फागुन २२ गते सोमबार रामेछापका बसन्त थापाले आफ्नो नाममा रहेको एनआइसी एसिया क्यापिटलले सञ्चालन गरेको ‘डायनामक डेट फण्ड’ नामक खुलामुखी सामुहिक लगानी कोष (ओपन म्युचुअल फण्ड) योजनाको इकाइ बिक्री गर्न खोजे ।
उनी यी इकाइ पनि अन्य शेयर जस्तै पूर्णरुपमा अनलाइनबाट नै बिक्री गरी अनलाइनबाट नै राफसाफ हुने अपेक्षामा थिए । तर उनको चाहना पुरा हुने अबस्था रहेन । किनकी एनआइसी एसियाको मात्र होइन नेपाली बजारमा रहेका कुनै पनि खुलामुखी सामुहिक लगानी कोष योजनाका इकाइहरु अनलाइनमार्फत बिक्री तथा राफसाफ हुँदैन ।
इकाइ बिक्रीका लागि बिक्री गर्ने आदेश फारमका साथै इकाइ बिक्रीपश्चात इकाई ट्रान्सफर गर्न डेबिट इन्स्ट्रक्सन स्लिप (डिआईएस) पनि सँगै भरेर दिनुपर्छ ।योजना व्यवस्थापकहरु इकाइ बिक्री आदेश अनलाइन माध्यमबाट लिए पनि डिआईएस भने आफ्नो कार्यालय मै ल्याइदिन आग्रह गर्छन् । अझ आफ्नो डिम्याट खाता योजना व्यवस्थापकको भन्दा अन्य कुनै डिपोजिटरी पार्टीसिपेन्ट (डिपी)मा खोलेको छ भने डिम्याट खाता खोलेको डिपीको कार्यालयमा गएर डिआईएस लिएर आउनु पर्ने अर्को झन्झट छ ।
खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाइ खरिद अनलाइनबाट सहजै भए पनि बिक्री गर्न भने लगानीकर्ताले झन्झटिलो प्रक्रिया बेहोर्नु परिरहेको छ । शेयरबजार पूर्ण रुपमा प्रविधि मैत्री हुँदा खुलामुखी योजनाको इकाई बिक्री भने कागजी प्रक्रियाबाट माथि उठ्न सकेको छैन । यद्यपि बिक्रीपछि लगानीकर्ताको खातामा बिक्री गरेको पैसा भने अनलाइन मार्फत नै आउने व्यवस्था छ ।
नेपालमा खुलामुखी सामुहिक लगानी कोष योजनाको सुरुवात गरेको एनआइबिएल एस क्यापिटलका खुलामुखी सामुहिक लगानी कोषका स्किम म्यानेजर पोस्कर बस्नेत खुलामुखी योजनाको इकाइ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत नहुँदा केहि कठिनाइ रहेको स्वीकार्छन् ।
उनका अनुसार खुलामुखी सामुहिक लगानी कोषको इकाइ नेप्सेमा सूचिकृत हुँदैन तर सिडीएससीमा भने सूचिकृत गरेर मेरो शेयरमार्फत आफ्नो डिम्याट खातामा भएको इकाइको विवरण भने हेर्न सकिने व्यवस्था गरिएको छ ।
नेप्सेमा सुचिकृत भएका शेयर, ऋणपत्र वा सामुहिक लगानी कोष योजनाका इकाइ बिक्री भएपछि अटोमेटिक ट्रेड आइडी बन्छ । ट्रेड आइडी बन्ने भएपछि नेप्से र मेरोशेयरको प्रणाली जोडिने भएकाले कारोबार गरिएका शेयरहरु मेरोशेयर मार्फत सहजै ट्रान्सफर गर्न सम्भव भएको उनी बताउँछन् ।
खुलामुखी इकाइहरु नेप्सेमा सुचिकृत नहुने हुँदा बिक्रीपछि ट्रेड आइडी बन्न सम्भव छैन । सोही कारण मेरोशेयर मार्फत ट्रान्सफर हुन सकेको छैन । खुलामुखी योजनाका फण्ड व्यवस्थापकले आ–आफ्नै प्रणालीमार्फत राफसाफ गर्ने गरेका छन् । मेरोशेयर र खुलामुखी योजनाका फण्ड व्यवस्थापकले प्रयोग गर्ने प्लेटफर्म लिङ्क नहुँदा मेरोशेयर मार्फत ट्रान्सफर गर्न नसकिएको बस्नेत सुनाउँछन् ।
मेरोशेयर मार्फत नै खुलामुखी योजनाको इकाइ पनि ट्रान्सफर गर्न सकिने प्रणाली विकास गर्न फण्ड व्यवस्थापकले आग्रह गरिरहे पनि अहिलेसम्म बन्न सकेको छैन । फण्ड व्यवस्थापकको प्रणाली र मेरोशेयरको प्रणाली लिङ्क गर्न सके मेरोशेयर मार्फत इकाई ट्रान्सफर गर्न सकिने उनी बताउँछन् ।
सिडीएससी पनि त्यस्तो प्रणाली विकास गर्न सकिने स्वीकार गर्छ तर त्यसका लागि सबै योजना व्यवस्थापकले एकै प्रणाली प्रयोग गर्नुपर्ने सिडीएसका प्रवक्ता सुरेश न्यौपाने बताउँछन् । न्यौपानेका अनुसार अहिले कारोबार हुने सबै शेयरहरु नेप्सेको प्रणालीमार्फत मात्र हुने हुँदा नेप्सेमा भएको कारोबारको विवरणको आधारमा शेयर ट्रान्सफरको लागि दायित्व सिर्जना हुन्छ, जुन मेरोशेयर मार्फत पुरा गर्न सकिन्छ । तर खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाइ बिक्रीको विवरण भने फण्ड व्यवस्थापकसँग मात्र हुन्छ ।
