२ दिनमात्र बाँकी रहँदा पनि कमोडिटी लाईसेन्स र नयाँ स्टकको लाईसेन्सको लागि एउटै आवेदन परेन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2022 | 09:45:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले कमोडिटी एक्सचेन्ज र नयाँ स्टक एक्सचेन्जको लाईसेन्सको लागि आवेदन खुलाएकोमा हालसम्म एउटा पनि आवेदन परेको छैन । आवेदन दिन अब २ कार्यदिन मात्र बाँकी रहंदा पनि हालसम्म कुनै पनि आवेदन नपरेको हो ।

बोर्डका प्रवक्ता रुपेश केसीले आइतबार बेलुकासम्म कुनै पनि आवेदन नपरेको बताए । बोर्डले बोर्डले असोज २ गते सूचना जारी गर्दै स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्सको लागि आवेदन माग गरेको थियो । ब्रोकरको लागि आवेदन दिने म्याद सकिएको छ । तर स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्सको लागि कार्तिक १५ गतेसम्म आवेदन दिन सकिने छ । कार्तिक ७ गतेदेखि कार्तिक ११ गतेसम्म तिहारको सार्वजनिक विदा रहेको छ । त्यस्तै कार्तिक १२ गते शनिवारको विदा छ भने कार्तिक १२ गते छठको अवसरमा सार्वजनिक विदा छ । यस हिसाबमा अब आवेदन दिनको लागि २ कार्य दिन मात्र अर्थात् कार्तिक १४ गते र कार्तिक १५ गते मात्र बांकी छ । २ कार्यदिन मात्र बाँकी रहंदा हालसम्म कुनै आवेदन नपरेको हो। बोर्डले एउटा स्टक एक्सचेन्ज र २ वटा कमोडिटी एक्सचेन्जलाई लाइसेन्स दिने सूचनामा जनाएको छ।

उता सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेन्ज , कमोडिटी एक्सचेन्ज, र ब्रोकरको लाइसेन्स वितरणको कार्य तत्काल अगाडी नबढाउन आदेश दिएको आदेशबारे बोर्ड बेखबर रहेको छ। अदालतको आदेशबारे बोर्डमा औपचारिक जानकारी नपुगेको बोर्डले जनाएको छ ।

शुक्रबार सर्वोच्चका न्यायधिश  तिलप्रसाद श्रेष्ठको एकल इजलाशले कारण देखाउ आदेश जारी गर्दै  लाइसेन्स वितरणको कार्य तत्काल अगाडी नबढाउन आदेश दिएको हो। साथै अदालतले निवेदकको माग बमोजिम आन्तरिम आदेश दिने कि नदिने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको छ ।  अधिवक्ता दिपक विक्रम मिश्रले असोज ३१ गते धितोपत्र बोर्डले हालको लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए  । उनले आफ्नो रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई विपक्षी बनाएका थिए ।

धितोपत्र बोर्डले असोज २ गते सूचना जारी गर्दै स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्सको लागि आवेदन माग गरेको थियो । बोर्डले एउटा स्टक एक्सचेन्ज र २ वटा कमोडिटी एक्सचेन्जलाई लाइसेन्स दिने सूचनामा जनाएको थियो । तर कतिवटा ब्रोकरलाई लाइसेन्स दिने भन्नेबारे सूचनामा खुलाएको थिएन । ब्रोकर लाईसेन्सको लागि ४६ कम्पनीले आवेदन दिएका छन्  । 

बोर्डले निजी लगानीको स्टकको लाइसेन्स दिनको लागि धितोपत्र बजार सञ्चालन नियमावली २०६४ मा संशोधन गरेको थियो । जसअनुसार नयाँ  खुल्ने स्टक एक्सचेन्जको पुँजी ३ अर्ब तोकिएको छ भने निजि कम्पनीले भने स्टक एक्सचेन्जको शेयर धारण गर्न सक्ने ब्यबस्था गरिएको छ ।

त्यस्तै बोर्डले नयाँ ब्रोकर लाईसेन्स खुलाउन धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यवसायी) नियमावली २०६४ मा पनि संशोधन गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved