'फेक स्टोरी' तयार गरेर हमालले यसरी तर्साउँछन् कर्मचारी, धितोपत्र बोर्डमा त्राहीमाम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2022 | 01:13:31 PM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुरको खुमलटारस्थित धितोपत्र बोर्डको कार्यालयमा अध्यक्ष रमेश हमालको निरंकुशताले कब्जा जमाउँदै गएको छ । सञ्चारमाध्यमहरूमा आफू प्रतिकूल समाचार आउन थालेपछि हमालले त्यहाँका कर्मचारी कसैलाई पनि बाहिरी मान्छे नभेट्न निर्देशन दिने गरेका छन् भने केही गोजीका बाहेक त्यहाँ पुग्ने अन्य पत्रकारको निगरानी पनि हमालले राम्रैसँग गर्ने गरेका छन् ।  

कर्मचारी तर्साउन हमालले फेक स्टोरी समेत बनाउने गरेका छन् । दुई साता अगाडि हमालले कार्यालयभित्र अपरिचित मान्छे छिरेर कफी बनाएर खाएको भन्दै सुरक्षा गार्डलाई झपारेका थिए । 'को छिर्यो यहाँ ? कसले छिर्न दियो ? कार्यालय चाहारेको छ, कफीसमेत बनाएर खायो । अपरिचित मान्छेलाई किन भित्र आउन दिएको ?' हमालले सुरक्षा गार्डलाई बोलाएर यसरी झपारेका थिए ।

जबकी त्यो दिन कोही पनि अपरिचित व्यक्ति कार्यालय नछिरेको एकजना कर्मचारीले बिजपाटीसँग दाबी गरेका छन् । करीब १० दिन अगाडि बिजपाटीकर्मी धितोपत्र बोर्डको कार्यालय पुग्दा त्यहाँका गार्डहरु भन्दै थिए, 'सर यहाँ दर्ता गरेर मात्र माथि जान मिल्दैन, हाकिमको आदेश छ, कसलाई भेट्न आउनु भएको हो, उहाँको अनुमतिबिना तपाईं छिर्नुभयो भने हाम्रो जागिर जान्छ ।'

गार्डहरूको कुरा सुन्दा यस्तो लाग्थ्यो हमालले राम्रैसँग झपारेका रहेछन् । जबकी त्यसअघि सुरक्षा गार्डहरूले हामीलाई कहिल्यै त्यस्तो व्यवहार गरेका थिएनन् ।

'यहाँ केही दिन अघि एक जना मान्छे कार्यालय छिरेर सबै कोठा चाहारेछ, अनि आफैं कफी बनाएर पिएछ, त्यसपछि हाकिम (हमाल)ले सबै प्यासेजमा सीसी क्यामेरा राख्नुभएको छ । हामीलाई पनि यहाँ जसलाई भेट्न आएको हो उसको अनुमति बिना कसैलाई भित्र नपठाउन भन्नुभएको छ,' एक गार्डले भने ।

हमाल बोर्डको अध्यक्ष भएर आएपछि अहिले धितोपत्र बोर्ड कुनै सिरियस क्राइम हेर्ने राज्यको निकाय जस्तै बनेको छ । हमालले चारैतिर सीसी क्यामेरा राख्नकै लागि अपरिचित मान्छे र कफीको फेक स्टोरी तयार गरेका थिए । सेबोनमा पहिला १२ वटा क्यामेरा थिए हमालले ३५ बनाएका छन् ।

त्यहाँको कुनै कर्मचारीलाई भेट्न कोही बाहिरी व्यक्ति अथवा पत्रकार पुग्यो भने हमालले तत्काल ती कर्मचारीलाई बोलाएर ब्रिफिङ लिने गर्छन् । 'कोही व्यक्ति वा पत्रकारलाई भेट्ने कर्मचारीलाई बोलाएर हमाल सरले त्यस बारे ब्रिफिङ लिइहाल्नुहुन्छ,' सेबोनका एक कर्मचारीले भने, 'मान्छे भेटेपिच्छे जवाफ दिएर बस्नु भन्दा बरु हाम्रो कोठा कोठामा क्यामेरा राखिदिए हुन्थ्यो र त्यही हेरेर बसे हुन्थ्यो ।'

यतिमात्र नभई आफ्नो बारेमा क्रिटिकल समाचार लेख्ने पत्रकार र मिडिया हाउसका कसैसँग भेट नगर्न हमालले उर्दी नै जारी गरेका छन् । ती कर्मचारीले आफ्नो फोनसमेत ट्यापिङ भएको हुनसक्ने भन्दै बिजपाटीसँग चिन्ता पनि व्यक्त गरे ।

धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति पाएपछि हमाल गैर-आवासीय नेपालीबाट पुनः नेपाली नागरिक भएका थिए । उनको नागरिकताबारे अझै पनि विवाद छ ।

नियुक्ति पाएको छ महिनामा हमालले सेबोनजस्तो एउटा सार्वजनिक निकायलाई निजी कम्पनीको रूपमा बदलेका छन् । अध्यक्षका रूपमा अधिकांश काम कारवाही बाहिरबाट गर्ने र धितोपत्र बोर्डमा त्यसलाई सुनाउने मात्र काम गरिरहेका हमालले आफ्नो चाकडी गर्ने कर्मचारीको सेवा सुविधा वृद्धि गर्ने गरेका छन् ।

आफ्नो गुणगान गाउने कर्मचारीलाई हातमा लिएर हमालले गुणगान नगाउने कर्मचारीको दोहोलो काड्ने गरेका हुन् । बाहिर सेयर बजारको विकास तथा विस्तार गर्ने नारा लगाइरहे पनि हमालको क्रियाकलापले भोलिका दिनमा धितोपत्र बोर्ड जस्तो सेयर बजारको मुख्य नियामक नै कमजोर बन्ने चिन्ता धितोपत्र बोर्डका कर्मचारीहरूमा देखिन्छ ।

सेयर ब्रोकरले लिने कमिसन घटाउने भनेर आम सर्वसाधारणको विश्वास जित्ने प्रत्यास गरेपनि हमाल अहिले पनि सिंगो सेयर बजार नै लथालिङ्ग बनाउने मिसनमा देखिन्छन् । जुन कुराको पुष्टि उनले नेपाल स्टक एक्सचेन्जको अधिकार क्षेत्रमा रहेको ब्रोकरलाई लाइसेन्स दिने कामलाई पनि ऐन संसोधनको नाममा अन्यौलमा पारिदिएबाट हुन्छ ।

एकातर्फ बढी पूँजी बनाएर भएका ब्रोकर सकाउने र अर्कोतर्फ नयाँ स्टक एक्सचेन्ज नआउँदासम्म नयाँ ब्रोकर आउन नदिन नियमावलीलाइ नै पेन्डुलम बनाइदिने रणनीतिमा हमाल देखिन्छन् ।

यसका लागि हमाललाई नेप्सेका वर्तमान कार्यकारी प्रमुख कृष्णबहादुर कार्कीको पनि साथ रहेको छ । 'दुवै जनाको हाकिम अर्थमन्त्री जनार्दन शर्मा र महाहाकिम प्रधानमन्त्रीपत्नी आरजु देउवा हुन् । माथिको आदेश अनुसार काम गर्नलाई एक ठाउँ नआएर सुखै छैन, अति भयो, नेप्सेको अनलाइन सिस्टम पनि धितोपत्र बोर्डतिर लगेर नेप्से नै बन्द गरिदिए हुन्थ्यो,' नेप्सेका एक कर्मचारीले बिजपाटीसँग गुनासो गरे ।

आफ्नो सिधा कनेक्सन बालुवाटारसँग भएकोले आफ्नो काममा असहयोग गर्नेलाई जस्तोसुकै कारवाही गर्न पनि आफू पछाडि नहट्ने धम्की हमालले दिने गरेकाले कर्मचारीहरुमा त्राहिमामको अवस्था देखिएको छ । त्यसो त नयाँ स्टक एक्सचेन्जको तयारीको लागि हमालले हालै मात्र मुम्बईमा गोप्य भेटवार्ता गरेको बिजपाटी लगायत केही सञ्चारमाध्यमले लेखेका थिए । अहिले अर्थमन्त्री जनार्दन शर्मालाई चलाउने गिरोहको संयोजकत्वमा उक्त भेटवार्ता भएको थियो ।

लामो समयदेखि नेपालको नागरिकता त्यागेर थाइल्यान्डमा बस्दै आएका हमाल धितोपत्र बोर्डको अध्यक्ष बन्ने पक्का भएपछि नेपाल फर्किएका थिए । इन्जिनियरिङ पृष्ठभूमिका हमालले एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजी (एआईटी) बाट एमबीए गरेका छन् ।

उनी घरजग्गा कारोबारमा संलग्न थाइल्यान्डको ओमस्टोन एशिया अन्तर्गतको कम्पनी ओमस्टोन एशिया क्यापिटल नेपाल प्रालिका प्रबन्ध निर्देशक हुन् । सुदूरपश्चिम घर भएका हमाल प्रधानमन्त्री शेरबहादुर देउवानिकट मानिन्छन् । प्रधानमन्त्री र अर्थमन्त्री दुवैको गोजीको मान्छे बनेका हमालको नियुक्तिका लागि राजनीतिज्ञ र व्यवसायीबीच बिचौलियाको भूमिका निर्वाह गर्दै आएका विवादास्पद व्यवसायी दीपक भट्टले समेत पहल गरेका थिए ।

हमाललाई धितोपत्र बोर्डको अध्यक्ष बनाउने प्रयोजनकै निम्ति गठित छनोट समितिमा सदस्य मात्रै फेरिएनन्, पहिलो पटकको आवेदन समेत रद्द गरेर दोस्रो पटक आवेदन माग गरिएको थियो । छनोटका लागि सिफारिस कार्यविधि समेत परिवर्तन गरिएको थियो ।

कसलाई नियुक्ति गर्ने भनेर शुरूमै बनाइएको योजना अनुसार प्रतिस्पर्धा देखावटी गरिएको थियो । व्यवसायी बिचौलिया भट्टको सक्रियतामा शंकर समूह सहितका व्यावसायिक घराना नयाँ स्टक एक्सचेन्जको अनुमतिपत्र हत्याउने खेलमा छन् । त्यसका लागि हमाललाई गोटी बनाइएको छ ।

यो पनि: नेपालमा नयाँ स्टक एक्सचेन्ज खोल्न मुम्बईमा 'डिल', चल्तीकै व्यवसायीक घरानालाई दिने तयारी

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved