सेयरबजारमा थपिए ७ ब्रोकर, लगानीकर्ताका नेता फुल्लेल भन्छन्-'साहसिक र ऐतिहासिक निर्णय'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2023 | 07:29:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्ड ललितपुरको कार्यलयमा बोर्ड अध्यक्ष रमेश हमालले सात कम्पनीलाई ब्रोकर लाइसेन्सको प्रमाणपत्र थमाएसँगै नेपालको सेयर बजारमा ब्रोकरको संख्यामा कायम सिन्डिकेट तोडिएको छ। यससँगै यस कार्यले ब्रोकरको लाइसेन्स लिएर सेयर लगानीकर्तालाई सेवा दिन चाहनेहरुमा उत्साह थपिएको छ। 

धितोपत्र बोर्डले अहिले सातवटा कम्पनीलाई सिमित कारोबार अर्थात सेयर लगानीकर्ताको खरिद तथा विक्री आदेशको पालना गरि सेयर खरिद र विक्री मात्र गर्न पाउनेगरि लाइसेन्स वितरण गरेको हो। 

यसरी लाइसेन्स प्राप्त गर्नेमा भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालय ब्रोकरेज लिमिटेड, सन सेन्युरिटिज प्रा.लि., मियो सेक्युरिटिज प्रा.लि., शेयरप्रो सेक्युरिटिज प्रा.ली. प्रोपर्टी विजार्ड लिमिटेड रहेका छन् । 

एलओआई पाएका कम्पनीहरुको पनि अध्ययन भईरहेकाले केहि दिनमा थप कम्पनीले ब्रोकर लाइसेन्स प्राप्त गर्ने धितोपत्र बोर्डले जनाएको छ। 

त्यस्तै नेपाल धितोपत्र बोर्डबाट पूर्ण कारोबार, स्टक डिलरको कारोबारको एलओआई पाएका कम्पनीहरुबारे पनि अध्ययन भईरहेकाले अध्यन पश्चात उनीहरुलाई लाइसेन्स वितरण हुने बोर्डले जनाएको छ। सेयरको दोस्रो बजारमा सुचिकृत कम्पनी र सेयर लगानीकर्ताको संख्या बढेपनि वर्षौंदेखि सेयर लगानीकर्तालाई सेवा दिने ब्रोकर कम्पनीमा भने सिन्डिकेट कायम रहँदै आएको थियो।

सात कम्पनीले लाइसेन्स पाएसँगै थप कम्पनीलाई प्रकृया पुर्याएर ब्रोकर सेवा दिने बाटो खुलेकोले यसले सेयर बजारमा 'शाहसिक र ऐतिहासिक निर्णय' भएको सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेलको भनाई छ। 

सेयर बजारमा अनलाइन कारोबारको सुरुवात भएसँगै डिम्याट होल्डरको संख्या ३ लाखबाट बढेर ५६ लाख ७६ हजार पुगेको छ भने मेरो सेयर भर्नेको संख्या ४७ लाख पुगेको छ। त्यस्तै  २०६८ सालमा सेयर कारोबार गर्नेको संख्या २५ हजार रहेकोमा अहिले झन्डै २० लाख आसपास पुगेको छ। यसले सेयर बजारको विस्तारको रफ्तार देखाउंछ। यद्दपि सेयर बजारको विस्तार तिब्र रुपमा हुँदा र सेयर बजारमा लगानीकर्ताको संख्या बढ्दा पनि वर्षौदेखि ५० ब्रोकरको मात्र 'सिन्डिकेट' कायम थियो। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved