एचआईडिसीएललाई हकप्रदमा नबिकेको शेयर बेच्न हम्मेहम्मे, १०० रुपैयाँमा शेयर किन्ने पनि भएनन्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2022 | 09:14:27 AM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) लाई हकप्रदमा बिक्रि नभएको संस्थापक शेयर बेच्न हम्मे हम्मे परेको छ । प्रति कित्ता १०० रुपैयाँमा पनि शेयर खरिद गर्ने आवेदक नभेटिएपछि कम्पनीलाई शेयर बिक्रि गर्न हम्मेहम्मे परेको हो । 

कम्पनीले पछिल्लो पटक साउन १५ गतेदेखि साउन २९ गतेसम्म २ करोड ७८ लाख ९ हजार ४ सय ८०  कित्ता संस्थापक शेयर लिलाममा ल्याएको थियो ।  तर उक्त लिलामीको शेयरमा केवल ४६ लाख ४ हजार ९ सय ८५ कित्ता शेयरको लागि आवेदन परेको छ । उक्त लिलामीको कट अफ मूल्य १०० रुपैयाँ नै कायम भएको छ ।  अर्थात् १०० रुपैयाँमा आवेदन दिने सबैले शेयर पाएका छन्।  लिलामीको शेयरमा न्युनतम १०० रुपैयाँ कबुल गर्नु पर्ने ब्यबस्था रहेकोमा १०० रुपैयाँ र सो भन्दा माथि कबुल गर्ने सबैले शेयर पाएका छन् । 

कम्पनीले बाँकि रहेको शेयर फेरी लिलाममा ल्याउने छ । कम्पनीले २ करोड ३२ लाख ४ हजार ४ सय ९५ कित्ता संस्थापक शेयर फेरी लिलाममा ल्याउने छ ।   यस शेयरमा जो कोहि लगानीकर्ताले आवेदन दिन पाउने भएपनि यो कम्पनीको संस्थापक् शेयर हो ।   कम्पनीको संस्थापक शेयर HIDCLP सिम्बलबाट र साधारण शेयर HIDCL सिम्बलबाट कारोबार हुने छ । कम्पनीले संस्थापक शेयरधनीहरुको शेयर नयाँ संकेत अनुसार संस्थापक शेयरधनीको खातामा जम्मा भईसकेको जनाएको छ । 

कम्पनीका अनुसार बोलकबोल प्रकृयाद्वारा बिक्री गरिएको शेयर खरिद गर्ने शेयरधनीहरु समूह “क” को उप-समूह “क-२” अन्तर्गतको “अन्य संस्थापक” उप-समूहमा रहनेछन्। उक्त शेयर बाँडफाँट भई नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएपश्चात् “HIDCLP" सङ्केतमा कारोबार गर्न योग्य हुने छ र प्रबन्धपत्रको दफा ६ को खण्ड (छ) मा भएको व्यवस्था अनुसार नेपाल स्टक एक्सचेञ्ज मार्फत सो शेयर खरिद गर्ने शेयरधनीहरु समेत समूह “क” को उप-समूह “क-२” अन्तर्गतको “अन्य संस्थापक” उप-समूहमा नै रहनेछन्।

कम्पनीले १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन गरेको थियो। कम्पनीमा अर्थ मन्त्रालयको २० प्रतिशत, उर्जा मन्त्रालयको १० प्रतिशत, कानुन मन्त्रालयको १० प्रतिशत, महालेखा नियन्त्रक कार्यालयको १० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १० प्रतिशत, नागरिक लगनी कोषको १० प्रतिशत र सर्बसाधारणको २० प्रतिशत शेयर लगानी रहेको छ । तर कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा कोषले  हकप्रद नलिएका हुन् । यी ३ संस्थासंग कम्पनीको कुल ३० प्रतिशत शेयर स्वामित्व रहेको छ । उनीहरुले खरिद गर्न अस्विकार गरेपछि ३ करोड ३० लाख कित्ता शेयर बिक्रि नभएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved