नेप्सेका कर्मचारी आन्दोलित: संघले भन्यो 'नेप्सेलाई टाट पल्टाउँन खोजियो, अर्को स्टक चाहिँदैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2022 | 05:40:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले अर्को स्टक एक्सचेन्ज ल्याउने तयारी गरेपछि हाल संचालनमा रहिरहेको एक मात्र स्टक एक्सचेन्ज नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कर्मचारी आन्दोलित भएका छन् । नेप्से कर्मचारी संघले विभिन्न ८ विषय उठान गर्दै सरकारकोको कदमको बिरोध गरेका छन् ।

उनीहरुले नयाँ स्टक एक्सचेन्ज आवश्यक नरहेको र नेप्सेलाई नै पुनर्संरचना गर्दै , यसको सुदृढीकरण र आधुनिकीकरण गर्नु पर्ने बताएका छन् । उनीहरुले विश्वका स्टक एक्सचेन्ज मर्जरमा गैरहेको, नेपालको अर्थतन्त्रको आकार सानो रहेको, पुँजीबजार संवेदनशील क्षेत्र रहेको, विकासको निर्धारक पुँजीबजारको संख्या नरहेको, स्टक एक्सचेन्ज व्यावसायिक संस्था नरहेको, धेरै स्टक एक्सचेन्ज खोल्दैमा प्रतिस्पर्धा नहुने, धितोपत्र बोर्डसँग २ वटा स्टक एक्सचेन्ज नियमन गर्ने क्षमता नभएको लगायतका विषय उठान गरेका छन् ।

हेर्नुस् नेप्से कर्मचारी संघको विज्ञप्ति जस्ताको तस्तै : 

१) विश्वभर मर्जरको लहर :

सन् १९८० को दशकदेखि नै संसारभर स्टक एक्सचेञ्जको संख्या घटिरहेको छ । क्यानडामा दर्जनौं स्टक एक्सचेञ्जहरु थिए, अमेरिकामा सयौंको संख्यामा थिए, भारतमै २६ वटा थिए । अहिले धेरैजसो एक आपसमा गाभिएका (Merger) छन्, अस्तित्वमा छैनन् । सारा युरोपलाई अब ४ वटा स्टक एक्सचेञ्जहरुको समूहले धान्ने स्थिति बनेको छ । एउटै कारोबार प्रणाली प्रयोग गर्ने गरी धेरै एक्सचेञ्जहरुले साझेदारी गरेका छन् । नजिकैको छिमेकी पाकिस्तानमा मुलुकलाई तीन-तीन वटा आवश्यक छैन भन्ने निष्कर्षका साथ गाभेर एउटा स्टक एक्सचेञ्ज बनाइएको छ । यो गाभ्ने प्रक्रियाको अग्रसरता त्यहाँको नियामक निकायले नै गरेको थियो । संसारभर स्टक एक्सचेञ्जहरुको मर्जरको लहर चलिरहेको अवस्थामा नेपाल उल्टो गतिमा हिडन् सर्वथा गलत छ । हाम्रोजस्तो सानो अर्थतन्त्र भएको ठाउँमा अर्को स्टक एक्सचेञ्ज खोल्ने कुरा गर्नु र स्टक एक्सचेञ्जमा प्राइभेट कम्पनी समेतलाई लगानी गर्न दिनु अवैज्ञानिक र अव्यावहारिक छ।

२) अर्थतन्त्रको आकार :
हाम्रोजस्तो सानो अर्थतन्त्र भएको देशमा अर्को स्टक एक्सचेञ्ज ल्याउनु वैज्ञानिक र व्यावहारिक छैन । संयुक्त राज्य अमेरिका (USA) को कुल गार्हस्थ्य उत्पादन $20.89 trillion छ, त्यस्तै कमश: चीनको $14.72 Trillion, जापनको $5.06 Trillion, जर्मनीको $3.85 Trillion, बेलातको $2.67 Trillion र भारतको समेत $2.66 Trillion छ । यस समयमा नेपालको गार्हस्थ्य उत्पादन ४८ खर्व ५१ अर्व र ६२ करोड छ । यो भनेको माथिका देशको तुलनामा नेपालको GDP को १००० गुणा कम अर्थात $38.20 Billion मात्र हुन आउछ । माथिका देशहरुमा अमेरिका र भारत मा २ वटा र अन्य सबै देशमा १ वटा मात्र स्टक एक्सचेञ्ज छन । यूरोपमा १ मात्र स्टक एक्सचेञ्जको Model (संरचना) मा अगाडि गइसक्यो । यस्तो परिवेशमा नेपालमा मात्रै उल्टो यात्रा गर्नु जानाजान दुर्घटना पार्नु र पर्नुहो।