धेरै वटा फण्ड व्यवस्थापक हुने हुँदा उनीहरुको छुट्टाछुट्टै आ–आफ्नो विवरण हुन्छ । उनीहरुले आफूले नै आ–आफ्नो विवरण अनुसार आफैँ राफसाफ गर्ने गरेका छन् । फण्ड व्यवस्थापक आफैँले डिआईएस दिने प्रक्रियालाई डिजिटल माध्यमबाट गर्न सक्ने प्रवक्ता न्यौपाने बताउँछन् ।
इकाइ बिक्री प्रक्रियालाई अनलाइन बनाउनको लागि सिडीएसले काम गरेन भन्न नमिल्ने न्यौपानेको भनाइ छ । उनी भन्छन्, ‘हामीले सहजीकरण गरिरहेका छौ, एउटा फण्ड व्यवस्थापकले भनेर हुँदैन, हामीले सबै व्यवस्थापकलाई समान रुपमा सेवा दिने हो, मेरोशेयर प्रयोग गरेर कसरी यो प्रक्रियालाई पूर्ण अनलाइन बनाउन सकिन्छ भनेर हामीले बारम्बार सामुहिक रुपमा आउनुस् भनेर आग्रह गरिरहेका छौ ।’
यदि सबै फण्ड व्यवस्थापक मिलेर एउटा साझा प्लेटफर्म प्रयोग गरेमा र सामुहिक रुपमा एकै प्रणाली प्रयोग गरेमा त्यसप्रणालीलाई मेरोशेयरको प्रणालीसँग कनेक्ट गराएर सहजै मेरोशेयर मार्फत इकाइ ट्रान्सफर गर्ने व्यवस्था गर्न सकिने प्रवक्ता न्यौपाने बताउँछन् ।
अन्य विकल्पको लागि पनि सिडीएसले सहजीकरण गरिरहेको उनको भनाइ छ तर त्यसका लागि थप छलफल गरेर निर्णयमा पुग्नु पर्ने उनी बताउँछन् ।
बिक्री गर्ने कम हुँदा उदासिन
नेपालमा खुलामुखी सामुहिक लगानी कोष योजना सञ्चालन भएको धेरै भएको छैन । त्यसमाथि पनि लगानीकर्ताहरुले खुलामुखी फण्डको इकाइ दीर्घकालको भनेर खरिद गर्ने गरेका छन् । फण्ड व्यवस्थापकले ल्याएको व्यवस्थित लगानी योजना (एसआइपी) अन्तर्गत लगानीकर्ताले प्राय १० वर्ष वा सो भन्दा पनि बढी अवधिको लागि भनेर इकाइ खरिद गर्ने गरेका छन् ।
यसकारण हालको अवस्थामा इकाइ बिक्री गर्ने लगानीकर्ता न्यून मात्रै छन् । एनआइबिएल एस क्यापिटलका खुलामुखी सामुहिक लगानी कोषका स्किम म्यानेजर पोस्कर बस्नेत पनि अहिले इकाइ बिक्री गर्ने लगानीकर्ता दिनको २–३ जना मात्र रहेको बताउँछन् ।
इकाइ बिक्री गर्ने लगानीकर्ता नै न्यून रहेको र यसले धेरैलाई असर नगर्ने भएकोले बिक्री प्रक्रियालाई सहज बनाउन सिडीएस तथा स्वयम् फण्ड व्यवस्थापकले पनि खासै चासो नदिएको देखिन्छ ।
सोही कारण नेप्सेमार्फत हुने सम्पूर्ण कारोबारहरु पूर्णतः अनलाइन भइसक्दा पनि खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाइ बिक्री गर्दा भने अझै कागज बोकेर दौडिनु पर्ने बाध्यता लगानीकर्ताको छ ।
बढ्दै फण्ड व्यवस्थापक
हाल नेपालमा खुलामुखी सामुहिक लगानी कोष योजना सञ्चालन गर्ने फण्ड व्यवस्थापकको सङ्ख्या ७ पुगिसकेको छ ।
२०७६ जेठ १९ गते एनआइबिएल एस क्यापिटलले ‘एनआइबिएल सहभागिता फण्ड’ नामक इकाइ निष्काशन गर्दै नेपालमा खुलामुखी सामुहिक लगानी कोष योजना सुरु गरेको हो । हाल एनआइबिएल कै योजनाको आकार सबैभन्दा ठूलो अर्थात् २ अर्ब बढीको रहेको छ ।
हाल एनआइबिएल एस क्यापिटलबाहेक सिद्धार्थ क्यापिटल, एनआइसी एसिया क्यापिटल , एनएमबि क्यापिटल , लक्ष्मी क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङले खुलामुखी योजना सञ्चालन गरिरहेका छन् । कुमारी क्यापिटलले यही चैत्र ९ गतेबाट आफ्नो योजनाको इकाइ निष्काशन गर्दैछ ।
कुमारीले सञ्चालन गर्ने कुमारी सुनौलो योजना बजारमा आउने सातौँ खुलामुखी योजना हुनेछ । प्रभु क्यापिटलले पनि धितोपत्र बोर्डमा खुलामुखी योजना निष्काशनको लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ । अनुमति पाएपछि प्रभुको खुलामुखी फण्ड आठौँ हुनेछ ।