बैंक वा वित्तीय संस्थाले सीआस्वा सदस्यता नवीकरण नगर्दा आईपिओ भर्ने लगानीकर्ता मारमा परेका छन्। नयाँ आर्थिक वर्ष सुरु हुनुभन्दा एक महिना अगाडी नै नेपाल धितोपत्र बोर्डमा सदस्यता नवीकरण गर्नु पर्नेमा आधाले मात्र नवीकरण गरेका हुन् ।
धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका २०७७ मा सार्वजनिक निष्कासन भएको धितोपत्र खरिदको लागि दरखास्त संकलन गर्न धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका बैंक वा वित्तीय संस्थाको अनुमति अवधि एक आर्थिक वर्षको लागि मात्र हुने उल्लेख छ । त्यस्तो अनुमति प्रत्येक वर्ष नवीकरण गराउनु पर्ने र बैक तथा वित्तीय संस्थाले अनुमतिको बहाल अवधि समाप्त हुनु भन्दा कम्तीमा एक महिना अगावै नवीकरणको लागि बोर्ड समक्ष निवेदन दिनु पर्ने उल्लेख छ ।
तर बोर्डका अनुसार २४ वटा बैंक तथा वित्तीय संस्थाले मात्र आर्थिक वर्ष २०८०/८१ को लागि २०८० साउन १ अगाडी नै नवीकरण गराएका छन् । आज साउन १ गते थप १३ बैंक तथा वित्तीय संस्थाले नवीकरण गराएका छन् । यस संगै नवीकरण गराउने बैंक तथा वित्तीय संस्थाको संख्या ३७ पुगेको छ । सीआश्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाको संख्या कुल ५६ रहेकोमा अझै १९ बैंक तथा वित्तीय संस्थाले सदस्यता नवीकरण गर्न बाँकी छ । यद्यपि मर्जर तथा प्राप्तिका कारण यो संख्या केही घट्ने छन् ।
निर्देशिकाले २५ हजार रुपैयाँ तिरेर सदस्यता नवीकरण गर्न सकिने व्यवस्था गरेको छ । तर बैंकहरुले २५ हजार तिरेर सदस्यता नवीकरण नगर्दा आईपिओ भर्ने लगानीकर्ता भने मारमा परेका छन् । नेपाल धितोपत्र बोर्डमा आफ्नो अनुमति नवीकरण नगराएका बैंक तथा वित्तीय संस्थालाई धितोपत्र सार्वजनिक निष्कासन मा खरिद आवेदन सम्बन्धी कार्य गर्न रोक लगाइएको छ। यसरी रोक लगाइएका बैंक तथा वित्तीय संस्थामार्फत CRN नम्बर लिएका लगानीकर्ताले मेरो शेयर मार्फत सार्वजनिक निष्कासन भएका धितपत्रको खरिद आवेदन दिन समेत मिल्दैन । मेरो शेयर प्रयोगकर्ताले My ASBA पेजमा क्लिक गर्दा CRN Not Registered भनेर देखाएको छ भने CRN Number लिएको बैंकले आफ्नो अनुमति नविकरण गर्नुपर्ने मा सो कार्य नगरेको कारणले भएको हो। यसरी बैंकले समयमा नवीकरण नगर्दा लगानीकर्ताले दुख पाईरहेका छन् । हाल वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि विभिन्न ६ वटा कम्पनीको आईपिओ खुला छ । त्यस्तै एक कम्पनीको हकप्रद पनि खुला रहेको छ । केही बैंकले समयमा सदस्यता नवीकरण नगर्दा यी लगानीकर्ताले आईपिओ तथा हकप्रद भर्नमा सास्ती बेहोरेका हुन् ।
सिडीएसका अनुसार बैंकले आफ्नो अनुमति नविकरण गरेपछी मेरो शेयर प्रयोगकर्ताको My ASBA पेजमा आएको समस्या समाधान हुन्छ।सिडीएसले अनुमति नवीकरण नगराउने आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई तत्काल आफ्नो सदस्यता नवीकरण गराइ सेवा सुचारु गर्ने व्यवस्था मिलाउन पनि अनुरोध गरेको छ।