३) पुँजीबजार संवेदनशील क्षेत्र 

बैक वित्तीय संस्था, दुरसञ्चार कम्पनी बीमा वा यस्तै कुनै संस्थाको संख्या बढाएर बजारमा प्रतिस्पर्धा हुन्छ । तर संख्या थपेर मूल्यमा प्रतिस्पर्धा ल्याउने भन्ने विषय यो क्षेत्र होइन । जस्तै एउटा कम्पनी दुवै स्टक एक्सचेञ्चमा सूचीकृत हुदाँ त्यसको मूल्य फरक-फरक पर्छ । स्टक एक्सचेञ्चले धितोपत्रको दोस्रो बजार कारोबार स्थान (Platform) उपलब्ध गराउने हो । यो कहाँ छ, कतिवटा छ ? भन्ने सँग सम्बन्ध हुदैन । स्टक एक्सचेञ्जको उद्देश्य लगानीकर्ताले आफूले चाहेको समयमा तुरुन्त शेयर खरिद बिक्री गर्न सक्ने वातावरण निमार्ण गर्नु हो । यसले आफ्ना सेवा सदस्य दलाल (Broker) मार्फत गर्ने गराउने हो । नयाँ स्टक एक्सचेञ्ज ल्याएर वा संख्या मात्र थपेर सेवा छिटो छरितो वा गुणस्तरिय हुन्छ भन्नु भकारी संख्या थप्दा धान बढी फल्छ भन्ने मुर्खता मात्र हो।

४) पूँजी बजार विकासको निर्धारक स्टक एक्सचेञ्जको संख्या होइन् :
संसारभर दुई सय मुलुक छन् तर स्टक एक्सचेञ्ज भनिन लायक संस्थाहरु मस्किलले ११० देखि १२० सम्म छन् । नियमित रुपमा उल्लेख्य परिमाणमा धितोपत्रहरुको कारोबार हुने स्टक एक्सचेञ्जहरुको संख्या ६० देखि ७० छ । यी तथ्यहरुले पनि के बताउँछ भने पूँजी बजार विकासको निर्धारक स्टक एक्सचेञ्जको संख्या होइन् । धेरै स्टक एक्सचेञ्ज हुँदैमा पूँजी बजारको विकास हुन्थ्यो भने अहिले संसारमा लाखौं स्टक एक्सचेञ्जहरु हुन्थे । दुई वटा स्टक एक्सचेञ्जले पूँजी बजारको विकास हुन्छ भन्ने जुन अप्राप्य ज्ञान हामीलाई प्राप्त भएको छ त्यो साँचो भइदिएको भए संसारले पहिल्यै थाहा पाइसकेको हुन्थ्यो।

५) बैंक, बीमा, टेलिकम जस्ता व्यावसायिक संस्था होइन स्टक एक्सचेञ्ज :
स्टक एक्सचेञ्ज सञ्चालन भनेको नाफा उद्देश्य प्रधान भएको विशुद्ध व्यावसायिक गतिविधि हुँदै होइन । स्टक एक्सचेञ्ज विशुद्ध वजार सञ्चालन मात्रै होईन यो नियमनकारी निकाय पनि हो । त्यसैले स्टक एक्सचेञ्जहरुलाई 'फ्रन्टलाइन रेगुलेटर' भनिन्छ । स्टक एक्सचेञ्जहरुले लगानीकर्ताको हक सुनिश्चित गर्ने गरी सूचीकृत कम्पनीहरुको निगरानी गरिरहेका हुन्छन । यिनले ब्रोकरहरुको नियमन, अनुगमन, सुपरिवेक्षण गरेका हुन्छन् । यस्तो नियमनकारी सञ्चालनमा कहीं पनि प्रतिस्पर्धा हुदैन । सञ्चालनमा निहित यही नियमनकारी तत्वकै कारण संसारभर स्टक एक्सचेञ्जहरुमा प्रतिस्पर्धा छैन । बैंक, बिमा, टेलिकम जस्ता व्यावसायिक संस्थासँग जोडेर स्टक एक्सचेञ्ज पनि त्यस्तै हो भन्नु दिउसै अध्याँरो बनाउन खोज्नु मात्रै हो।

६)  धेरै स्टक एक्सचेन्ज खोलौ, झन् धेरै प्रतिस्पर्धा होला 

दुई वटा एक्सचेञ्ज भएपछि प्रतिस्पर्धा हुन्छ र प्रतिस्पर्धाले बजारमा कुशलता ल्याउँछ भन्ने तर्क गरिएको छ । दुई वटा भिन्न धरातलका खेलाडी र प्रतिस्पर्धा अनि मूल्य तोक्ने अर्कोले । यो कुन खालको आर्थिक चेत हो ? वास्तविक प्रतिस्पर्धाका लागि असंख्य बजार सहभागी हुनुपर्छ, मूल्य निर्धारणका लागि केता/बिक्रेता बीच निरन्तर मोलतोल गर्ने वातावरण हुनुपर्छ भन्ने सामान्य आर्थिक नियम हो । बजार सहभागीको संख्या र मूल्य निश्चित गरिसकिएको अवस्थालाई प्रतिस्पर्धा भनिदैन । यसले बजारमा कुशलता ल्याउँदैन । प्रतिस्पर्धा नै गराउन खोजिएको हो भने किन दुई मात्रै ? धेरै एक्सचेञ्जहरु खोलौं, झन धेरै प्रतिस्पर्धा होला।

७) नेप्से : सरकारलाई सुनको अण्डा दिने कुखुरो :

हाल सञ्चालनमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये नेप्से उत्कृष्ट संस्था हो । यो सरकारको बहुमुल्य सम्पत्ति हो । सरकारले गरेको केवल ५०-६० लाख रुपैयाँ पूँजी लगानीलाई नेप्सेले निरन्तरको आम्दानीबाट बढाएर १ अर्व चुक्ता पूँजी पुर्याएको छ । सरकारको लगानीमा उच्चतम प्रतिफल दिने यो अग्रणी संस्था हो । यसले सरकारलाई बर्षेनी ५० देखि १६७ प्रतिशतसम्म नगद लाभांश प्रदान गर्दै आएको छ । नेप्सेको यो वित्तीय अवस्था र प्रगति निजी क्षेत्रलाई समेत ईर्ष्यालाग्दो विषय बनेको छ । विदेशीको पनि साझेदार बन्ने रहर छ ।

८) धितोपत्र बोर्डसँग दुई वटा स्टक एक्सचेञ्ज नियमन गर्ने स्रोत साधन पर्याप्त छ ?
अहिले नेप्सेमा २४० संगठित संस्था सूचीकृत छन् । निरन्तर बैंक तथा वित्तीय संस्था, वीमा कम्पनी, हाइड्रोपावर लगायतका सूचीकृत कम्पनीको मर्जर र एक्विजिसनका कारण यो संख्या घट्दो छ । अनि ९०-१०० वटा सूचीकृत कम्पनी लिएर दुई- दुई वटा स्टक एक्सचेञ्ज चल्नसक्छन् ? एकीकृत हुनुपर्ने पूँजी बजार खण्डीकरणतर्फ जाँदा वित्तीय औजारहरुको मूल्य निर्धारण (प्राइस डिस्कभरी), जोखिम व्यवस्थापन, पुँजी परिचालन, संस्थागत सुशासन जस्ता स्टक एक्सचेञ्ज सञ्चालनका मूल उद्देश्यमा कस्तो असर पर्ला ? एउटै स्टक एक्सचेञ्ज नियमन गर्न हम्मे परेको धितोपत्र बोर्डमा दुई वटा स्टक एक्सचेञ्ज नियमन गर्ने स्रोत साधन पर्याप्त छ ?

अतः नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) लाई टाट पल्टाएर कवाडी सामाग्रीको मूल्यमा विलय गराउने स्वार्थी समूहको उद्देश्य रहेको छ । नियामक निकायका केही वरिष्ठ पात्रहरु धनाढ्य व्यापारिहरुको प्रभावमा परेर नेप्सेको अरवौंको सरकारी सम्पत्तिलाई कौडीको भाउमा सिद्धाउने बाटोमा हिँडेको प्रष्ट देखिन्छ।

अबको बाटो 

१) नेप्सेको पुनर्संरचना 

यसका लागि रणनैतिक विदेशी साझेदार ल्याउनु पर्ने । जसले गर्दा अन्तर्राष्ट्रिय पूँजी, प्रविधि र नविन व्यवस्थापन भित्रिने छ । यसैमा सर्वसाधाराण लगानीकर्ता, सरकार र निजी क्षेत्र (PPP Model) को शेयर स्वामित्व हुने गरी नेप्सेको आधुनिक पुनःसंरचना गर्दै यसैलाई सुदृढीकरण र आधुनिकीकरण गर्नु पर्ने।

२) धितोपत्र सम्बन्धी उपकरणहरुको विविधिकरण गर्ने :
क) डेरिभेटिभ साथै कमोडिटिज मार्केटको विकास गर्ने ।

ख) SME (Small Medium Enterprises) कम्पनीको समेत सूचीकरण गनुपर्ने ।

ग) वैकल्पिक लगानी कोषहरु जस्तैः Private Equity & Venture Capital (PEVC) and Hedge Fund आदीको विकास गर्ने ।

३) गैरआवाशिय नेपाली र विदेशी संस्थागत लगानीकर्तालाइ भित्र्याउने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved