धितोपत्र बोर्डद्वारा ब्रोकर र स्टक एक्सचेन्ज लाईसेन्स दिने प्रक्रिया स्थगित, आज आवेदन नलिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2022 | 11:35:48 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले कमोडिटी एक्सचेन्जको लाईसेन्स, नयाँ स्टक एक्सचेन्जको लाईसेन्स र ब्रोकर लाईसेन्स समबन्धि सम्पूर्ण प्रक्रिया स्थगित गरेको छ । सर्वोच्च अदालतको आदेश अनुसार बोर्डले सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्ने निर्णय गारेको हो ।

बोर्डका प्रवक्ता रुपेश केसीले सर्वोच्च अदालतको आदेश बोर्डमा प्राप्त भएको र आदेश आएपछि बोर्डले गरेको कानुनी परामर्शको आधारमा प्रक्रिया यथास्थितिमा राख्ने निर्णय भएको बताए । उनका अनुसार अब सर्वोच्चबाट अर्को आदेश नआएसम्म स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्सको लागि बोर्डले  आवेदन लिने छैन । 

स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्सको लागि आवेदन दिने आज कार्तिक १५ गते अन्तिम दिन थियो  । कार्तिक १४ गतेसम्म कुनै आवेदन नपरेकोले आज कार्तिक १५ गते अन्तिम दिनमा आवेदन पर्ने आँकलन गरिएको थियो  । तर अब बोर्डले आवेदन नलिने र अदालतको आदेश अनुसार नै सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्ने निर्णय गरेको हो  । 

अधिवक्ता दिपक विक्रम मिश्रले असोज ३१ गते धितोपत्र बोर्डले हालको लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए  । उनले आफ्नो रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई विपक्षी बनाएका थिए । कार्तिक ४ गते शुक्रबार सर्वोच्चका न्यायधिश  तिलप्रसाद श्रेष्ठको एकल इजलाशले कारण देखाउ आदेश जारी गर्दै  लाइसेन्स वितरणको कार्य तत्काल अगाडी नबढाउन आदेश दिएको थियो। साथै अदालतले निवेदकको माग बमोजिम आन्तरिम आदेश दिने कि नदिने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको छ । यस सँगै अब अर्को आदेश नहुँदासम्म प्रक्रिया स्थगित भएको छ   । 

 धितोपत्र बोर्डले असोज २ गते सूचना जारी गर्दै स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्सको लागि आवेदन माग गरेको थियो । बोर्डले एउटा स्टक एक्सचेन्ज र २ वटा कमोडिटी एक्सचेन्जलाई लाइसेन्स दिने सूचनामा जनाएको थियो । तर कतिवटा ब्रोकरलाई लाइसेन्स दिने भन्नेबारे सूचनामा खुलाएको थिएन । ब्रोकर लाईसेन्सको लागि ४६ कम्पनीले आवेदन दिएका छन्  । 

बोर्डले निजी लगानीको स्टकको लाइसेन्स दिनको लागि धितोपत्र बजार सञ्चालन नियमावली २०६४ मा संशोधन गरेको थियो । जसअनुसार नयाँ  खुल्ने स्टक एक्सचेन्जको पुँजी ३ अर्ब तोकिएको छ भने निजि कम्पनीले भने स्टक एक्सचेन्जको शेयर धारण गर्न सक्ने ब्यबस्था गरिएको छ ।

त्यस्तै बोर्डले नयाँ ब्रोकर लाईसेन्स खुलाउन धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यवसायी) नियमावली २०६४ मा पनि संशोधन गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved