
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ३ महिना (साउन, भदौ र असोज) मा वाणिज्य बैंकहरुको नाफा ६ प्रतिशतमा सिमित भएको छ । उद्योगी व्यवसायीहरुले बैंकहरुले ब्याज बढाएर आफ्नो आम्दानी उल्लेख्य मात्रामा बढाउने मात्रै साचेको भनेर आरोप लगाइरहेको भएपनि समग्रमा बैंकहरुको नाफा जम्मा ५.९३ प्रतिशतले मात्रै बढेको हो ।
वाणिज्य बैंकहरुमध्ये एक दर्जन बैंकहरुको नाफा भने घटेको छ । बजारमा लगानीयोग्य रकम (तरलता)को अभाव कायमै रहेको र कतिपय बैंकहरुको सञ्चालन गर्न खर्च बढ्दा बैंकहरुको नाफा पनि सोही अनुसार सिमित भएको हो ।
गत आर्थिक वर्ष २०७८/०७९ को पहिलो त्रैमासमा कमर्सियल बैंकहरुले कुल १७ अर्ब ७० करोड ५७ लाख ४३ हजार रुपैयाँ नाफा कमाएका थिए । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कमर्सियल बैंकहरुको नाफा ५.९३ प्रतिशतले बढेर १८ अर्ब ७५ करोड ६८ लाख १५ हजार रुपैयाँ पुगेको छ ।
कुन बैंकको नाफा कति ?
आर्थिक वर्षको प्रथम त्रैमाससम्म सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरुको नाफा न्यूनतम् ६ प्रतिशतदेखि अधिकतम् ८५ प्रतिशतसम्म छ । २६ मध्ये १२ बैंकको नाफा घटेको छ भने १४ वटाको मात्रै बढेको छ ।
यो अवधिमा सबैभन्दा धेरै नाफा कुमारी बैंकले आर्जन गरेको छ । कुमारीले गत आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा ८५.०७ प्रतिशतले नाफा बढाएर कुल १ अर्ब १४ लाख ५९ हजार रुपैयाँ नाफा गरेको छ ।
त्यस्तै, सबैभन्दा कम नाफा भने ग्लोबल आइएमई बैंकको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा ग्लोबल आइएमई बैंकको नाफा ६.९७ प्रतिशतले मात्रै बढेको छ । गत वर्षको प्रथम त्रैमासमा १ अर्ब ११ करोड २२ लाख २४ हजार रुपैयाँ नाफा कमाएको ग्लोबल आइएमई बैंकले चालु वर्षको सोही अवधिमा ६.९७ प्रतिशत नाफा बढाएर १ अर्ब १८ करोड ९५ लाख ४५ हजार पुर्याएको छ ।
नगदका आधारमा बढी नाफा कमाउने बैंक एनआईसी एशिया बैंक हो । एनआईसी एशियाले ३ महिनामा गत वर्षको यो अवधिको तुलनामा ४८.९७ प्रतिशतले नाफा बढाएर १ अर्ब ७५ करोड ६७ लाख ७९ हजार नाफा आर्जन गरेको छ ।
दोस्रो स्थानमा रहेको नबिल बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ४१.२९ प्रतिशतले नाफा बढाएर चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ अर्ब ५७ करोड १५ लाख ३७ हजार रुपैयाँ मुनाफा कमाएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले चालु वर्षको पहिलो ३ महिनामा १ अर्ब १४ करोड ५ लाख ९७ हजार रुपैयाँ नाफा आर्जन गर्दा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २४ करोड ६६ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको छ ।
एभेरेष्ट बैंकले ८६ करोड २२ लाख ३७ हजार, हिमालयन बैंकले ५३ करोड २४ लाख ७५ हजार, स्ट्याण्डर्ड चार्टड बैंकले ८१ करोड १३ लाख ९७ हजार, नेपाल एसबीआई बैंकले ६२ करोड ७३ लाख ५७ हजार, प्रभु बैंकले ७० करोड ५० लाख र सेन्चुरी कमर्सियल बैंकले ३१ करोड ८५ लाख १५ हजार रुपैयाँ नाफा कमाएका छन् ।
त्यस्तै, सिभिल बैंकले ४१ करोड ५० लाख ९१ हजार र बैंक अफ काठमाण्डूले २८ करोड ६ लाख १५ हजार नाफा आर्जन गरेको छ ।
यी हुन् नाफा घटेका बैंक
गत आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासको तुलनामा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ३ महिनामा १ दर्जन वाणिज्य बैंकको नाफा घटेको छ ।
एनसीसी बैंकको नाफा ०.२३ प्रतिशतले घटेर ५१ करोड ६८ लाख ३६ हजार रुपैयाँमा झरेको छ । सानिमा बैंकको नाफामा पनि ३.४५ प्रतिशतले गिरावट आउँदै ५४ करोड ८२ लाख २० हजारमा सिमित भएको छ ।
प्राइम बैंकको नाफा १०.६१ प्रतिशतले घटेर ८७ करोड ४१ लाख ७० हजार, मेगा बैंकको नाफा ४४.३३ प्रतिशतले घटेर ५० करोड ९१ लाख ६९ हजारमा सिमित भएको छ ।
सिटिजन्स बैंकले चालु आर्थिक वर्षको ३ महिनामा ५० करोड १२ लाख १५ हजार नाफा कमाएको छ । यो नाफा गत वर्षको यो अवधिको तुलनामा २७.०८ प्रतिशतले कम हो ।
माछापुच्छ्रे बैंकले प्रथम त्रैमासमा ४५ करोड ११ लाख ८३ हजार नाफा कमाएको छ । यो बैंकको नाफामा पनि गत वर्षको तुलनामा १९.६५ प्रतिशतले कमी आएको हो ।
सनराइज बैंकले पनि गत आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा ६१.४९ प्रतिशतले नाफा घटाउँदै १६ करोड ५८ लाख २७ हजार मात्रै कमाएको छ ।
एनएमबि बैंकको नाफा १३.४५ प्रतिशतले घटेर ९० करोड ४१ लाख ३४ हजार, लक्ष्मी बैंकको नाफा ८.९३ प्रतिशतले घटेर ५० करोड ३४ लाख ७२ हजार र सिद्धार्थ बैंकको नाफा ४७.४८ प्रतिशतले घटेर ४९ करोड ८२ लाख ५० हजारमा सिमित भएको छ ।
सरकारी स्वामित्वका नेपाल बैंकको नाफा १९.६५ प्रतिशतले घटेर ६० करोड ४० लाख ९८ हजारमा सिमित हुँदा कृषि विकास बैंकको नाफा पनि ५४.४७ प्रतिशतले घटेर २२ करोड ९ लाख ५३ हजारमा खुम्चिएको छ ।