगामि साधारण साधारण सभा हुनेछ ।