वैदेशिक रोजगारीमा गएका नेपालीलाई छुट्याईएको आईपिओमा कसरी दिने आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2022 | 11:21:02 AM मा प्रकाशित

laxmi  sunrise bank

संगठित संस्थाले शेयरको प्रारम्भिक निष्काशन गर्दा अर्थात् आईपिओ निष्काशन गर्दा निष्काशित शेयरको १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा गएका नेपालीलाई छुट्याउने पर्ने ब्यबस्था गरिएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड (छैठौं संशोधन) निर्देशिका, २०७९ ले वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपिओमा आरक्षण दिने ब्यबस्था गरेको हो।

वैदेशिक रोजगारीमा गएका नेपालीलाई छुट्याईएको आईपिओमा मेरोशेयरबाट आवेदन दिनु पर्छ । तर आवेदन दिनको लागि योग्य हुनको लागि नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशीक रोजगारीमा गएको हुनु पर्छ । श्रम स्वीकृति नलिएकाहरुले यसमा आवेदन दिन पाउने छैनन् । त्यस्तै आफ्नो नाममा नेपालका कुनै पनि बैंक तथा वित्तीय संस्थामा विप्रेषण (रेमिटेन्स ) बचत खाता खोलेको हुनु पर्छ । पछिल्लो ६ महिनामा कम्तिमा ५० हजार रुपैयाँ आफु कार्यरत रहेको मुलुकबाट यस खातामा जम्मा गरेको हुनु पर्ने छ । साथै मेरोशेयर खाता, डिम्याट खोलेको हुनु पर्ने छ । र विप्रेषण (रेमिटेन्स ) बचत खाता खोलेको बैंक तथा वित्तीय संस्थाबाट सी आश्वा रजिष्ट्रेसन नम्बर अर्थात् सीआरन नम्बर लिएको हुनु पर्ने छ।

यति गरि सकेपछि मेरोशेयरमा रहेको 'अप्लाई फर इस्यु' मा गएर वैदेशिक रोजगारीमा गएकाहरुलाई आरक्षण गरिएको शेयरमा आवेदन दिन सकिने छ। माथिका सबै प्रक्रिया पुरा गरेको छ मेरोशेयरले आईपिओ भर्न दिनेछ । यदि सबै प्रक्रिया पुरा गरेको छैन भने रेमिटेन्स बचत खाता भएकाले मात्र यस आईपिओमा आवेदन दिन सक्ने छन् भन्ने संदेश दिन्छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याईएको शेयर 'RESERVED ( FOREIGN EMPLOYMENT)' भनेर मेरोशेयरमा देखिने छ ।

यदि कोहि श्रम स्वीकृति लिएर विदेशमा गएको तर उसले यस अघि सामान्य बचत खाता प्रयोग गरेर आईपिओ भर्ने गरेको भए आरक्षित शेयरको लागि आवेदन दिनको लागि विप्रेषण (रेमिटेन्स ) बचत खाता खोल्नै पर्छ। साथै सो खाताको सीआरएन नम्बर पनि लिनु पर्छ ।

डिम्याट खाता खोल्ने, विप्रेषण बचत खाता खोल्ने, मेरोशेयर खाता खोल्ने, सीआरएन नम्बर लिने सबै सेवा अनलाइन मार्फत नै लिन सकिन्छ । हाल विभिन्न मर्चेन्ट बैंकर्सहरुले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित् गरेर डिम्याट र मेरोशेयर खाता खोल्ने स्किम नै ल्याएका छन् ।

आईपिओ बाँडफाँड हुँदा आईपिओ परेको खण्डमा आईपिओ पर्नेहरुले कम्पनीले सर्बसाधारणलाई शेयर जारी गर्दाको बखतमा आईपिओ भर्न पाउने छैनन् । यदि आईपिओ परेको छैन भने उनीहरुले सर्वसाधारणलाई आईपिओ निष्काशन हुँदाको बखतमा फेरी आवेदन दिन सक्ने छन् । सर्बसाधारणलाई निष्काशन भएको आईपिओमा आवेदन दिंदा जुनसुकै बैंक खाता प्रयोग गरेर आवेदन दिन सकिने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved